Saturday, August 4, 2018

हराएको हकप्रद

विगत केही वर्षयता हकप्रद जारी हुने क्रम निरन्तर बढिरहेको छ । निष्कासन भएका हकप्रद जतिसुकै प्रयास गरे पनि शतप्रतिशत विक्री हुँदैनन् । अपवादका रूपमा कुनैकुनै कम्पनीको संस्थापकले धारण गरेको अंश पूर्णरूपमा बिकेको बाहेक सर्वसाधारणतर्फको भने शतप्रतिशत विक्री हुँदैन । यसरी नबिकेका दुवै (संस्थापक वा सर्वसाधारण) हकप्रदलाई लीलाम बढाबढ प्रक्रिया मार्फत तत् तत् समूहमा रहने गरी विक्री गर्नुपर्ने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ ले गरेको छ । नबिकेको हकप्रद आजकल हराउन थालेको छ । हकप्रद विक्री गर्न तोकिएको समय सकिएर लीलामीका लागि निकालिएको सूचनामा पहिले एउटा सङ्ख्या उल्लेख गरेर पछि त्योभन्दा कम देखाउन थालिएको छ । हकप्रद हराउन थालेको धेरै भइसक्दा पनि यसको खोजी हुन सकेको छैन ।

हरि महतको प्रसङ्ग
 
हकप्रद हराएको र खोज्नुपर्ने निकायले अहिलेसम्म खोज्न चासो नदेखाएका बेला केही वर्ष अघि पढेको ‘हराएका हरि महत’ भन्ने एउटा आलेखको सम्झना आयो । लेखकको नाम अहिले सम्झना नभए पनि हकप्रद हराउन थालेपछि ताजा भएको उक्त आलेखको सङ्क्षिप्तमा चर्चा गर्नु सान्दर्भिक हुन्छ । अदालतबाट कारागार प्रशासनलाई प्रेषित ‘प्र हरि महत साथ फलानालाई फलाना दिन हाजीर गराउनू’ भन्ने बेहोराको पत्र प्राप्त भएपछि हाकीमले सम्बन्धित फाँटवालाको नाममा तोक आदेश गरिदिएछन् । ‘हरि महत’ भन्ने व्यक्ति कुनै पनि अभिलेखमा उल्लेख नभएको बेहोरा फाँटवालाले जाहेर गरेपछि कारागारका हाकीम लगायत सबैको होसहवास उडेछ । १ दिन २ दिन गर्दै अदालत हाजीर गराउने दिन नजीक आइसक्दा पनि ‘हरि महत’को अत्तोपत्तो थिएन । कारागार प्रशासनले हरिलाई खोज्न कुनै ठाउँ बाँकी राखेन, कुनै पोको खुल्न बाँकी रहेन, कुनै ढड्डा रुजू गर्न बाँकी रहेन, तैपनि ‘हरि महत’ आएको अभिलेख भेटिएन । ‘हरि महत’ छैनन् भनेर जवाफ पठाउन पनि हाकीमको आँट आएन, किनकि हुँदै नभएको थुनुवा ‘हाजीर गराऊ’ भनेर अदालतले पनि पक्कै पत्राचार गरेन होला भन्दै झोक्राएर बसेका बेला अलि पाका उमेरका ‘खर्साप’ ले दोहोर्‍याएर पत्र हेरेपछि ‘पत्रमा हरि महतको कुरै छैन’ भन्दै 'प्र' र 'हरि' एकै डिकोमा लेख्नुपर्नेमा छुट्टाछुट्टै लेख्दा ‘प्र’ भनेको प्रतिवादी बुझियो, ‘हरि’ नाम बन्यो र ‘मद्दत’ लेख्दा ‘द’ मा अर्को ‘द’ जोड्दा ‘ह’ जस्तो भएर ‘प्रतिवादी हरि महतसाथ’ भन्ने अर्थ लागेको भेद खोलिदिएपछि हराएका ‘हरि महत’ भेटिएका थिए ।

कति हरायो ?

