Wednesday, March 18, 2020

कम्पनी ऐन संशोधन : रजिष्ट्रारको पुनर्संरचना अधुरै


कम्पनी ऐन २०६३ (पहिलो संशोधन २०७३) को एउटा व्यवस्थाले मूलतः सूचीकृत कम्पनीलाई संचालक समितिको चुनाव गर्न कठिनाईको परिरहेको छ । यही कारण साधारणसभा समेत बस्न समेत कठिनाइ परेको दृष्टान्त धेरै छ । यसले शेयरधनीलाई संचालक हुन् बार्गेनगर्न सजिलो समेत बनायो भने कतिपयले यही बहानामा मुद्दा हाल्न लगाएर संचालक समिति निर्वाचन नगरी बस्न समेत मद्दत पुर्यायो तर, समग्रमा भने कम्पनी संचालनमा बाधा नै बढी दियो । प्रस्तावित दोस्रो संशोधन मस्यौदाले पनि यस व्यवस्थालाई घुमाउरो पाराले समर्थन नै गरेको छ । यसपटक मस्यौदामा अन्य थप नयाँ विषय पनि परेका छन् ।

संशोधनका विषयवस्तुहरु

संशोधनमा कुल ९३ वटा बुँदा छन् । मस्यौदामा (१) परिभाषा खण्डवाट प्रवन्धपत्रहटाएर नियमावलीमा गाभिएको, (२) मुनाफा वितरण नगर्ने कम्पनीले मुनाफा वितरण नगर्ने कम्पनी लेख्नुपर्ने, (३) विशेष कानुनले तोकेको अवस्थामा बाहेक पब्लिक कम्पनीको चुक्ता पूँजी ५ करोड रुपैयाँ हुनुपर्ने, (४) धितोपत्रको खरिदबिक्री गर्ने वा लगानी मात्र गर्ने मूल उद्देश्य भएका कम्पनी पनि पब्लिकमा दर्ता हुनुपर्ने, (५) झुटा विवरणपत्रमा जानीजानी सहीछाप गर्ने संचालकलाई तत्काल काम गर्न रोक लगाउन सक्ने, (६) पब्लिक कम्पनीले सर्वसाधारणलाई शेयर जारी नगरेसम्म लाभांस (नगद वा बोनस शेयर) जारी गर्न नसक्ने, (७) धितोपत्रको प्राइभेट प्लेसमेन्ट (हस्तान्तरण) सम्बन्धि व्यवस्था, (८) शेयर प्रमाणपत्र भौतिक, अभौतिक (डिजिटल) वा जुनसुकै स्वरुपमा हुनसक्ने, (९) विद्युत उत्पादन वा प्रसारण, सुरुङ्गमार्ग, द्रूतमार्ग, केबुलकार जस्ता पूर्वाधार संरचना वा सेवा संचालन गर्ने पब्लिक कम्पनीले साधारण शेयरमा परिणत हुनसक्ने डिवेञ्चर जारी गर्नसक्ने र निर्धारित अवधि वा कम्पनीले व्यापारिक कारोबार प्रारम्भ गरेको ५ वर्षमध्ये जुन पहिले हुन्छ सो अवधिभित्र साधारण शेयरमा परिणत गर्नुपर्ने, (१०) नेपालमा दर्ता वा संस्थापना भएको कम्पनीको शेयरमा रहेको कुनै व्यक्ति, कम्पनीको शेयर स्वामित्व कुनै किसिमले नेपालभित्र वा वाहिर जहाँसुकै कारोबार गरेको वा भएकोमा नेपालमा नै भएको मानिने, (११) लेखापरीक्षकले लेखापरीक्षण प्रतिवेदनमा कुनै आर्थिक बेरुजु ठहर गरी कैफियत सहितको राय (क्वालिफाइड ओपिनियन) दिएको रहेछ भने त्यस्तो बेरुजु भएको रकम बराबरको रकम छुट्याएपछि मात्र बाँकी रकमबाट लाभांस प्रस्ताव गर्नुपर्ने र परित्यागको प्रतिवेदन (डिस्क्लेमर रिपोर्ट) दिएको वा लाभांश वितरण गर्न नहुने गरी कारणसहित राय र निष्कर्ष दिएको रहेछ भने त्यस्तो कम्पनीले लाभांश घोषणा गर्न नसक्ने, (१२) महिला शेयरधनी रहेको भन्ने शब्दहरु झिकिएको, (१३) संचालक हुन लिनुपर्ने शेयरसंख्या नियमावलीमा तोक्नुपर्ने (हाल नियमावलीमा नतोकिए कम्तिमा १ सय कित्ता शेयर लिएको हुनुपर्ने भन्ने व्यवस्था), (१४) संचालक पहिचान नम्बरको व्यवस्था, (१५) बीस लाख रुपैयाँसम्म बार्षिक कारोबार वा पचास लाख रुपैयाँसम्म जायजेथा वा दायित्व भएको कम्पनीले लेखापरीक्षक नियुक्ति गर्न नपर्ने, (१६) कुनै सञ्चालक वा पदाधिकारीले आफ्नो अधिकारक्षेत्र नाघी कम्पनीको तर्फबाट कुनै काम गरेमा सो उपर रोक लगाउन रजिष्ट्रारसमक्ष निवेदन दिनसक्ने (हाल अदालतमा), (१७) कार्यालय (रजिष्ट्रार) ले गरेको निर्णय वा आदेश भए अदालतमा र अदालतले गरेको निर्णय वा आदेश भए सर्वोच्च अदालतमा पुनरावेदन गर्न सकिने, (१८) प्राइभेट कम्पनी मुनाफा वितरण नगर्ने कम्पनीमा परिणत हुनसक्ने, (१९) सम्वद्ध कम्पनी बीचको कारोबारलाइ अझ प्रष्ट पार्दै कुनै कम्पनीको चुक्ता पूँजीको बीस प्रतिशत वा सोभन्दा बढी पूर्ण मताधिकार भएको साधारण शेयर लिएको कम्पनीलाई मुख्य कम्पनी र जुन कम्पनीको त्यस्तो शेयर लिएको हो त्यस्तो कम्पनीलाई सहायक कम्पनी मानिने भन्ने व्यवस्था गरेको छ ।

