साविक वीरगञ्ज फाइनान्स र हिमचुली विकास बैङ्क तथा नेपाल क्रेडिट एण्ड
कमर्श बैङ्कमा अरू चार ओटा विकास बैङ्क गाभिएपछि क्रमशः ‘फेडरल डेभलपमेण्ट
बैङ्क ’ तथा ‘नेशनल बैङ्क लिमिटेड’ नाम राख्न केन्द्रीय बैङ्क (नेपाल
राष्ट्र बैङ्क)ले सहमति दिएन । माथिको यस प्रसङ्गलाई हेर्दा बैङ्क र
वित्तीय संस्थाको नामप्रति केन्द्रीय बैङ्क निकै संवेदनशील रहेछ भन्ने
देखिन्छ । तर, विद्यमान केही नाम अझ खासगरी ‘घ’ वर्गका लघुवित्तका नाम
हेर्दा भने सोचे भन्दा फरक स्थिति देखापर्छ ।
वाणिज्य र विकास बैङ्कका नाम
कृषि विकास बैङ्क ऐन २०२४ नामक विशेष कानूनद्वारा संस्थापित ‘कृषि विकास बैङ्क’ अहिले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७३ को मातहतमा आएर वाणिज्य बैङ्कका रूपमा कार्य गर्दा पनि नाम भने जन्मदात्री ऐनकै पालाको धारण गरिरहेको छ । साविक विशेष ऐनले विशेष किसिमको बैङ्किङ गर्न र गराउने उद्देश्य सहित स्थापना गरेको बैङ्कले उद्देश्य नै परिवर्तन गरेर ‘युनिभर्सल’ बैङ्किङ गर्न थालिसकेपछि नाम पनि सोही अनुरूप परिवर्तन गर्नुपर्नेमा त्यसो गरेको छैन । अझ रमाइलो कुरा त ‘ख’ वर्गको बैङ्कले झुण्ड्याउने ‘विकास’ भन्ने फुर्कोले ‘वाणिज्य’ वा ‘विकास’ कुन बैङ्क हो थाहा पाउन समेत गाह्रो भएको छ । मुलुकमा सञ्चालित २८ ओटै वाणिज्य बैङ्कको नाममा एकरूपता छैन । ‘राष्ट्रिय वाणिज्य बैङ्क’ अर्को उदाहरण हो । अन्य कुनै बैङ्कले नजोडेको अङ्ग्रेजी भाषाको ‘कमर्शियल’ भन्ने फुर्को ‘प्राइम’ र ‘सेञ्चुरी’ले मात्र जोडेका छन् । नामको शुरूमै ‘बैङ्क’ राख्ने ‘बैङ्क अफ काठमाण्डू’ हो । अर्थ नै नभएको नाम राख्ने नबिल, एनएमबी, ग्लोबल आईएमई र एनआईसी एशिया बैङ्क हुन् । ‘बैङ्क’ भन्ने शब्द पछि ‘नेपाल’ फुर्को हाल्ने ‘जनता’ र ‘मेगा’ हुन् । दक्षिण भारतको जस्तो नाम राख्ने ‘हिमालयन बैङ्क’ हो । केन्द्रीय बैङ्कले ‘ख’ वर्गका वित्तीय संस्थालाई विकास बैङ्क भनेर वर्गीकरण गरेको छ । विकास बैङ्कका नाममा त्यति असान्दर्भिकता नदेखिए पनि नाम पछि ‘विकास’ र ‘डेभलपमेण्ट’ राखेको देखिन्छ । ‘डेभलपमेण्ट’ राखेर किन अङ्ग्रेजी मोह देखाएका हुन् सञ्चालकहरू नै जानून् ।
वित्त कम्पनीका नाम