हरि महत पत्ता लागे पनि हराएको हकप्रद भने अहिलेसम्म कसैले पनि खोज्ने चेष्टा गरेको गरेको छैन । पछिल्लो समयमा के कति हकप्रद हराएका छन् त्यसबारे तालिकामा उल्लेख गरिएको छ ।

हराएको हकप्रद सम्बन्धि विवरण
कम्पनी
हराएको कित्ता
बिक्री प्रवन्धक
प्रभू बैंक
९५,०२२
प्रभू क्यापिटल
नेको इन्सुरेन्स
७,३२०
एनएमबी क्यापिटल
फ्रष्ट माइक्रोफाइनान्स
२५०
ग्लोबल आईएमई क्यापिटल
सिद्धार्थ बैंक
२६४
सिद्धार्थ क्यापिटल
लुम्बिनी विकास बैंक
९१
भिबोर क्यापिटल
जम्मा
१,०२,९४७

   
स्रोत : विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचार
 

यस अघि पनि कृषि र नेपाल बङ्गलादेश बैङ्कको नबिकेको हकप्रद अधिक भएको प्रारम्भिक जानकारी गराइए पनि लीलामी गर्ने बेला झण्डै त्यसको आधा मात्रको लीलामी गराइएको थियो । यी दुवै कम्पनीको लीलामी प्रक्रियाको सन्दर्भमा खोजी गर्नुपर्ने दायित्व लिनुपर्ने निकायले लिएन । त्यस्तै, मुक्तिनाथ बैङ्कको पनि हकप्रद हराएको थियो ।

हकप्रद खोज्ने खर्साप
 
माथिको अनुच्छेदमा हराएका हरिलाई खर्सापले खोजेर निकाले तर हकप्रद खोज्नुपर्ने खर्साप धितोपत्र बोर्ड हो । तर, बोर्डले भने यसबारे कुनै पहल गरेको सुन्नमा आएको छैन । हराएको भनिएको हकप्रदको सन्दर्भमा सरोकारवालाले प्रश्न उठाउँदा बाँडफाँट भइसकेपछि सम्बन्धित धारक आएर दाबी गरेकाले दाबीकर्तालाई बोर्डकै स्वीकृतिमा बाँडफाँट गरिएको विक्री प्रबन्धले बताएका छन् । तर, यथार्थ के हो भने आवेदन दिने अन्तिम दिन केही मिनेट ढिलो पुग्दा समेत हकवालालाई ढोकैबाट फिर्ता पठाएको दृष्टान्त जति खोजे पनि पाइन्छ । यस हिसाबले विक्री प्रबन्धकले गरेको दाबी खण्डित हुन्छ । यदि यस्तो हो भने ३५ दिन र म्याद थप गर्ने प्रावधान किन राखिरहनुपर्यो ? अदालती प्रक्रियामा पक्षले म्याद गुजारेमा गुज्रेको म्याद थाम्न पाउने व्यवस्था गरिएको हुन्छ र थामिन्छ तर, हदम्याद नै गुज्रेमा केही विशेष अवस्थामा बाहेक थामिन्न । स्मरण रहोस्, हदम्याद भनेको मुद्दा गर्नुपर्ने कारण उठेको समयबाट कति समयसम्म दाबी गर्ने भन्ने प्रसङ्ग हो भने म्याद भनेको मुद्दा दर्ता भइसकेपछि मुद्दाको कारबाही प्रक्रिया अघि बढाउँदा पक्ष हाजीर हुन तोकिएको समय हो । कानूनमा व्यवस्था भए बमोजिम निश्चित समय र निश्चित पटकसम्म म्याद थाम्न पाइन्छ, त्यसपछि भने पाइन्न । हकप्रद आवेदन गर्ने सम्बन्धमा ३५ र थपिएको थप दिनभित्र आवेदन नदिएमा हदम्याद नाघे जस्तै अवस्था हो । ३५ दिन (थपिएमा थपसमेत) को समयावधि दिई आवेदन दिन आह्वान गरिसकेपछि पनि धारक उपस्थित भएर वा तोकिएको अन्य विधिबाट आवेदन गर्दैन भने त्यस्ता धारकको हक सुरक्षित राखिरहनुपर्ने आवश्यकता विक्री प्रबन्धक र बोर्डलाई किन पर्यो ? हकप्रद आवेदन गर्न तोकिएको अन्तिम दिन कार्यालय समयभन्दा केही ढिला पुग्नेको हकचाहिँ सुरक्षित नहुने अनि बाँडफाँट भएपछि पुग्नेको चाहिँ हक सुरक्षित हुने कस्तो अचम्मको नीति ?