कम्पनी र कम्पनी कानुनको सारांश

नेपालमा मल्लकालीन राजा जयस्थिति मल्लले बिक्रम सम्बत १४३६ लेखाएको मानव न्यायशास्त्रमा कम्पनी नै नभनिएको तर, स्वरुप भने अहिलेको कम्पनी जस्तै संस्थाको उल्लेख भेटिन्छ । राज्यको उत्पत्तिदेखि नै कुनै न कुनै रुपमा व्यवसायिक गतिविधि हुने गरेको हुँदा मल्लकालभन्दा अगाडी पनि यस्तो अभ्यास भएको हुनसक्ने भएको हुँदा प्राज्ञिक संस्था र विश्वविद्यालयका लागि वृहत खोजीको विषय हो । बि.सं. १९९३ सालमा श्री ३ महाराज जुद्ध शम्सेरको पालामा औद्योगिक बिकासमा नयाँ आयाम शुरु गर्न कम्पनी कानुन जारी भएको पाइन्छ । त्यसपछि बि.सं. २०२१ सालमा कम्पनी ऐन बनेको पाइन्छ । २००४, र २००७ साल पनि कम्पनी सम्बन्धि कानुन बनेको भन्ने पनि पाइन्छ । २०२१ सालमा बनेको कम्पनी ऐनलाई कम्पनी ऐन २०५३ ले खारेज गर्यो । त्यसपछि कम्पनी अध्यादेश २०६२ हुँदै कम्पनी ऐन २०६३ (पहिलो संशोधन २०७३) लागु छ । अहिले पछिल्लोपटक यसमा पनि दोस्रो संशोधनको प्रस्ताव गरिएको छ ।