फाइनान्स पनि भनिने वित्त कम्पनीका नाम त झन् रङ्गीचङ्गी नै छन् । समस्याग्रस्त ‘क्यापिटल मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्स’ जस्ता नाम धेरै छन् । यी वित्त कम्पनी हुन् कि धितोपत्र कानून अनुसारको कार्य गर्ने ‘मर्चेण्ट बैङ्क’ हुन् छुट्ट्याउनै गाह्रो पर्छ । मर्चेण्ट बैङ्क र वित्तीय कारोबार गर्ने अनुमति एकै संस्थाले पाउँदैनन् । अनुमति नै नपाउनेले किन ‘मर्चेण्ट बैङ्क’ भन्ने फुर्को हालेका हुन् उनै जानून् | ‘इन्भेष्टमेण्ट’ नाम राख्ने ‘श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स’ हो । अर्थ नै कसैले नबुझेको सङ्क्षिप्त रूपयुक्त नाम ‘आईसीएफसी फाइनान्स’ छ । धितोपत्र कारोबार गराउने स्टक एक्सचेञ्जको जस्तो नाम भएको ‘नेपाल शेयर मार्केटस् एण्ड फाइनान्स’ समस्याग्रस्त अवस्थामा छ । यसको केन्द्रीय कार्यालय रहेको भवनलाई ‘शेयर मार्केट कम्प्लेक्स’ भनिन्छ । धेरै व्यक्तिले यसैलाई ’शेयर मार्केट’ अर्थात् शेयर कारोबार गराउने ‘नेपाल स्टक एक्सचेञ्ज’ नै यही हो भनेर बुझ्ने गरेको पनि पाइन्छ । वास्तविक शेयर कारोबार गराउने ‘शेयर मार्केट’ भने सिंहदरबारको पश्चिम ढोकाअगाडि नेपाल दूरसञ्चार कम्पनीसँगै इच्छुमती खोलाको छेउमा रहेको कमैलाई मात्र अवगत छ ।
लघुवित्तका नाम
‘आँखाको नयनको लोचनको नेत्रमा’ भनेजस्तो सप्तरङ्गी नाम लघुवित्तको छ । बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ जारी हुनु अघि लघुवित्तको नाम वाणिज्य वा विकास बैङ्कको जस्तै पनि थिए । उदाहरणका लागि ‘निर्धन उत्थान बैङ्क ’ र ‘साना किसान विकास बैङ्क’ वाणिज्य र विकास बैङ्कको जस्तै थियो । बैङ्किङ कानूनमा संशोधन पश्चात् पनि लघुवित्तको नाममा उचित सुधार हुन सकेन । लघुवित्तले नाम पछि ‘लघुवित्त वित्तीय संस्था’ भन्ने फुर्को राख्नुपर्ने गरी ऐन संशोधन भएको छ । ऐनको संशोधन पश्चात् नाममा परिवर्तन आएको भए पनि कुनै पनि नाम मीठासयुक्त हुन सकेका छैनन् । उदाहरणका लागि थोक लघुवित्त कारोबार गर्ने साविकको ‘फर्ष्ट माइक्रोफाइनान्स डेभलपमेण्ट बैङ्क’को नाम पहिले पनि उचित खालको थिएन । किनकि ‘माइक्रोफाइनान्स’ (लघुवित्त) लेखेपछि ‘डेभलपमेण्ट बैङ्क’ (विकास बैङ्क) भन्ने अर्को फुर्को अनावश्यक थियो । यस्तै अनावश्यक फुर्को हटाउने उद्देश्यले गरिएको ऐनको संशोधनले यही कम्पनीको नामलाई ‘फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था’ राख्न अनुमति दिएर ‘झिकी दे गाँड भन्दा थपि दे गाँड’ भने जस्तो भएको छ । शुरूको नामपछि ‘लघुवित्त लिमिटेड’ मात्र राख्न लगाउनुपर्नेमा अनावश्यक फुर्कोले नामको मिठासलाई मार्ने कार्य भएको छ । उदाहरणका