शरद ऋतु लागेको पनि एक हप्ता बितिसक्यो । वर्षा ऋतुको समाप्ति लगतै शरद ऋतु घर-आँगनमा टुप्लुक्क आइपुग्छ । शारदीय यामसँगै नदीहरु सफा, कन्चन र निला देखिन थाल्छन । खेतका गरामा धानका बाला तँछाडमछाड गर्दै
तरेली पर्दै बयली खेल्न थालेका छन् । सामवेदमा ‘वसन्त इन्नु
रन्त्यो ग्रीष्म इन्नु रन्त्य: । वर्षाण्यनु शरदो हेमत: शिशिर इन्नु
रन्त्य ।।’ अर्थात वसन्त ऋतु अत्यन्त मनमोहक हुन्छ
र त्यसपछिका गृष्म वर्षा ऋतु पछि आउने शरद पनि आनन्ददायक हुन्छ भनिएको छ । यहि शरदको आनन्ददायक याममा सधैं आउने दशैँ पर्वको शुरुवात भएको
छ । मालश्री धुनको मिठास गुन्जिन थाल्दा मनलाई आनन्दित बनाएको छ । ‘कविशिरोमणि लेखनाथ पौडेलले ‘हट्यो सारा हिलो मैला हरायो पानीको वर्षा’ भन्दै दशैँ र शारदीययामको महिमा गाएका
छन् । राष्ट्रकवि माधव घिमिरेले ‘आई कैल्यै पनि नसकिने चैत वैशाख मेरा’ भने झैँ शरद, दशैँ, खेतका गरामा तरेली पर्दै धानका बालाले
बयेली खेल्ने क्रम आई कहिल्यै सकिन्न ।
तीन कारण
दशैँ पर्व मनाउने समयलाई हेर्दा मूलतः
तीन मुख्य कारणलाई आधार मान्न सकिन्छ । पहिलो, आफूलाई आश्रय दिने गृहको सरसफाइ र मर्मत
सम्भार गर्नु दोस्रो, गृष्म र वर्षा ऋतुमा खेतीपाती गर्दा
शारीरिक शक्तिको क्षय हुने हुँदा गुमेको शक्तिको पुनर्प्राप्ति गराउन मिठो पोषिलो र
तागतयुक्त खानेकुरा खान/खुवाउने प्रवन्ध मिलाउनको लागि दशैँ पर्वको शुरुवात गरिएको
हुनुपर्छ । महाभारतमा ‘अर्थस्य पुरुषो दास:’ भनिएको छ । मानव धनको दास भएकोले हमेशा कमाउन मात्र
लाग्दा विश्राम समेत नलिने र निरन्तर कार्यमा मात्र लागिरहँदा शारीरिक कमजोरी हुने
हुँदा पर्वको माध्यमबाट शरीरमा उर्जा पुनर्संचय गर्न बेलाबेलामा कुनै न कुनै पर्व
मनाउने परिपाटी थालनी गरिएको हुनुपर्छ । तेस्रो, विभिन्न कारणले टाढा रहन वा पुग्न वाध्य
भएका परिवारका सदस्य भेला भएर मिठा पोषिला परिकार खाएर खुशी, आनन्द, मनोरञ्जन सहित सम्बन्धलाई नवीकरण गरिनु
पनि एक प्रमुख अवसर हो ।
भगवती र देवी
यजुर्वेदमा ‘न तस्य प्रतिमा अस्ति यस्य नाम महद्यश: ।’ अर्थात ईश्वरको रुप आकार छैन भनिएको छ । इश्वर निराकार नश्वर भएपनि शक्तिले भरिपूर्ण छन् । ईश्वरको शक्तिलाई भगवती भनिएको छ । नवदुर्गा वा भगवती शक्तिका नाम हुन् । यी शक्तिहरुलाई भगवतीको रुपमा मानिएको छ । दशैँमा पूजा गरिने ९ वटी भगवतीलाई नौथरी शक्तिको उपासनाको
