चिलिमेसँग जोडिएका प्रसँग - १
एकदिन निकै पछि एकजना
मित्र भेटिए । उनी र म बीचको कुराकानी
उ - चिलिमेको शेयर छ ?
म - छैन । (अलि अलि शेयर
किन्ने गर्छु तर,
आजका मितिसम्म चिलिमेको शेयर किनेको छैन र किन्ने बारेमा सोचेको पनि
छैन l)
उ - त्यसोभए किनिहाल ।
म - किन ?
उ - चिलिमेले ५० प्रतिशत
हकप्रद जारी गर्दैछ ।
म - चिलिमेलाई हकप्रदको
आवश्यकता छैन ।
उ - पक्का हो । हकप्रद
घोषणा हुनासाथ यसको भाउ ५ हजार रुपैयाँ नाघ्छ l (त्यतिबेला सायद चिलिमेको शेयरको बजार
मूल्य २ हजार रुपैयाँ माथि थियो र मैले राम्रो नाफा आर्जन गरूँ भन्ने उसको आशय
थियो ।)
म - चिलिमेलाई हकप्रदको
जरुरी नै छैन भने किन जारी गर्छ ?
उ - ईण्टरनेशनल कन्सलट्यान्टबाट अध्ययन गराएको छ, प्रतिवेदन आउनासाथ घोषणा
गरिहाल्छ । (यसपटक उसले ‘ईण्टरनेशनल’ शब्द राखेर मलाई विश्वस्त
बनाउन खोजेको थियो तर, उसको उद्देश्य मलाई उसको शेयर भिडाउन
थिएन ।)
म - चिलिमेको हकप्रद जारी
गर्ने निर्णय चिलिमेको सञ्चालक समितिले हैन,
नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले गर्छ । प्राधिकरण अहिले
१ रुपैयाँ हाल्न सक्ने अवस्थामा छैन, त्यसकारण यस्ता कुराको
पछि नलागेको राम्रो हो ।
यति गर्दा पनि उ भने
चिलिमेले हकप्रद जारी गर्छ भन्नेमा विश्वस्त थियो । उसले त्यसपछि किन्यो कि किनेन
मैले भेट हुँदा पनि सोधिन ।
चिलिमेले ५० प्रतिशत
हकप्रद जारी गर्छ भन्ने हल्ला व्यापकै थियो l
आजसम्म पनि हकप्रदको ‘ह’ पनि उच्चारण गरेको सुनिएको छैन ।
चिलिमेको हकप्रद अर्थात् ‘राइट’ ले
धेरैलाई चिलिम र लेफ्ट पारेको छ ।
चिलिमेसँग
जोडिएका प्रसँग – २
केही
वर्ष अगाडी सायद ३/४ वर्ष जति भयो होला l शेयरबजारका एकजना हस्ती एउटा कार्यकममा मुख्य
वक्ता हुनुहुन्थ्यो l कार्यकम स-शुल्क थियो l म र अर्का २ जना साथीसहित हामी ३ जना पनि उक्त कार्यकममा पुगेका
थियौं l शेयरमा अलि अलि लगानी भएको र बजारकै हस्ती
उपस्थित कार्यकममा हामीलाई पनि उपस्थित हुन् उहाँले नै आग्रह गर्नुभएको थियो l नत्र हामी तीनै जनालाई यस्ता कार्यकम चासोयुक्त हुँदैनथ्यो l वक्ताले करिब १ घण्टाको अवधीमा शेयरबजारको उतारचढाव, आफ्नो भोगाई, अनुभव, अनुमान र कम्पनी छनोट आदि विषयमा बोल्नुभएको
थियो l बाचन सकिएपछिको दोस्रो सत्र प्रश्नोत्तरको थियो l धेरैले बजार कहिले बढ्छ ?