लागि ‘फर्ष्ट लघुवित्त लिमिटेड’जस्तै सङ्क्षिप्त नाम राख्दा हुने सरल, सहज र मिठासयुक्त उच्चारणलाई ‘लघुवित्त’ पछि थपिएको ‘वित्तीय’ र ‘संस्था’ दाँतमा ढुंगा लागेझैं हुन्छ । ‘लघुवित्त’ भनिसकेपछि ‘वित्तीय’ फुर्को आवश्यक नै छैन । कम्पनी भनेका स्वतः संस्था हुन् भन्ने जान्दाजान्दै ‘संस्था’ पनि जोड्नुपर्ने अर्को आवश्यकता नै थिएन ।
अबको बाटो
नियमन कामको मात्र होइन, नामको पनि हुनुपर्छ । स्पष्ट र एकरूपता भएको नामले मात्र त्यसको क्षेत्रगत स्वभाव जनाउँछ । थरीथरीका नामले त्यसका सेवाग्राहीलाई समेत भ्रमित बनाउँछ । धितोपत्र बोर्डबाट मर्चेण्ट बैङ्किङ गर्न अनुमति प्राप्त ‘नबिल इन्भेष्टमेण्ट बैङ्किङ’ले नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको इजाजतप्राप्त ‘नेपाल इन्भेष्टमेण्ट बैङ्क’को झल्को दिन्छ । सरकारको एकलौटी स्वामित्वको ‘राष्ट्रिय वाणिज्य बैङ्क’ र बैङ्कहरूको बैङ्क ‘नेपाल राष्ट्र बैङ्क’को नामले धेरैलाई भ्रम पारेको अनुभव पङ्क्तिकारले पनि गरेको छ । पङ्क्तिकारको कार्यालय बालुवाटारमा हुँदा ‘नेपाल राष्ट्र बैङ्क’ खोज्दै आएका व्यक्तिसँग कहिलेकहीँ जम्काभेट हुँदा ‘राष्ट्रिय बैङ्क’ कहाँ छ भनेर सोध्ने धेरै भेटेको थियो । बालुवाटार आएर ‘राष्ट्रिय वाणिज्य बैङ्क’ पक्कै खोजेको होइन, होला ‘राष्ट्र बैङ्क’ हो भनेर प्रतिप्रश्न गर्दा अलमलमा पर्थे । बालुवाटारमा ‘राष्ट्रिय वाणिज्य बैङ्क’ छैन भनेपछि बल्ल ‘राष्ट्र बैङ्क’ नै हो भन्ने बुझ्दा रहेछन् । यस्ता समस्या आउनुको कारण झण्डै झण्डै उस्तै नाम हुनु हो ।
नाममा एकरूपता हुनु जरुरी छ । सबै ‘क’ देखि ‘घ’ वर्गसम्मका वित्तीय
संस्थालाई एकै किसिमको नाम राख्न केन्द्रीय बैङ्कले निर्देशन दिनु र नाम
राख्नु अघि केन्द्रीय बैङ्कको सहमति लिनु जरुरी छ । अन्य देशमा के छ भनेर
हेर्नुभन्दा हामीले आफ्नै पद्धति बनाएर जानु आवश्यक हुन्छ । अर्काले जे गर्यो हामीले पनि त्यही गर्नुपर्छ भन्ने छैन । आफ्नोपन अर्काले कायम
गरिदिने होइन । आफ्नो मौलिकता आफ्नै जस्तो हुनुपर्छ । अक्कल विना अरूको नक्कल
गरेर धारणा बनाउँदा ब्रह्माजीले सुन्दर सृष्टि गरेँ भनेर मख्ख परेको ‘उँट’
जस्तो नहोस् । हामीले नाममा पनि नियमन गरेर क्षेत्रगत स्वभाव जनाउने
स्पष्ट र अर्थपूर्ण नाम राखेको खण्डमा अरूका लागि अनुकरणीय बन्न सक्छ ।
२०७५ कार्तिक ६ गते अभियान दैनिकमा प्रकाशित
http://www.abhiyan.com.np/?p=287322