विभाग बनेको रजिष्ट्रार

२०४९ सालमा स्थापना गरिएको कम्पनी रजिष्ट्रार कार्यालयलाई विभाग नभने पनि यसलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत राखेर विभागीय स्वरूप दिईएको छ । रजिष्ट्रार स्थापना हुनु अघि कम्पनी प्रशासन सम्वन्धी सम्पूर्ण कार्य उद्योग विभाग, बाणिज्य विभाग, घरेलु तथा साना उद्योग विभाग, कृषि विभाग लगायतका तत् तत् क्षेत्रका विभागवाट सम्पादित हुँदै आएको थियो । कम्पनी ऐनको प्रयोग तथा पालनामा एकरुपता ल्याउने उद्देश्यबाट सबै प्रकारका कम्पनी प्रशासनसम्वन्धी काम कारवाहीहरु समान र एकै किसिमले एउटै निकायबाट सम्पादन गर्न यस कार्यालयको स्थापना भएको हो ।

आवश्यकता कम्पनी मन्त्रालय

रजिष्ट्रार कार्यालयलाई अहिलेको स्वरुपमा राख्न मिल्दैन भन्ने बहस धेरै चलिसके पनि यसलाई के गर्ने भन्ने सम्बन्धमा भने कुनै उपलब्धि हुनसकेको छैन । सर्वोच्च अदालतले समेत कुनै एक मुद्दामा यसलाई कानुन मनत्रालय अन्तर्गत राख्न निर्देशन दिएको थियो । रजिष्ट्रारलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्ने पनि सुझाव आएको थियो । जसले जता राख्नु भने पनि अहिलेसम्म यो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अघोषित विभागकै रुपमा रहिरहेको छ । प्रस्तावित दोस्रो संशोधन प्रस्तावले पनि यसलाई कता राख्ने भन्ने निर्क्योल दिन सकेको छैन । भारतमा कम्पनी मन्त्रालय छुट्टै छ । यसले मूलतः कम्पनी ऐन, सिमित दायित्वयुक्त साझेदारी ऐन, प्रतिष्पर्धा ऐन अन्तर्गतका कार्य गर्छ । त्यस्तै, इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्टस् इण्डिया, इन्स्टिच्युट अफ कम्पनी सेक्रेटरीज अफ इन्डिया र इन्स्टिच्युट अफ कष्ट एकाउन्टेन्टस् अफ इन्डिया जस्ता पेशागत संगठनको पनि सुपरीवेक्षण गर्छ । यसबाहेक नेशनल कम्पनी ल ट्राइबुनलको पनि तालुकी निकायको रुपमा रहेको छ ।

संशोधनमा नसमेटिएका बुँदा

प्रस्तावित संशोधनले अझ पनि जल्दाबल्दा विषयलाई समेट्न सकेको छैन । केही सुझावहरु (१) निश्चितभन्दा बढी पूँजी भएका प्राइभेट कम्पनीलाई ओटीसी (ओभर द काउन्टर) मा सूचीकरण गराउने, (२) कम्पनीले पेश गर्ने वार्षिक लगायतका विवरणलाई विद्युतीयरुपमा नै अभिलेख हुने व्यवस्था मिलाउने, (३) व्यवसायिक संस्थामा यो लिंग र त्यो लिंग हुनुपर्ने भन्ने व्यवस्थाले कम्पनीको विकास हैन, बाधक हुने हुँदा यस्ता व्यवस्था नराख्ने, (४) कम्पनीको नियमावलीको सट्टा कम्पनीको विधान शब्द उपयुक्त हुनसक्छ, (५) कम्पनी सम्बन्धि मुद्दामामिला हेर्न कम्पनी न्यायधिकरणको व्यवस्था गर्ने, (६) कम्पनी सचिव सम्बन्धि व्यवस्थालाई विस्तृत पार्ने जस्ता विषयको अभाव देखिएको छ ।

अन्तिममा, कम्पनीको बढ्दो दायरा र कार्यक्षेत्रलाई मध्यनजर गरी एउटा मन्त्रालयको विभागको रुपमा राखेर यसको सर्वाङ्गीण विकास र विस्तार हुन् नसक्ने हुँदा शीघ कम्पनी व्यवस्था मन्त्रालयको गठन हुनु नितान्त जरुरी छ ।