(त्यतिबेला बजार माथि पुगेर तल झर्दै गरेको
अवस्था थियो) म यति इन्डेक्स हुँदा छिरेको, म डुबें, मेरो गयो, मैले किनेको भाउमा कहिले पुग्ला यस्तै यस्तै
प्रश्न गरेका थिए l यस्ता तपसिलका झैँ लाग्ने प्रश्नबाहेक खासै
वजनदार प्रश्न आएनन भन्दा पनि हुन्छ l एउटा प्रश्न भने अलि वजनदार जस्तो लागे पनि खासै
वजनदार चाहिँ हैन l तैपनि अलिकति सान्दर्भिक जस्तो लागेको हो l
प्रश्न चिलिमे जलविद्युतसँग जोडिए पनि समग्र
लगानीलाई प्रतिनिधित्व गर्ने किसिमको थियो l प्रश्नकर्ताकै भाषामा – तपाईं लगायत राम्रो कम्पनीमा लगानी गर्नुस घाटा हुँदैन भन्नुहुन्छ l मैले पनि हरेक वर्ष ‘बोनस’ दिने राम्रो कम्पनी भनेर चिलिमेको शेयर २८ सय
रुपैयाँमा किनेको थिएँ l आज मैले लगानी गरेको रकम घटेर १ चौथाई
(त्यतिबेला चिलिमेको बजार भाउ ७ सय रुपैयाँ आसपास थियो l प्रतिफलको हिसाबले यो भाउ पनि उपयुक्त थिएन) भएको छ l २८ सय रुपैयाँमा किनेपछि आएको बोनसले पनि मेरो लगानी झन्डै आधा
भएको छ l चिलिमे जस्तो राम्रो कम्पनीमा लगानी गर्दा पनि
यस्तो घाटा कसरी भयो ?
वक्ताले
यो प्रश्नको उत्तर कसरी दिनुभयो त्यतातिर नगई यसलाई आधार मानेर चिलिमेसँग जोडिएको
राम्रो कम्पनी र लगानी विधिको बारेमा मेरो आफ्नो धारणाको बारेमा केही चर्चा गर्छु l
राम्रो
कम्पनी कुन
धेरैलाई
राम्रो कम्पनी भनेको ‘बोनस’ बाँड्ने मात्र हो र मेरो कित्ता मात्र बढ्ने
भन्ने पनि भ्रम छ l बोनस बाँड्नु भनेको कित्ता मात्र हैन कम्पनीको
खाने मुख पनि बढ्नु हो l १ लाख रुपैयाँ पूँजी भएको कम्पनीले १० प्रतिशत
बोनस बाँड्नु भनेको शेयरधनीको १ सय कित्तामा १० कित्ता बढेर १ सय १० कित्ता हुनु
मात्र हैन, कम्पनीको पनि पूँजी १ लाख १० हजार रुपैयाँ
पुग्नु हो l बोनस शेयर बाँडेपछि शेयर मूल्य पनि सोही
अनुपातमा समायोजन हुन्छ l २ सय रुपैयाँ मूल्य छ भने बोनस पछी मूल्य
समायोजन भएर १ सय ८१ रुपैयाँमा झर्छ l बोनस अघि र पछिको रकम बराबर हुनेहुँदा बोनसले
कित्ता बढ्दैमा सम्पत्तिको मूल्यांकन पनि बढ्दैन l
प्रतिफलयुक्त
लगानी
शेयरबजारमा
लगानी पूँजीगत लाभ र प्रतिफल लाभको लागि गरिन्छ l पूँजीगत
लाभभन्दा प्रतिफल लाभको लागि लगानी गर्नेले संधै जित्छ l प्रतिफल लाभ तत्काल आउँदैन, यसका लागि केही समय (समय सुनिश्चित गर्न सकिन्न)
पर्खनुपर्ने हुन्छ l शेयरबजारका बादशाह मानिने वारेन बफेटले ‘म शेयरबजारबाट कहिल्यै पैसा कमाउने प्रयास गर्दिन र शेयर किन्दा
भोलि नै बजार बन्द गर्छन र आगामी पाँच वर्षसम्म खोल्दैन भन्ने मान्यता राख्छु’ भनेका छन् l उनले यसो भन्नुको अर्थ पूँजीगत लाभ हैन प्रतिफल
लाभ लिन्छु भनेका हुन् l सबैजना पूँजीगत लाभको लागि झुम्मिएपछि बजारमा
