सृष्टिकालदेखि नै
सम्पत्तिको अवधारणा विकास भएको हो | व्यक्तिसँग जुनसुकै स्वरुपमा रहेको चिज सम्पत्ति हो | विकासक्रमसँगै सम्पत्तिको महत्व बढ्दै गयो | मुद्राको
आविष्कार पश्चात सम्पत्तिको मौद्रिक मूल्य कायम हुन थालेपछि अहिले यसलाई मौद्रिक
मूल्यमा गणना गरिन्छ |
सम्पत्तिको प्रकार
सम्पत्तिलाई चल-अचल, भौतिक-अभौतिक, स्पर्श्य-अस्पर्श्य आदी
बिभिन्न स्वरुपमा वर्गीकरण गर्न सकिन्छ | नेपाल कानुन
व्याख्या सम्बन्धि ऐनमा ‘जग्गा जमिन, जग्गाबाट
हुने लाभ र जमिनमा जडिएको वस्तुलाई अचल यसबाहेक अन्य सबै प्रकारको सम्पत्तिलाई
चलको श्रेणीमा राखिएको छ |
सम्पत्ति प्राप्ति
सम्पत्ति प्राप्त हुने
विभिन्न विधिहरू रहेका छन् | देवर्षि नारदले १२ वटा र मनुले ७ वटा विधि रहेको बताएका छन् | मनुकै शब्दमा ‘सप्त वित्तगमा धर्मा दायो लाभ: क्रयो
जय: | प्रयोगः कर्मयोगश्च सत् प्रतिग्रह एव च ||’ दाय (उत्तराधिकार वा अंश), लाभ (व्यवसायिक नाफा), क्रय (खरीद),
जय (बाजी, जुवा, पुरस्कार),
प्रयोग (कृषि, लगानी),
कर्मयोग (नोकरी आदी सेवाबाट प्राप्त पारिश्रमिक), सत्
प्रतिग्रह (दान) बाट सम्पत्ति प्राप्त हुन्छ | आधुनिक कालमा
पनि करिब यहि ७ तरिकाबाट नै सम्पत्ति प्राप्त हुनसक्छ |
सम्पत्ति हस्तान्तरण
स्वामित्व र भोगमा रहेको
सम्पत्ति तोकिएको विधि र प्रक्रिया पुरा गरि निरपेक्ष हस्तान्तरण गर्न सकिन्छ र
प्राप्त गर्ने सर्वाधिकारसम्पन्न हुन्छ | हस्तान्तरण अभिलेख गरेर वा नगरी दुबै तरिकाले हुन्छ | जग्गा र घर जस्ता अचल सम्पत्ति अभिलेख गरेर मात्र हस्तान्तरण हुन्छ |
रुख अचल भएपनि यसको अभिलेख हुन्न | चल
सम्पत्ति भएपनि शेयरको हस्तान्तरण अभिलेख गरेर मात्र हुन्छ |
शेयर हस्तान्तरण
कम्पनीको पूँजीको विभाजित
अंश मानिने शेयर अत्याधिक तरल चल सम्पत्ति भएकोले बिक्री केन्द्र मार्फत सहज
हस्तान्तरण गर्न सकिन्छ | घर वा जग्गा हस्तान्तरण गर्दा
घरसारमा कागज गरि निश्चित समयपछि रजिष्ट्रेशन पास गरिदिने गरि बैनापट्टा गरेर
तोकिएको समयमा मालपोत कार्यालयमा दुई पक्ष उपस्थित भइ लेनदेन गर्नसक्छन् | शेयरको खरीद-बिक्री घरजग्गा जस्तो घरसारमा कागज गरेर बैनापट्टा गर्न
सकिन्न | शेयर हस्तान्तरणलाई बोलीचालीमा ‘बेच्ने’ भनिन्छ | अन्य चल
सम्पत्ति बेचे जसरी शेयर बेच्न नमिल्ने भएकोले निर्दिष्ट गरिएको बिक्री केन्द्र
पुग्नुपर्छ | यस्ता बिक्री केन्द्रलाई ‘दलाल’ भनिन्छ | दलालको संख्या
