Saturday, December 22, 2018

अनलाइन सम्झौतामा छुटेका विषय

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले इन्टरनेटमा आधारित स्वचालित विद्युतीय शेयर कारोबार प्रणाली (अनलाईन) को लागि कारोबार सदस्य (सदस्य) र ग्राहकबीच हुने सम्झौताको लागि ३९ वटा शर्त सहितको ढाँचा सार्वजनिक गरेसँगै सम्झौता गर्ने क्रम शुरु भएको छ  अनलाईनको शुरुवातपछि शेयर कारोबार ग्राहकको हात-हातमा आइपुगेको छ । आफू रहेको जुनसुकै स्थानबाट मोबाइल फोन (इन्टरनेट उपलब्ध भएमा), ल्यापटप वा डेस्कटप कम्प्युटरबाट शेयर क्रय-विक्रयको आदेश दिनसकिने सुबिधा अनलाईनले दिनेछ । अनलाईनका केहि सिमा (कानूनी र प्रविधि) भने हुनेछ । कानूनी सिमा बन्देज के के छन् संक्षिप्तमा यो आलेखको विभिन्न अनुच्छेदमा समिक्षा गर्ने प्रयास गरिएको छ । 

सम्झौताका शर्त बन्देजहरु

सम्झौतामा भएका मुख्य-मुख्य बुँदाहरु तालिकामा उल्लेख गरेर प्रस्तुत गरिएको छ । तालिकामा दिएका अंक क्रम संख्या नभएर सम्झौताका क्रम संख्या हुन् । 