तीव्र दवाव पर्छ र मूल्यमा गिरावट आउँछ l यही बेलामा बफेट जस्ता मान्छे बजार प्रवेश गर्छन
र प्रतिफलयुक्त लगानी गर्छन l प्रतिफलयुक्त लगानी गर्नेलाई कहिल्यै घाटा
हुँदैन l
१
प्रतिशत प्रतिफल
प्रश्नकर्ताले
चिलिमेको शेयर किन्ने बेलामा यसले ५० प्रतिशत हकप्रद जारी गर्दैछ भन्ने हल्ला चरम
सीमामा थियो l हकप्रद घोषणा पछि यसको भाउ ५ हजार रुपैयाँ
नाघ्ने अनुमान व्याप्त थियो l यसैको प्रलोभनमा प्रश्नकर्ता परेका अनुमान गर्न
सकिन्छ l प्रश्नकर्ताले मात्र हैन यस्ता अफवाह शेयरबजारमा
आइरहन्छ l यस्ता अफवाहलाई केही हदसम्म स्वीकार्य पनि
मानिन्छ किनभने शेयरबजार साधुसन्तको अखडा हैन जहाँ सत्य बचन मात्र सुनियोस l यस्ता कुरा आएपछि लगानी गर्नेले पनि सूचनाको सत्यता जाँच गर्नुपर्छ l चिलिमेलाई अहिले पनि हकप्रद शेयर जारी गर्नुपर्ने जरुरी छैन l अझ पनि संचित जगेडामा पर्याप्त रकम रहेको छ l तर, चिलिमेले वर्षैपिच्छे बोनस जारी गरेर कम्पनीलाई
ओभर क्यापिटलाइज्ड बनाएको परिणामस्वरूप अहिले प्रतिशेयर आम्दानीमा हरेक वर्ष
गिरावट देखिएको छ l पहिले विद्युतको अभाव हुँदा बर्खायाममा बढी
निस्केको बिजुली बिक्री हुन्थ्यो अहिले कन्ट्रयाक्ट इनर्जी बाहेक थप निस्केको
बिजुली बिक्री नहुँदा आम्दानीमा कमि आएको छ l चिलिमेले अरुभन्दा बढी बिक्री दर पाएका कारण
आम्दानी बढी देखिएको छ l अहिले पनि यसको बिक्री आम्दानीमा खास कमि आएको
छैन l तर, कर छुट अवधी सकिएको र रोयल्टी बढेको कारण बिक्री
आम्दानी उही भए पनि खर्च (आयकर र रोयल्टी) बढ्दा प्रतिशेयर आम्दानीमा कमि देखिएको
छ l बढी पूँजी भएका कारण पनि प्रतिशेयर आम्दानी घटी
देखिनु स्वाभाविक हो l प्रवर्द्धन गरिएका आयोजना बेलैमा पूरा हुन
नसक्दा त्यताबाट आम्दानी आउन सकेको छैन l
प्रश्नकर्ताले
शेयर किनेको बेला यसको लाभांश क्षमता ३० प्रतिशत अर्थात् उनको लगानीमा १ प्रतिशत
प्रतिफल थियो l १ प्रतिशतको प्रतिफलमा लगानी गरेपछि त्यसको
लगानी फिर्ता हुने अवधी स्वत: १ सय वर्ष हुने भइगो l यतिबेलासम्म
त ४ पुस्ता देखिइसक्छ l त्यसैले लगानी गर्दा कम्तिमा ५ प्रतिशतको
वार्षिक प्रतिफल भएमा त्यसको लगानी फिर्ता २० वर्षमा हुन्छ l यसमा त सन्तोषजनक लाभ छैन भने १ प्रतिशत प्रतिफलले कसरी सन्तोषजनक
लाभ लिन सकिएला ? कम्तिमा ५ प्रतिशत प्रतिफल (बोनस वा नगद वा
दुबै) हुँदा बजारमा सामान्य गिरावट आए पनि लगानी नै सक्किने अवस्था हुन्न l
लगानी
औसत
धेरैले
एकपटक किनेपछि फेरी तल्लो वा माथ्लो भाउमा किन्ने गरेका छैनन् l बढ्दा पनि यति पुगेपछि बेचेर निस्कन्छु भन्ने लक्ष्य राखेको
देखिन्न l आज बढ्यो भने भोलि पनि बढ्छ, भोलि पनि बढेमा पर्सि पनि बढ्छ भन्ने ठानेको देखिन्छ l आज, भोलि वा पर्सि संधै एकै मान्छे किन्न नबसेका पनि
