Friday, July 6, 2018

लाभकर र कारोबार करको तुलना

आर्थिक वर्ष (आव) २०७५/७६ को बजेट वक्तव्यले बासिन्दा व्यक्तिलाई शेयर कारोबारमा लाग्ने पूँजीगत लाभकरको दर ५ प्रतिशत रहेकोमा ७ दशमलव ५ प्रतिशत पुर्‍यायो । राज्यले करको दर बढाउनु र घटाउनु सामान्य नै भए पनि कर प्रशासनले हकप्रद र बोनस शेयरको आधार मूल्य गणना गर्दा अङ्कित मूल्यलाई आधार मानी कर गणना गर्नु भनी धितोपत्र बोर्ड, स्टक एक्सचेञ्ज र सीडीएसलाई गरेको पत्राचारले शेयर कारोबार नै ठप्प भएको थियो ।

प्रचलित आधार मूल्य
 
प्रचलनमा शेयर प्राप्त भएको आधारमा आधार मूल्य फरकफरक हुने गरेको छ । प्राथमिक बजारबाट किनिएको शेयरको १ सय (प्रिमियम थपिएको हकमा परल र प्रिमियमको योग), बजारबाट खरीद गरिएको शेयरको सोही खरीद मूल्य, हकप्रद वा बोनसबाट प्राप्त भएको शेयरको अर्थमन्त्रालयले दिएको सूत्रअनुसार नेप्सेले बूक क्लोजपश्चात् आधार मूल्य सार्वजनिक गर्छ । उदाहरणका लागि कुनै कम्पनीले पहिलोपटक ३० प्रतिशत बोनस वा हकप्रद शेयर जारी गर्दा ५ सयमा बूक क्लोज भएमा आधार मूल्य कसरी गणना गरिन्छ तालिकामा देखाइएको छ ।हकप्रद र बोनसको समायोजन र आधार मूल्य

 

बुक क्लोज मूल्य

हकप्रद वा बोनस (प्रतिशत)

समायोजन मूल्य

आधार मूल्य (अगिल्लो पटकको आधार मूल्य र समायोजन मूल्यलाई दुइले भाग गर्ने)

हकप्रद

बोनस

हकप्रद

बोनस

५००

३०

४०८

३८५

१००+४०८=५०८/२=२५४

१००+३८५=४८५/२=२४३

 

अवैज्ञानिक लाभकर गणना
 
लाभकर गणनाका लागि अपनाइएको विधि उपयुक्त र वैज्ञानिक छैन । बूक क्लोज हुने दिनको अन्तिम मूल्यमा हकप्रद वा बोनस शेयरको मूल्य समायोजन हुने गर्छ । तर, कारोबार भने त्यो भन्दा तल वा माथिको मूल्यमा पनि भएको हुन्छ । यस हिसाबले हरेक व्यक्तिका लागि समायोजित मूल्य फरक-फरक हुनसक्छ । तालिकाकै उदाहरणमा बूक क्लोज ५ सयमा भएको भए पनि कारोबार ७ सय वा ३ सयमा पनि भएको हुन्छ । ५ सयभन्दा तलको मूल्यमा लिनेका लागि फाइदा हुन सक्छ भने त्योभन्दा माथिको मूल्यमा लिनेलाई समायोजन पश्चात् घाटा हुन्छ । तालिकाकै उदाहरणमा हेरौं, ६ सयमा किन्नेका लागि बोनस पश्चात्को लागत मूल्य ४ सय ६२ परेको हुन्छ । तर, प्राप्त भएको बोनस शेयर ४ सयमा विक्री गर्दा आधार मूल्य अनुसार १ सय ५७ नाफा भएको हिसाब गरेर लाभकर लिइन्छ । यहीँनेर यो गणना विधि अमिल्दो र घाटामा कर तिराइरहेको छ ।