रुपमा हेर्न सकिन्छ । शैलपुत्री-सम्भावना, ब्रम्हचारिणी–चुम्बकीय, चन्द्रघण्टा–ध्वनी, कुष्मान्डा–रासायनिक, स्कन्दमाता-आकर्षण, कात्यायनी-ब्रम्हान्ड केन्द्र, कालरात्रि-उर्जा, महागौरी-प्रकाशसिध्दीदात्री-विददुतिय
शक्तिका रुप हुन ।
देवी को हुन् भन्ने सन्दर्भमा ऋगवेदमा ‘इला सरस्वती मही तिस्रो
देविर्मयोभुवः । बर्हि: सिदन्त्वस्रीध: ।। भनिएको छ । इला (मातृभाषा), सरस्वती (मातृ सभ्यता र संस्कृति) र मही (मातृभूमि) लाई देवी
भनिएको छ । यी तिनै देवीलाई आदर र सम्मानपूर्वक आफ्नो अन्तस्करणमा
विराजमान गराउनु पर्छ भनिएको छ । दशैँ वा कुनै पनि पर्व सांस्कृतिक
पक्षलाई प्रतिविम्बित गर्ने पर्व भएकोले यसको महत्व सांस्कृतिक छ । त्यसैले यजुर्वेदमा ‘सा प्रथमा संस्कृतिर्वीश्ववारा’ भनिएको छ ।
सामाजिक पक्षको रुपमा
अथर्ववेदमा ‘अन्यो अन्यमभिर्यत’ अर्थात एक अर्कासंग प्रेम
बढोस भनिएको छ । पर्व यस्तै प्रेम बढाउने अवसर पनि हो । पर्व जुनसुकै होस् सामाजिक चरित्रको हुन्छ । नेपालमा बसोबास गर्ने जुनसुकै क्षेत्र जात वा धर्मावलम्बीले
मनाउने पर्व सामाजिक सद्भावका प्रतीक हुन् । जुनसुकै पर्वमा उपस्थित भएर आत्मियता
देखाउन सकिन्छ । संस्कृतिको सम्मान गर्दा आत्मियता बढ्छ वैमनस्यता घट्छ । ‘सुनृतावन्त: सुभगा
इरावन्तो हसामुदा: । अतृष्या
अक्षुध्यास्त गृहा मास्मद विभितन ।।’ यो अथर्ववेदको अर्को एउटा श्लोक हो । यसले गृहस्थीको जीवन सत्यभाषी, मधुर भाषी, सुव्यस्थित, उत्तम सौभाग्यशाली, ऐश्वर्यसम्पन्न भइ अन्न र धनले भरपुर
होस् सधै हासीखुशी प्रसन्न, तृष्णारहित सन्तोषी, अभावग्रस्त र भयभित नहुनु भन्ने सन्देश
दिएको छ । ऋगवेदमा ‘आ नो भद्रा: क्रतवो, यन्तु विश्वत’ अर्थात सबैतिरबाट शुभ
प्राप्त होस भन्ने कामना गरिएको छ ।
सामाजिक सद्भावबाटै मनोवान्छित इच्छा
पुरा हुने कुरालाई यजुर्वेदले ‘अदिना: स्याम शरद: शतम् । भूयश्च शरद: शतात ।।’ हामी सय वर्ष भन्दा बढि वैभव सम्पन्न भएर
सम्मानसाथ बाँचौ भनेको छ । अथर्ववेदको अर्को यो श्लोक पनि सामाजिक
सन्देशयुक्त छ –
‘जिवेम शरद: शतम । वुध्येम शरद: शतम । रोहेम शरद: शतम । पुषेम शरद: शतम । भवेम शरद: शतम । भुषेम शरद: शतम । भूयसी: शरद: शतात ।’ ज्ञान बढाउँदै उन्नति गर्दै सुखमय जीवन बिताउँ र सय वर्षसम्म
हामीलाई यस्तै सुमंगल प्राप्ति भैरहोस ।
पिंग र शेयर