२८ माघ २०७६, आर्थिक अभियान दैनिक 

धितोपत्र बोर्डका अध्यक्ष : निवर्तमानको समीक्षा वर्तमानको अपेक्षा


नेपाल धितोपत्र बोर्डले नयाँ अध्यक्षको रुपमा भिष्मराज ढुङ्गानालाई पाएको छ । निवर्तमान अध्यक्षको कार्यकाल नसकिंदै ढुङ्गानालाई सम्भावित अध्यक्षको रुपमा हेरिएको थियो । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएपछि ढुङ्गाना बोर्डमा विज्ञ संचालक बनेर भित्रिनासाथ उनलाई भावी अध्यक्षको रुपमा हेरिएको हो । बोर्ड अध्यक्ष भएपछि ढुङ्गानाले दिएका अभिव्यक्ति हेर्दा आगामी ४ वर्षमा नेपालको धितोपत्र बजारले नयाँ उचाई लिनसक्नेमा आशावादी हुन सकिन्छ । यसका लागि अध्यक्ष ढुङ्गानाले गर्नुपर्ने धेरै कामहरु मध्ये केही काम सूचीवद्ध गरिएको छ, जुन ढुङ्गानाका लागि सामान्य मार्गदर्शन हुनसक्छ ।

अध्यक्षको सारांश

बिक्रम सम्बत २०५० साल जेठ २५ गते गठन भएको बोर्डले २७ वर्ष पूरा गर्न लाग्दा ढुङ्गानालाई सातौं अध्यक्षको रुपमा पाएको छ । २६ वर्षमा ६ जना अध्यक्ष भएर विदा भए । यी ६ जनामध्ये डा. ढुङ्गेल र डा. नेपाल (चिरन्जीवी) सबैभन्दा धेरै र थोरै क्रमशः १० वर्ष र १५ महिना अध्यक्ष बने । कार्यकाल थोरै भए पनि डा. नेपाल (चिरन्जीवी) को पालामा धितोपत्र बजार केही व्यवस्थित हुनमा मद्दत पुगेको मानिन्छ । बोर्डका कतिपय अध्यक्षलाई अदक्षपनि भनेर ‘समीक्षा र सम्बोधन’ गरिएको पाइन्छ ।
 बोर्डका अध्यक्षहरु
क्र.सं.
अध्यक्ष
कार्यकाल
देखि
सम्म
डा. डम्बरप्रसाद ढुंगेल
२०५० जेठ २५
२०६० भदौ १४
दीपकराज काफ्ले
२०६० भदौ १५
२०६४ भदौ १०
डा. चिरन्जीवी नेपाल
२०६४ भदौ ११
२०६५ मंगसिर ११
डा. शुरवीर पौडेल
२०६५ पुष ९
२०६८ भदौ १०
बाबुराम श्रेष्ठ
२०६८ असोज ३०
२०७२ असोज २९
डा. रेवतबहादुर कार्की
२०७२ कात्तिक १
२०७६ असोज ३०