बुँदा नं.
व्यवस्था
धितोपत्र कानुन र अन्य नियमकीय निकायले जारी गर्ने निर्देशन परिपत्र सम्झौताको अभिन्न अंग हुने ।
ग्राहक पहिचान फाराममा उपलब्ध गराएको विवरणमा कुनै फेरबदल आएमा ७ कार्य दिन भित्र सदस्यलाइ जानकारी दिनुपर्ने । (फोन नं., इमेल आदि)
कुनै कानुनले आर्थिक कारोबार गर्न रोक लगाउने गरि कुनै घटना घटेमा सदस्यलाई तुरुन्त जानकारी दिनुपर्ने । (दामासाही, बिघटन भएमा आदि)
४.
असम्बन्धित व्यक्तिले युजरनेम र पासवर्ड प्राप्त गरि अनधिकृत आदेश दिई कुनै दायित्व सिर्जना गराएमा पन्छिन नसकिने हुँदा यसको सुरक्षा गर्नु ग्राहकको जिम्मेवारी हुने ।
ग्राहकले एक सदस्यलाइ उपलब्ध गराएको हितग्राही खाता अर्को सदस्यलाइ पनि उपलब्ध गराएमा हुने हानि-नोक्सानीको जिम्मेवारी ग्राहकको हुने ।
प्राप्त युजरनेमबाट भएको सम्पूर्ण कारोबारको दायित्व वहन र राफसाफको जिम्मेवारी ग्राहकको हुने ।
युजरनेमको उपयोग गरि हुने दायित्वबाट नेप्सेको सम्पत्तिमा कुनै हानी भएमा ग्राहक जिम्मेवार हुने ।
बिक्री गरेको धितोपत्र भोलिपल्ट १२ बजेभित्र सदस्यको राफसाफ खातामा हस्तान्तरण गर्नुपर्ने र नगरेमा सिर्जित हुने दायित्व ग्राहकको हुने ।
बिक्री भएको धितोपत्रको आधार मूल्य राफसाफ हुने अगिल्लो दिन उपलब्ध नगराएमा वा गलत मूल्य उपलब्ध गराएमा सिर्जित हुने आर्थिक दायित्व ग्राहकको हुने ।
११
अग्रिम बुझाएको रकमको ४ गुणासम्म खरिद आदेश प्रविष्ट गर्नुपर्ने ।
१४
अग्रिम भुक्तानी वापतको रकमको सट्टा कारोबारयोग्य धितोपत्र पनि बुझाउन सकिने ।
१५
अग्रिम रकम बापत बुझाएको धितोपत्रको मूल्यांकन बजार मूल्यको ७० प्रतिशतसम्म हुने ।
१७
लिमिट अनुसार कारोबार गरि समयभित्र राफसाफको दायित्व पुरा नगरेमा टि+४ मा ग्राहकलाई जानकारी गराई खरिद गरिएको तथा जमानतमा लिएको धितोपत्र बिक्री, बैंक जमानतबाट रकम र सो को लागतको सोधभर्ना र नपुग रकम कानुन बमोजिम असुल गर्ने । 
२०
आदेश प्रविष्ट भइ कारोबार पश्चात मृत्यु भएमा वा अन्य जुनसुकै कारणबाट राफसाफ हुन नसक्ने स्थितिको सिर्जना भएमा सो दायित्व उत्तराधिकारीमा सर्ने ।
२१
नियमकबाट कारोबार रद्द गरेमा आदेश स्वत रद्द हुने ।
२२
नावालकको हकमा संरक्षक वा प्रतिनिधिले सम्झौता गर्नसक्ने ।
२३
सदस्यको काबु बाहिरको परिस्थितिबाट उत्पन्न हुने कुनै पनि दायित्वमा सदस्य जिम्मेवार नहुने ।
२४
ग्राहकले लिखित मन्जुरी दिई आदेश प्रविष्ट गर्न प्रतिनिधि नियुक्त गर्नसक्ने र दायित्व भने ग्राहककै हुने ।
२६
ग्राहकले विभिन्न विधि मार्फत आदेश दिनेसक्ने र सो को अभिलेखन तथा भण्डारण गर्ने सदस्यको दायित्व हुने ।
२७
मार्जिन कारोबार लिने भएमा सोहि नियम लागु हुने ।
२८
कानुनले धारण गर्न दिएको सिमा भित्र रही खरिद आदेश दिनुपर्ने ।
२९
आवश्यक परेमा धितोपत्र खरिद गर्ने रकमको स्रोत सम्बन्धि जानकारी गराउनपर्ने जिम्मा ग्राहकको हुने ।  
३०
पक्षकहरुले आ-आफ्नो दायित्व पुरा गरि १ महिनाको सुचना दिई सम्झौता रद्द हुने ।
३२
ग्राहकको अद्यावधिक ठेगानामा तोकिएको माध्यमबाट सदस्यले कुनै जनाउ वा सूचना दिएमा रितपूर्वक दिएको मानिने ।
३४
कानुनले तोकेको अवस्थामा बाहेक ग्राहकको गोपनीयता कायम राखिने ।
३६
अनलाईन कारोबार, एसएमएस सुविधा र त्यसको नविकरण गर्न लाग्ने शुल्क तिर्नुपर्ने ।

अनावश्यक शब्दको थुप्रो 

शीर व्यहोरालाई छोटो बनाउन सकिने स्थिति भए पनि त्यसो नगरिएकोले भद्दा बनेको छ । शीर व्यहोरामा आज फलानो बार, मिति.......फलानो कार्यालयमा दर्ता भएको र धितोपत्र वोर्डबाट अनुमति प्राप्त नेपाल स्टक एक्सचेन्जको कारोबार सदस्य फलानो ठाउँ दर्ता कार्यालय रहेकोभन्ने भद्दा वाक्य पढ्दापढ्दै अल्छी लाग्ने खालको छ । यस्तै शीर व्यहोरा ग्राहकको पनि छ । सम्झौताको अन्तिममा पुरा मिति राखिने हुँदा शीर व्यहोरामा अनावश्यक शब्दको थुप्रो लाग्दा वाक्य लामो र भद्दा भएको छ । त्यस्तै सम्झौतारत दोस्रो पक्ष ग्राहकको नाम (संस्थाको हकमा संस्थाको नाम) मात्र लेखेर व्यक्तिको तीन पुस्ते, स्थायी तथा अस्थायी ठेगाना, ग्राहक संकेत (युनिक क्लाइन्ट कोड), फोन नं., संस्थागत ग्राहकको हकमा दर्ता नं., दर्ता कार्यालय रहेको ठेगाना आदि जस्ता व्यहोरा सम्झौताको अन्तिममा क्रम मिलाएर राख्दा छरितो बन्नसक्थ्यो । 