शेयरबजार घट्ने र बढ्ने क्रम चलिरहन्छ । यसको सुन्दरता भनेकै घट्नु र बढ्नु हो । यसको चरित्रलाई दशैँमा थापिने पिंगसँग तुलना गर्न सकिन्छ । रोटे होस् वा लिंगे जुनसुकै पिंग पनि तलमाथि भइरन्छ । लिंगे पिंगको लठ्ठा समातेर र रोटेपिंगको पिरामा बसेर कुनै
आनन्द प्राप्त हुन्न । लिंगे पिंग मच्चिंदै अगाडी पछाडीबाट माथि पुगिन्छ फेरी तलै
आइपुग्छ त्यस्तै रोटेपिंग घुम्दै धुरीमा पुग्छ अनि तल झरिहाल्छ, फेरी माथि पुग्छ फेरी तल झरिहाल्छ । यहि चढ्ने र झर्ने चक्र नै पिंगको मजा हो । शेयरबजार पनि पिंग जस्तै हो । लिंगे पिंग कति माथि लाने उचाई र पिंग खेल्नको इच्छामा भरपर्छ । शेयरको अन्तिम विन्दु कुन हो थाहा हुन्न । माथिल्लो वा तल्लो विन्दु थाहा नहुने भएकोले जुक्ति लगाउनु
पर्ने ठाउँ नै यहि हो ।
मन्त्रहरू र शेयर
महाभारतमा ‘उद्योगम पुरुषलक्षणम’ अर्थात उद्योग पौरखीको लक्षण हो भनिएको
छ । ऋगवेदले ‘मज्ज्यन्त्य विचेतस्’ अर्थात ज्ञान नहुँदा धोका खाइने र ‘अनुब्रुबाणो
अध्येति न स्वपन्’ अभ्यासबाट सिकिने बताएको छ । यजुर्वेदले ‘आशिक्षायै प्रश्निनम’ अर्थात प्रश्न गर्नेले सिक्छ भनेको छ । कस्तो अवस्थामा लगानी वा उद्यम असफल हुन्छ भन्ने बारेमा
नारदस्मृतिमा ‘यत्रश्रीर्यौवनम
वापि परदारोपि तिष्ठति । तत्र सर्वान्धिता
नित्यं मूर्खत्वं चापि जायते’ अर्थात ‘जहाँ धन, यौवन र परस्त्री हुन्छ त्यहाँ सबै अन्धा र
मुर्ख हुन्छन’ भनिएको छ । ऐतरेय ब्राह्मणले ‘इन्द्र इच्चरत: सखा’ अर्थात उद्योग गर्नेलाई इश्वरले साथ दिन्छन भनेका छन् । उन्नति र प्रगति गर्न ‘उत्थानं संयमो दाक्ष्यमप्रमादो धृति:
स्मृति । समिक्षं च
समारम्भो विद्धि मूलं भवस्य तु’ अर्थात ‘उद्योग, संयम, दक्षता, सावधानी, धैर्य, स्मृति र सोचविचार नै उन्नतिको मूल हो’ भनेर महाभारतमा भनिएको छ । लगानी गर्दा आफ्नै वुद्धि विवेक उपयोग गर्नुपर्ने आहारिस, गालीगलौज र आक्षेपले हुन्न भन्ने
कुरालाई मनन गराउन ऋगवेदमा ‘न स्रेधन्तं रयिर्नशत’ भनिएको छ ।
अन्तमा, समस्त पाठकगणमा यी वाक्यहरु सादर समर्पण
सहित दशैँ पर्वको हार्दिक मंगलमय शुभकामना । सर्वे भवन्तु सुखिन....., जीवेम शरद शरद शतम, आयुद्रोण सुते श्रीयं दशरथे शत्रुक्षयं
राघवे..., ॐ पूर्णमद:
पूर्णमिदं पूर्णात्पूर्णमुदच्यते । पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।।
अभियान दैनिकमा
प्रकाशित