निवर्तमानको समीक्षा

निवर्तमान अध्यक्ष कार्की नेपाल राष्ट्र बैंकबाट अवकाश पाएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यकारी प्रमुख हुँदै बोर्ड आइपुगेका हुन् । नेप्सेमा कार्कीको आगमन विशेष भयो ।चिच्याएर भाउ लगाउँदैहुने शेयरकारोबारले दलालको कार्यालयमा स्थानान्तर हुने अवसरसँगै अनलाइन कारोबारको जग बस्यो । त्यसैको परिणामस्वरूप अहिले आफैँले खरिद र बिक्री आदेश हाल्न मिल्ने अनलाइन आएको छ । नेप्सेमा हुँदा कार्कीले जे जति कार्य गरेर शेयरबजारलाई गुणलगाए त्यही गुणबोर्डमा आएर लाउन सकेनन् । यसो हुनुमा कार्कीमा केही हदसम्म राजनीतिक पूर्वाग्रह देखिनु पनि एक हो । बोर्ड आगमनदेखि नै दलालप्रति तीव्र रोष प्रकट गर्दै आइरहेका कार्की कार्यकालको अन्तिमतिर संसदको अर्थ समितिमा दलाललाई सक्षम, सुशासित र पारदर्शीनभएको बताएर आफैँ उदांगिए । शेयरबजारको प्राथमिक अंग दलाल प्रणालीलाई संस्थागतरूपमा शसक्त ढंगले विस्तारित गरेर अझ बढी गुण लगाउनुपर्नेमा गालीगलौजमा उत्रिए । आफू मातहतका शेयरबजार सम्वद्ध निकाय (दलाल, स्टक, केन्द्रीय निक्षेपक आदि) प्रति त पूर्वाग्रही देखिए-देखिए कुनै दलीय टाँचा नलागेका लगानीकर्ताप्रति पनि पूर्वाग्रह राखेर दलीय स्वभाव पनि राम्रैसँग देखाउन भ्याए । वित्तीय क्षेत्रको नियमन निकायमा रहेको व्यक्ति तटस्थ हुनुपर्छ भन्ने मान्यतालाई विर्सेर पत्रपत्रिकामा ‘सल्लाहकारी’ लेख छाप्न पनि भ्याए ।

शेयरबजारमा खपत हुने सूचना बैंकले बढी उत्पादन गर्छन र यिनै बैंकको सर्वाधिक शेयर सूचीकरणमा छ भन्ने जानेर पनि उही बैंकलाई ‘दलाल अनुमति’ दिन्छु भन्दै बारम्बार बोलेर लगानीकर्तालाइ रनभुल्लमा पारिरहे । माग भयो भन्दैमा दिन हुने-नहुने बिषयमा अध्ययन गरेर मात्र दिन सकिने वा नसकिने निर्णय गर्नुपर्नेमा ‘बातैपिच्छे’ बैंकलाई दलाल दिन्छु भन्ने रटान लगाउन बिर्सेनन । दलाल अनुमति दिनैहुन्न भन्ने पनि हैन तर, ‘कार्यविशिष्टीकरण’ को सिद्धान्तलाई स्वीकार गर्ने हो भने व्यापारको प्रकृति अनुसार स्थापित संस्थाकै क्षमता अभिवृद्धि गर्नुपर्छ । बैंक-बैंक भनेर चिच्याउनुको सट्टा फुल सर्भिस र डिस्काउन्ट दलालको अवधारणा विकास गर्न लागेनन् । संसार बहुबाट एकल स्टक एक्सचेन्जमा गईरहेको बेला भएको एक्सचेन्जको पुनसंरचना कसरी गर्ने भन्ने कुरामा ध्यान दिनुको सट्टा एउटा पोखरीको पानी अर्को पोखरीमा सारेर दुइटै पोखरीसुकाउने बहुस्टकको अनावश्यक बहस गरेर समय वर्वाद पारे । भारत, पाकिस्तान लगायत एसियाली र यूरोपियन देशमा एक्सचेन्ज बन्द गरिएको र गाभिएको देख्दै देखेनन । नेप्से र बोर्ड एकै प्रकृतिको संस्था हैनन् भन्ने बुझेर पनि एक्सचेन्जका अधिकारी र पदाधिकारीसँग व्यक्तिगत टकराव लिएकै कारण एक्सचेन्जलाइ दिनुपर्ने अधिकार पनि दिएनन । उदाहरणका लागि सूचीकरण विनियमावली अनुसार सूचीकरण नवीकरण नगर्ने कम्पनीलाई एक्सचेन्जले कारवाही गर्नसक्ने अधिकार दिँदै दिएनन ।