छुटेका विषयवस्तु

सम्झौतामा नभई नहुने विवरण भने छुटेको छ । छुटेका र थप गर्नुपर्ने विषयवस्तु निम्न देखिन्छन् ।

१.     ग्राहकको जन्म मिति, हितग्राही खाता नं., इमेल ठेगाना, मोबाइल फोन नं., नागरिकता नं., जारी       जिल्ला, जारी मिति, बैंक खाता नं., बैंकको नाम र शाखा जस्ता व्यक्तिका प्राथमिक विवरण भने       कहिँ पनि उल्लेख गर्नपर्ने व्यवस्था गरिएको छैन । 

२.    सम्झौताको बुँदा १५ मा धितोपत्रको ७० प्रतिशतसम्म समग्र मूल्यांकन गर्नुको सट्टा नेप्सेले गर्ने कम्पनी वर्गीकरण अनुसार प्रत्येक वर्गका लागि अलग-अलग भार दिनु उपयुक्त हुन्छ ।

३.      बुँदा २२ मा उल्लेखित नाबालकको हकमा प्रतिनिधिभन्ने शब्दले के अर्थ दिने हो प्रष्ट भएन । 
   
४.  बुँदा २३ को सदस्यको काबु बाहिरको परिस्थितिको व्याख्या आवश्यक छ । यस्तै परिस्थिति ग्राहकलाई पनि पर्नसक्ने हुँदा यी दुबैलाइ मान्य हुनेगरी यस्ता विरोधाभाषपूर्ण परिस्थितिको उल्लेखन सम्झौतामा छुट्टै अनुसूची वा मूल सम्झौतामा राख्नु आवश्यक देखिन्छ । 

५.  बुँदा २४ मा वर्णित व्यवस्थाले के भन्न खोजेको प्रष्ट हुन्न । यो भनेको साधारण वा अधिकृत वारेस जस्तै हो वा अन्य केहि हो थप व्याख्या आवश्यक देखिन्छ । प्रतिनिधि नियुक्त गरेको कागजात बुझाउनुपर्ने कि नपर्ने पनि प्रष्ट उल्लेख हुनुपर्छ । 

६.    सदस्यको संकेत अंक कहिँ कतै भेटिन्न ।

अन्तमा, ग्राहकले सकेसम्म एउटै सदस्य दलालबाट कारोबार गर्नु उचित हुन्छ । दिनदिनै दलाल फेरिफेरि कारोबार गरिरहेका र जताततै हितग्राही खाता खोलेकालाई भने समस्या पर्नसक्छ । त्यसकारण अनलाईन सुबिधा लिनु अघि छरिएको शेयरलाई एकै खातामा संग्रह गरि एकै सदस्यबाट मात्र सुबिधा लिनु उचित हुन्छ । एक भन्दा बढी दलालबाट सुबिधा लिंदा कारोबार गर्न फरक-फरक ब्राउजरबाट आदेश प्रविष्ट गर्नुपर्ने हुँदा मोबाइलमा त्यति नै ब्राउजर राख्नुपर्ने हुन्छ । इन्टरनेट व्याण्डविड्थ त्यति राम्रो नभएको हुँदा मोबाइलमा धेरै ब्राउजर खोल्दा मोबाइल सुस्त हुँदा गलत आदेश प्रविष्ट भएमा आफैँलाई हानी हुनसक्छ । अग्रिम जम्मा गरिएको रकमको आधारमा ४ गुणासम्म खरिद आदेश प्रविष्ट गर्न सकिने हुँदा अहिले सजिलै आदेश दिए जस्तो अनलाईनमा हुनेछैन । शेयरबजारको पर्याप्त अनुभव नभएकाले अहिले अनलाईन सुबिधा नलिनु नै उचित हुन्छ ।


२०७५ पौष २ अभियान दैनिक

http://www.abhiyan.com.np/?p=301299

No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...