हकप्रद हराउने छिद्र
 
हकप्रद हराउन बाटो खोलिदिने अरू कोही नभएर स्वयम् बोर्ड हो । हकप्रद भनेको धारकको हक लाग्ने सम्पत्ति हो । धारकले आफ्नो सम्पत्ति अरूलाई किन हस्तान्तरण गर्छ ? गरे पनि आफ्नै हकवालालाई पो गर्छ । तर, धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ ले जसलाई पनि हक हस्तान्तरण गर्न मिल्ने गरी ढोका खोलिदिएकाले हकप्रद भित्रभित्रै हराउन मद्दत पुगेको छ । यसरी हक हस्तान्तरण गर्न पाउने गरी खोलिदिएको छिद्र नै हकप्रद हराउने मूल ढोका बनेको छ । उक्त व्यवस्था राख्नुको उद्देश्य नै गैर-कानूनी हस्तान्तरणलाई प्रवद्र्धन गर्न खोजिएको हो । हकवालाले आफ्नै हकवाला बाहेक अरूलाई हस्तान्तरण गर्न नपाउनेसम्म व्यवस्था गरिदिएको भए पनि यसरी हकप्रद हराउने थिएन । तर, यही व्यवस्थाको फाइदा लिन अन्तिम दिन केही मिनेट ढिलो पुग्दा समेत आवेदन गर्न नदिएर पठाउने गरेका छन् । कम्पनीले गैर-व्यवसायिक लाभ लिन र विक्री प्रबन्धक र कम्पनी समेतले भित्रभित्रै हक हस्तान्तरण गराउन आफ्नै शेयरधनीलाई हकबाट वञ्चित गराएको गुनासो बोर्डमा कैयौंपटक पुग्दा समेत सुनुवाइ नभएका उदाहरण छन् । वोर्डले हक हस्तान्तरण कम्पनी र विक्री प्रबन्धक दुवैका लागि सजिलो बनाएको तथ्य चाल पाएर पनि यो विशेष मौका दिएको हो, सक्दो सदुपयोग (दुरुपयोग) गर भनेर खुलेआम छोडिदिएको सहजै अनुमान गर्न सकिन्छ । पूँजीबजारको एउटा वित्तीय उपकरण यति दुरुपयोग हुँदासमेत तालुकी अड्डा निद्रामा रहनुले यसको लाभ कम्पनी र विक्री प्रबन्धकले मात्र पाइरहेको देख्न सकिने आधार प्रशस्त छ ।

अन्त्यमा, हकप्रदमा विकृति आउनुको मुख्य कारण यससम्बन्धी छुट्टै कानून नहुनु हो । गैर-व्यवसायिक लाभको उद्देश्य र हक हस्तान्तरण भन्ने छिद्र राखिरहेसम्म हकप्रद हराउन छाड्दैन । हकवालालाई थप कित्ता आवेदन गर्न दिने र यति गर्दा पनि नबिकेमा प्रत्याभूत गराउने व्यवस्थासहितको हकप्रदसम्बन्धी कानुन नबनाएसम्म हकप्रद हराउन छाड्दैन ।

अभियान दैनिकमा २०७५ श्रावण १४ छापिएको यो लेखमा छपाईको क्रममा केहि सामान्य त्रुटी भएको थियो टि त्रुटी यसमा सच्च्याइएको छ | 

http://www.abhiyan.com.np/?p=264272

No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...