भारित औसत
 
वर्तमान आधार मूल्य गणना गलत हुँदाहुँदै कर प्रशासनले ‘लाश माथि कात्रो’ भनेझैं लागत मूल्य १ सयलाई आधार मानेर कर गणना गर्नु भन्ने परिपत्र गरेपश्चात् शेयर करोबार नै ठप्प भयो । पछि उपयुक्त विधि सुझाव दिन सरकारले समिति गठन गरेको थियो । घुमाउरो पाराले सरकार कारोबार करतर्फ जान लागेको देखिएको छ र यसका लागि यससम्बन्धी तुलनात्मक अध्ययन गरिएको तथ्याङ्क सहितको प्रस्ताव खोजिरहेको जस्तो देखिएको छ । यद्यपि सरकारसँग यस्तो अध्ययन नभएको वा नहुने भने होइन । आफै प्रस्ताव गर्नुभन्दा कार्यदलमा रहेका बोर्ड, नेप्से, सीडीएस वा सकेसम्म लगानीकर्ताबाट आमन्त्रित सदस्यबाट यस्तो प्रस्ताव आए हुन्थ्यो भन्ने मनसायमा रहेको देख्न सकिन्छ । समितिमा शेयर प्राप्त भएका आधारमा सबै शेयरको औसत मूल्य भन्दा बढीमा विक्री हुँदा त्यसभन्दा माथिको मूल्यमा लाभकर लगाउन सुझाव दिएको पनि पाइएको छ । कतिपयले भने यस्तो औसत मूल्यमा हरेक वर्षको मुद्रास्फीति दर अनुसार लागत मूल्य थप्दै लैजान सल्लाह पनि दिइरहेका छन् । तर, स्वचालित विद्युतीय कारोबार शुरू भएपछि यी दुवै विधि सरल र सहज भने हुन सक्दैन । यसको विकल्प र अधिकांश देशले अपनाएको कारोबार कर नै उपयुक्त हुन सक्छ । कारोबार र लाभकर लगाउँदा के कस्तो देखिएला तालिकामा प्रस्तुत गरिएको छ ।लाभ र कारोबार कर लागु हुँदाको तुलनात्मक स्थिति

 

साल

कारोबार रकम (अरवमा)

लाभकर (करोडमा)

०.१५ प्रतिशत कारोबार कर (अनुमानित रकम करोडमा)

कारोबार संख्या

२०६४/६५

२२.८२

८७.४५

३४.२३

 १,५०,८००

२०६५/६६

२१.६८

९३.११

३२.५२

२,०९,०९१

२०६६/६७

११.८५

२६.३४

१७.७७

२,१३,७३३

२०६७/६८

६.६६

६५.९७

९.९९

३,०२,३६४

२०६८/६९

१०.२७

६८.६५

१५.४०

२,९३,४८९

२०६९/७०

२२.०४

१६.७९

३३.०६

२,९२,३६६

२०७०/७१

७७.२९

१००

११५.९३

५,६६,३८९

२०७१/७२

६५.३३

८१.५३

९७.९९

४,७७,२७८

२०७२/७३

१६४.६५

१३९.८९

२४६.९७

८,३८,९८७

२०७३/७४

२०५.०२

१४५.२४

३०७.७३

१३,५६,५१५

जम्मा

६०७.६१

८२४.९७

९११.५९

 