हुनसक्छ l तल झर्यो भने बेचिहाल्ने गरेको देखिन्छ l बढ्न थालेपछि किन्न दौडीहालेको पनि देखिन्छ l तल झर्दैमा आत्तिहाल्नु पर्ने अवस्था हुन्न l बरु जति सकिन्छ तल्लो भाउमा किन्नु जाती हुन्छ l यसो गर्दा लागत कम हुँदै जान्छ l अहिले
पनि केही जलविद्युत कम्पनी सम्भावनायुक्त देखिएका छन् l जलविद्युतमा एकैपटक प्रतिफल प्राप्त हुन्न l यसमा अलिकति धैर्यता राख्नसक्नुपर्छ l संधै
अर्काको भरमा लगानी हुन्न आफैँले न्युनतम कुरा बुझेर सामान्य जोडघटाउ
गर्नसक्नुपर्छ l वित्तीय विवरण केलाउन आफैले सिकेमा कसैलाई
सोधिरहन पर्दैन l अलिकति मेहनत गरेमा वित्तीय विवरण बुझ्न गाह्रो
हुन्न l हामीले संधै गरिरहेको हिसाब हो शीर्षक मात्र फरक
हो l
चिलिमे २०७१/७२
नाफा नोक्सान र खुद आम्दानी
विद्युत बिक्रीबाट १ अरब ३ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । विध्युत बिक्री खर्च ९ करोड ३१ लाख पश्चात ९४ करोड ३८ लाख आम्दानी गरेको छ । विध्युत बिक्री आम्दानी गत वर्ष भन्दा ५ करोड २० लाख बढेको छ । विद्युत बिक्री खर्च पश्चातको आम्दानी ६.६% ले बढेको छ । अन्य आम्दानी र व्याज आम्दानी समेत गरेर १ अरब ४ करोड ९६ लाख कुल आम्दानी गरेको छ ।
प्रशासनिक खर्च ७ करोड ९२ लाख पश्चात ९७ करोड ४ लाख ७० हजार संचालन आम्दानी गरेको छ । ह्रासकट्टी पश्चात ८६ करोड ५४ लाख ११ हजार खुद आम्दानी गरेको छ । खुद आम्दानी ७.९% घटेको छ । गत वर्ष ९३ करोड ९६ लाख ७५ हजार खुद आम्दानी गरेको थियो ।
प्रमुख सूचकहरु
प्रतिशेयर आम्दानी रु. ३१.७५, प्रतिशेयर खुद सम्पति रु. २६६.३६, लागतमा प्रतिफल र ११.९१% रहेको छ । तरलता १७.६५ रहेको छ ।
कम्पनीले अपेक्षा अनुरुप नै आम्दानी गरेको भए पनि गत बैशाख महिनामा आएको भूकम्पका कारण केहि दिन उत्पादन बन्द भएकोले आम्दानीमा केहि असर परेको कुरा प्रकाशित विवरणमा उल्लेख गरिएकोछ । गत वर्ष कम्पनीले ब्याजबाट राम्रो आम्दानी गरिरहेकोमा आफुले प्रवर्द्धन गरेका कम्पनीलाई रकम दिनु परेकोले व्याज आम्दानीमा कमि आएको छ । कम्पनी मुख्य प्रवर्द्धक रहेर २७० मेगावाट क्षमताका ४ वटा आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । भूकम्पका कारण उल्लेखित आयोजना निर्माणमा केहि अवरोध आएकोले निर्धारित समयमा पुरा नहुने अवस्थाको सिर्जना भएको छ ।
गत आर्थिक वर्षको नाफाबाट कम्पनीले २५ प्रतिशतसम्म लाभांश दिनसक्ने देखिन्छ । जगेडामा रकम रहेकोले केहि बढाउन पनि सक्छ ।
कम्पनीको
पूँजी २ अरब ७२ करोड ५६ लाख ३२ हजार रहेको छ जगेडामा ४ अरब ५३ करोड ४३ लाख ६९ हजार
छ । कम्पनीले अहिलेसम्म ३ अरब ९४ करोड ८२ लाख ३१ हजार लगानी गरेको छ ।
No comments:
Post a Comment