कार्कीले बोर्ड अध्यक्षको रुपमा ‘लगानीकर्ता’ र ‘देश हित’ भन्दा कम्पनी हितमा बढी समय खर्च गरे । कम्पनीलाई अवान्छित गैर-व्यवसायिक लाभ दिनकै लागि रातारात कार्यदल बनाएर बाटो खोलिदिएका कारण कम्पनीले ४ अर्बभन्दा बढी गैर-व्यवसायिक लाभ पाउँदा लगानीकर्ताले बढी मूल्य तिरे भने सरकारले राजश्व गुमायो । माघ १ गतेबाट लागु हुनलागेको आस्बा प्रणाली लागु हुनु २ दिन पूर्व उक्त कम्पनीलाई बिक्री अनुमति दिएर त्यसको बिक्री प्रवन्धक र निष्कासन बैंकलाई समेत अवान्छित लाभ दिलाए । कार्कीले तथास्तुभनिदिएका कारण बिक्री प्रवन्धक र निष्काशन बैंकले २ महिनाभन्दा बढी समय ५० अर्ब रुपैयाँभन्दा बढी रकम प्राप्त गर्दा तिनले शुभलाभ पाए तर, वित्तीय प्रणाली भने असन्तुलित बन्दा त्यसको असर लामैसमय देखियो । एक हिसाबले कार्कीले गरेको यो गम्भीर आर्थिक कसुर थियो । कार्कीको कसुर यतिमा सकिन्न । लगानीकर्तालाई त्रसित पार्न अधिकारक्षेत्र विहिन सम्पत्ति शुद्धीकरण कानुन विपरीत कालोधन छानविनगर्ने भन्दै छानविन समिति पनि बनाए । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशनलाई बारम्बार हतियार बनाएर प्रहार गरीरहे । यस्तै निर्देशन नेपाल राष्ट्र बैंक, बिमा समिति र अरु सूचक संस्थाले पनि जारी गरेका छन् तर, कार्कीले जति यसको त्रास अरुले देखाएनन र नियमति प्रक्रियाको रुपमा लिए । यी त कार्कीका केही प्रसंग मात्र हुन् ।

वर्तमानको अपेक्षा

ढुङ्गानाको आगमनपश्चात बजारमा देखिएको उत्साह सायद उनका सन्तुलित अभिव्यक्ति एउटा कारण हुनसक्छ । ढुङ्गानाले तत्काल (१) बुक बिल्डिङ विधि शुरु गराउने, (२) ऋणपत्रको कारोबार गराउने, (३) अल्पकालीन र दीर्घकालीन लगानीको परिभाषा गरी दीर्घकालीन लगानीलाई लाभकर मुक्त गर्ने, (४) संवेदनशील सूचना प्रवाहलाई व्यवस्थित गर्ने, (५) सूचीकृत कम्पनीका अधिकारी र पदाधिकारीलाई कुनै पनि संचार माध्यममा जुनसुकै बेला बोल्न रोक लगाएर त्रैमासिक विवरणमा मात्र बोल्न लगाउने, (६) कारोबार मापन गर्ने नयाँ सूचक निर्माण गर्ने, (७) सूचीकरणमा हुने विलम्ब हटाउन समय तोक्ने, (८), म्युचुअल फन्डको योजना व्यवस्थापक प्रवर्द्धक कम्पनीको सहायक कम्पनी हुन् नपाउने व्यवस्था अविलम्ब गर्ने, (९) दश कित्ते बाँडफाँड नीति अविलम्ब खारेज गरी समानुपातिक बाँडफाँड नीति लागु गर्ने, (१०) प्रविधिगत सुधार गरी स्वचालित प्रणाली विकास गर्ने, (११) भित्रि कारोबार नियन्त्रण गर्ने, (१२) धितोपत्र न्यायाधिकरण स्थापना गर्ने, (१३) हकप्रद सम्बधि कानुन जारी गर्ने, (१४) नियमन नहुने कम्पनीको आफैँले नियमन गर्ने, (१५) गाभ्ने-गाभिने सम्बन्धि निर्देशिका जारी गर्ने, (१६) सूचीकृत कम्पनीका अधिकारी पदाधिकारीलाई कारवाही गर्ने अधिकार एक्सचेन्जलाई दिने, (१७) डेरीभेटिभ उपकरण ल्याउने जस्ता कार्यलाई प्राथमिकतामा राख्नु जरुरी छ ।