५० वटा रहेको छ | आवश्यकता अनुसार दलालले यस्तो सेवा
देशभरबाट दिनसक्छन् | शेयर ‘आधारभूत’
सम्पत्ति नभएकोले यसलाई बेच्न मालपोत कार्यालय जस्तो देशभर बिक्री
केन्द्र राखिएको हुन्न | यसको एउटा छुट्टै विशेषता भनेको
खरीद-बिक्रीको लागि क्रेता-विक्रेता आमने-सामने हुनुपर्दैन |
सम्बन्धित कानुन
शेयर दिनदिनै किनबेच हुने
मौद्रिक उपकरण हो | एकजनाले बेच्छ अर्कोले किन्छ र
केहि दिन पछी सो व्यक्तिले पुन: बिक्री गर्ने प्रक्रिया निरन्तर चलिरहन्छ |
एकै शेयर अनगिन्ती पटक किनबेच भइरहन्छ | कम्पनी
कानुन अनुसार ‘कुनै शेयरधनी मरी वा निजले आफ्नो जायजेथा
साहूलाई दामासाही गराई वा अरु कुनै व्यहोराले निजको शेयरमा प्रचलित कानून बमोजिम
अरु कसैको हक हुन आएमा सो कुराको सबुत प्रमाणसाथ त्यसरी हक प्राप्त गर्ने वा हक
कायम भई आएको व्यक्तिले तोकिए बमोजिमको ढाँचामा तोकिएको दस्तुर सहित कम्पनीमा
निवेदन दिएमा कम्पनीले त्यस्तो शेयर निजको नाममा दाखिल खारेज गरिदिनु पर्ने
व्यवस्था’ गरेको छ |
मृत्यु हस्तान्तरण
शेयर धारकको मृत्यु भएमा
स्टक एक्सचेन्जले हक कायम गरि दाखिला खारेज पश्चात नामसारी गरिदिन सम्बन्धित
कम्पनीलाई सिफारिस गरिदिन्छ | धारकको
हकवालाले (क) मृत्यु दर्ता प्रमाण-पत्रको प्रतिलिपि (ख) नाता प्रमाणित
प्रमाण-पत्रको प्रतिलिपि (ग) शेयर लिने व्यक्तिको निवेदन (घ) हकवालाको मन्जुरीनामा
(ङ) शेयर नामसारी गरिलिने र मन्जुरीनामा दिनेको नागरिकता प्रमाण-पत्र (च)
भौतिकरुपमा प्रमाण-पत्र रहेको भए सक्कल प्रमाण-पत्र र अभौतिकरुपमा रहेको भए
हिताग्राही खाता रहेको निक्षेप सदस्यबाट प्रमाणित नामसारी हुने शेयरको विवरण (छ)
दस्तुर बुझाएको निस्सा सहित (क) देखि (ङ) सम्मका कागजात २/२ प्रति संलग्न
गर्नुपर्छ | संस्थापक शेयर हस्तान्तरण हुने भए कर चुक्ता
प्रमाण-पत्र र कर्जा सूचना केन्द्रको पत्र पनि संलग्न गर्नुपर्छ | नामसारी दस्तुर १ देखि ५ सय कित्तासम्म शून्य दशमलव ५, ५ सय १ देखि १ हजार कित्तासम्म शून्य दसमलव ४ र १ हजार १ कित्ता भन्दा
माथि शून्य दसमलव ३ प्रतिशत लाग्छ | दस्तुर हिसाब परल मूल्य
अनुसार गरिन्छ | माथि (घ) मा लेखिएको मन्जुरीनामा दिने
भन्नाले हकवाला धेरै भएर कुनै हकवालाले हक छाड्न चाहेमा हक छाड्न मन्जुर भएको
मन्जुरीनामा दिनुपर्छ | सबै हकवालाले लिने भएमा मुलुकी ऐन
अंशवण्डाको महल अनुसार बाँडफाँड गरिदिनुपर्छ | हकवाला कायम