        तथ्याँक स्रोत: नेप्सेको वेवसाइट र नेप्सेले प्रकाशन गरेको स्मारिका २०७५ 


लाभ र कारोबार करको तुलना
 
विगत १० वर्षमा लाभकरबाट ८ अर्ब २४ करोड ९७ लाख रुपैयाँ सङ्कलन भएको देखिन्छ । तर, यही रकममा शून्य दशमलव १५ प्रतिशतमात्र कारोबार कर लगाइएको भए कर सङ्कलन ११ प्रतिशत भन्दा बढी हुने देखिन्छ । यसमा २५ प्रतिशत मात्र कारोबार बढ्ने अनुमान गर्ने हो भने कारोबार रकम ७ खर्ब ६० अर्बभन्दा बढी हुने अनुमान गर्न सकिन्छ । यसबाट थप १ अर्बभन्दा बढी कर सङ्कलन गर्न सकिन्थ्यो । कुल कर रकम ११ अर्बभन्दा बढी हुने अनुमान गर्न सकिन्छ । सरल, सहज र गणनाको हिसाबले पनि यस्तो कर प्रणाली उपयुक्त हुने मात्र होइन, सरकारले प्राप्त गर्ने कर रकममा नसोचेको वृद्धि हुने देखिन्छ । यस्तो कर खरीद–विक्री दुवैमा लगाइन्छ । तर, शुरूमा विक्रीमा मात्र लगाउन सकिन्छ । कारोबारको दायरा बढ्दै गएपछि यसलाई दुवैतर्फ शून्य दशमलव १ प्रतिशत लगाउन पनि सकिन्छ । यस्तो कर प्रणाली बासिन्दा व्यक्ति र निकाय दुवैलाई लगाउन सकिन्छ । व्यक्तिको हकमा यसलाई अन्तिम मान्नुपर्छ । कारोबार बढ्दै जाँदा दलाल कमिशन दर क्रमशः अहिलेको ५० प्रतिशत कम गर्दा पनि पर्याप्त हुन्छ । साथसाथै दलालको कार्यक्षेत्र विस्तार गर्नुपर्छ । कारोबार रकम बढ्दै जाँदा सीडीएस र नेप्सेको पनि आम्दानी बढ्ने हुँदा समग्रमा सरकारले पूँजीबजारबाट अधिक कर प्राप्त गर्न सक्छ । अहिले अधिकांश देशले कारोबार कर प्रणाली अवलम्बन गरेको देख्न सकिन्छ । लाभकर लिइरहेको ताइवानले समेत कारोबार कर प्रणाली अवलम्बन गरेको छ । शुरूमा शून्य दशमलव ३ प्रतिशत लगाएकोमा अहिले त्यसलाई घटाएर शून्य दशमलव १५ प्रतिशतमा झारेको दृष्टान्त भेटिन्छ ।

करको वैदिक पक्ष
 
कर नागरिकले तिर्ने अनिवार्य योगदान हो । ऐतरेय ब्राह्मणले ‘राष्ट्राणि वै विशः’ अर्थात् नागरिकले राष्ट्र बनाउँछन् भनेको छ । यजुर्वेदमा ‘विशि राजा प्रतिष्ठित’ अर्थात् राजा (राज्य) को स्थिति नागरिकमा निर्भर हुन्छ भनिएको छ । अथर्व वेदले ‘ध्रुवाय ते समितिः कल्पतामिह’ भनेर राजाको स्थिति लोकसम्मतिमा निर्भर हुने हुँदा ‘कन्चटमा बन्दुक तेर्स्याएर’ कर लगाउन नहुने बताएको छ । शतपथले ‘विशा वा क्षत्रियो बलवान् भवति’ भन्दै जनशक्तिले मात्र राजा शक्तिशाली हुने बताएका छन् । जैन धर्मका विद्वान् मेरुतुङ्गाचार्यले ‘अकरात् कुरुते कोषम् अवधा देशरक्षणम्’ अर्थात् बुद्धिमान मन्त्री (राजा) त्यो हो जसले कर नलगाईकन राज्यको कोष वृद्धि गर्छ भनेका छन् ।

अन्त्यमा, मगधका नन्दवंशी राजा धननन्दले शवदाह गर्ने दाउरामा समेत कर लगाउन खोज्दा चाणक्यले उनलाई सत्ताच्युत गरेर मौर्यवंशी चन्द्रगुप्तलाई राजा बनाएको प्राचीन घटनालाई बिर्सनु हुन्न । राज्यले कर लगाउँदा नागरिकले सहन गर्नसक्ने हदसम्म लगाउनुपर्छ । शासक वा सीमित वर्ग पाल्नका लागि असीमित करको भार बोकाउनु लोक कल्याणकारी राज्य हुन सक्दैन । देशमा विज्ञ अर्थमन्त्री भएका बेला प्रणाली विकास गराएर पूँजीबजारलाई संस्थागत विकास गर्नेतर्फ लैजानु आवश्यक छ ।

अभियान दैनिकमा२०७५ जेष्ठ १७ गते प्रकाशित 
http://www.abhiyan.com.np/2018/07/02/251954

No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...