सन्तुलित विचार प्रवाह गरेर बजारमा उत्साह थपेका ढुङ्गानाले आगामी ४ वर्षमा अब्बल कार्य गरेर अब्बल अध्यक्ष बन्न सकेमा नामका भिष्ममहाभारतका अविस्मरणीय पात्र भिष्मबन्नसक्ने सम्भावना छ । बोर्डको एक/एक वाक्य शेयरबजारका लागि अमूल्य हुन्छ । ढुङ्गानाले कार्कीपथ नलिउन, शेयरबजारको गुणात्मक विकास गरुन शुभेच्छा र शुभकामना ।

२१ माघ २०७६, आर्थिक अभियान दैनिक




शेयरबजारका केही असान्दर्भिक घटनाहरु


नेपालको शेयरबजारमा देखिन थालेको अनौठा घटनाको सिलसिलाले प्रोत्साहितभन्दा निरुत्साहित बनाउन मद्दत पुगेको देखिन्छ । कम्पनी गाभिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पहिलो कारोबार मूल्य समायोजन गर्ने क्रम पछिल्लोपटक जनता बैंक गाभिएपछि ग्लोबल बैंकमा पनि कायम राख्यो । त्यस्तै, सूचीकृत र असूचीकृत कम्पनी गाभिन लाग्दा सूचीकृत कम्पनीको कारोबार रोक्कालाई पनि सान्दर्भिक मान्न सकिन्न । शेयरबजारमा यी र यस्तै केही प्रसंग चर्चाको विषय बनेको छ ।

मर्जपछीको समायोजन

नेप्सेमा सूचीकृत कम्पनीमध्ये बैंकिंग (देखि सम्म) मर्ज र एक्वायर भएका छन् । मर्ज र एक्वायरमा जाँदा कारोबार रोकिनु सान्दर्भिकै भए पनि गाभिएर कारोबार खुल्दा मूल्य समायोजन हुनलाई सान्दर्भिक मान्न सकिन्न । यसरी पहिलोपटक मूल्य समायोजन सम्भवत: तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक गाभिएर पहिलो कारोबार खुल्दा भएको थियो तर, थोरै रकमको अंक भएको हुँदा त्यतिबेला यस घटनालाई कसैले वास्ता गरेन । मर्जको लागि कारोबार रोकिँदा अन्तिम कारोबार मूल्य ३ सय ८२ रुपैयाँ कायम भएको एनएमवी बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभेपछि नेप्सेले ३ सय ५१ रुपैयाँमा कारोबार खोलिदियो । ग्लोबल र जनता बीच गाभिने सम्झौता हुँदा ग्लोबलको अन्तिम बजार मूल्य २ सय ९५ रुपैयाँ कायम भएको थियो । ग्लोबलले आर्थिक वर्ष २०७५/७६ मा १२ दशमलब ७५ प्रतिशत बोनस शेयर बाँडेको थियो । बोनस शेयरको मात्र समायोजन गरेर २ सय ६१ रुपैयाँमा कारोबार खोल्नुपर्नेमा २ सय ५२ रुपैयाँ तोकियो । नेप्सेले यी दुबैको के कुन आधारमा समायोजन गरियो त्यसको सुत्र वा स्पष्टीकरण दिएन वा दिन आवश्यक ठानेन । शेयरबजारको तालुकी अड्डा धितोपत्र बोर्डले पनि चासो लिएन ।

सान्दर्भिकता र एक्वायर

समायोजन भनेको मिलाउने कार्य हो । यसको अर्थ र प्रयोजन ठाउँ अवस्था अनुसार हुनेगर्छ । शेयर कारोबारको सन्दर्भमा सूचीकृत कम्पनीले हकप्रद वा बोनस शेयर जारी गरेपछि सोही अनुपातमा मूल्य पनि समायोजित हुनेगर्छ । समायोजन पश्चात् मूल्यमा कमी देखिए पनि शेयरधनीको कित्ता बढ्ने हुँदा हिसाब बराबर हुन्छ । यसले शेयरधनीको सम्पत्तिमा तात्विक असर पर्दैन । तर, अहिले नेप्सेले गाभिएका कम्पनीको शेयर कारोबार खोल्दा असान्दर्भिक मूल्य समायोजन गरिरहेको छ । यस्तो समायोजन नितान्त अर्थहीन छ भनेर प्रमाणको फेहरिस्त दिँदा पनि कानमा तेल हालेर बसेको छ ।