गर्दा पनि यहि मुलुकी ऐन अंशवण्डाको महल बमोजिम गर्नुपर्छ |
घरायसी हस्तान्तरण
यसबाहेक घरायसी नामसारी
गर्नुपरेमा पनि एक्सचेन्जले कम्पनीलाई पत्राचार गरिदिने गरेको छ | घरायसी नामसारी गर्दाको प्रक्रिया पनि मृत्यु नामसारी सरह
रहेको छ | चाहिने कागजातहरुमा (क) नामसारी गरिदिने र लिनेको
दुबैको निवेदन (ख) लिनेदिने दुबैको नागरिकता प्रमाण-प्रत्र (ग) भौतिक स्वरुपमा भए
सक्कल प्रमाण-पत्र र अभौतिकस्वरुपमा भए हिताग्राही खाता रहेको निक्षेप सदस्यले
प्रमाणित गरेको शेयर विवरण (घ) लिने-दिने बिचको नाता प्रमाणित प्रमाण-पत्रको
प्रतिलिपि र (ङ) दस्तुर बुझाएको निस्सा सहित (क) देखि (घ) सम्मका कागजात २/२ प्रति
संलग्न गर्नुपर्छ | संस्थापकको हकमा कर चुक्ता, कर्जा सूचन केन्द्रको पत्र, २ प्रतिशत भन्दा तल वा
माथि खुलेको सम्बन्धित कम्पनीको पत्र पनि संलग्न गर्नुपर्छ | १ देखि ५० कित्तासम्म ३, ५१ देखि २ सय कित्तासम्म २,
२ सय १ देखि १ हजारसम्म १ दशमलब पाँच, १ हजार
१ देखि १० हजार कित्तासम्म १ दशमलब २५ र १० हजार देखि माथि १ प्रतिशत दस्तुर लाग्ने
व्यवस्था छ | दस्तुर हिसाब परल मूल्य अनुसार गरिन्छ |
हस्तान्तरणका छिद्रहरू
शेयर विशेष परिस्थितिमा
बाहेक सिद्धान्तत हक हस्तान्तरणयोग्य सम्पत्ति हैन | यसको स्वभाव नै दैनिकरुपमा निश्चित प्रणाली मार्फत खरीद-बिक्री भइ
हस्तान्तरण हुने भएकोले यसलाई अन्य अचल सम्पत्ति जस्तो ‘घरायसी’
भन्दै हक हस्तान्तरण गर्न दिइनु शेयरको सैद्धान्तिक मान्यता विपरित
हो | निर्दिष्ट व्यवस्था विपरित हस्तान्तरण गर्नु गैर-कानुनी
कार्य हो | कम्पनी ऐनले प्रष्टरुपमा ‘शेयरधनी
मरी वा निजले आफ्नो जायजेथा साहूलाई दामासाही गराई वा अरु कुनै व्यहोराले निजको
शेयर प्रचलित कानून बमोजिम अरु कसैको हक हुन आएमा सो कुराको सबुत प्रमाणसाथ’
आएमा भन्ने व्यवस्थाले कस्ता अवस्थामा शेयर हस्तान्तरणयोग्य भन्ने
स्पष्ट आधार तोकेको छ | ‘घरायसी’ हस्तान्तरण
धारकको मृत्यु भएको अवस्थामा मात्र गरिनुपर्छ | वर्तमान १० कित्ते
बाँडफाँड नीतिले गर्दा परिवारका सबै सदस्यको नाममा आवेदन गर्ने र बाँडफाँड
भइसकेपछी शेयर एकत्रित गर्न यहि छिद्रको उपयोग गर्ने भएकोले यसलाई अविलम्ब रोक्न
धितोपत्र वोर्डले निर्देशन गर्नु अत्यन्त आवश्यक छ | त्यस्तै
बाबुआमा बाहेकका व्यक्ति संरक्षक रहेको नाबालकको नाममा रहेको शेयर कुनै पनि
विधिबाट उमेर नपुगेसम्म हस्तान्तरण नहुने व्यवस्था मिलाउनु आवश्यक छ |