कम्पनी गाभिएपछि समायोजनको सान्दर्भिकता देखिएको बेला नेप्सेले वास्ता गरेन वा पत्तो पाएन तर, अहिले सान्दर्भिकता सकिएको बेला समायोजनगरेर उल्टो पाइला चालेको छ । कम्पनी गाभिने क्रममा शेयर आदान-प्रदान अनुपात (स्वाप) घटी, बराबर वा प्रिमियम पनि हुनसक्छ । गाभिने कम्पनीले बराबर र गाभ्ने कम्पनीले प्रिमियम पाउने सम्भावना प्राय: कमै हुन्छ । सामान्यतया: गाभिने कम्पनीले केही प्रतिशत कम स्वाप पाउँछन् । मानौं, गाभिने कम्पनीको २ शेयर बराबर गाभ्ने कम्पनीको १ शेयर (२:१) दिने गरी मर्जको सम्झौता भएमा बचेको पूँजीवापतको रकम गाभ्ने कम्पनीका शेयरधनीले पहिले नै बोनस सरहबाँडेर खाएको अवस्थामा सोहीहदसम्म मूल्य समायोजन सान्दर्भिक हुन्छ । यस्तो अभ्यासको एउटा उदाहरणमा प्रभुमा गाभिएको ग्रान्ड बैंक हो । ग्रान्ड बैंकको १ शेयरलाई प्रभु बैंकको शून्य दशमलब ६५ (०.६५) कित्ता दिएर बाँकी रहेको शून्य दशमलव ३५ (०.३५) कित्ता बराबरको रकम प्रभु बैंकले त्यतिबेला २१ प्रतिशत बोनस शेयर सरह बाँडेको थियो । तर, अहिले यसरी स्वापवापत प्राप्त हुने रकम शेयर प्रिमियमसरह पूँजीगत जगेडामा लेखांकन गरिने गरिन्छ ।

उल्लेखित प्रभु र ग्राण्ड बैंकको उदाहरणले अहिले मूल्य समायोजनको औचित्य छैन भन्ने प्रष्ट पार्छ । कम्पनी ऐन २०६३ को दफा १७७(५) ले गाभिएको कम्पनीको अस्तित्व नै सकिने र गाभिने कम्पनीका सम्पूर्ण सम्पत्ति तथा दायित्वहरू गाभ्ने कम्पनीमा सर्ने व्यवस्था गरेको छ । कम्पनी प्रशासन र संचालनको नियमन गर्ने कम्पनी रजिष्ट्रार कार्यालयले गाभ्ने स्वीकृति दिँदा गाभिने कम्पनीको सम्पूर्ण सम्पत्ति र दायित्व गाभ्ने कम्पनीमा सरेको उल्लेख गरेर गाभिने कम्पनी दर्ता खारेज गर्छ । गाभ्ने कम्पनी सर्वेसर्वा हुने हुँदा पनि मूल्य समायोजनको सान्दर्भिकता समाप्त हुन्छ ।

निकट भविष्यमा प्राइम बैंकले एक्वायर गर्ने अन्तिम तयारी गरेको कैलाश विकास बैंकको एकीकृत कारोबार हुँदा के हुन्छ भन्ने चासो देखिए पनि अनौपचारिकरुपमा बुझिएअनुसार यसको मूल्य समायोजन हुने छैन । एक्वायर भने पनि मर्ज जस्तै हुनेहुँदा यसको किन नहुने भन्ने एउटा प्रश्न जिउँदो बनेको छ । नेपालमा मर्ज र एक्वायरको एउटा मात्र फरक गाभ्ने कम्पनीको कारोबार रोक्का नहुनु हो । बाँकी सबै प्रक्रिया एकै छ ।

सूचीकृत र असूचीकृतको मर्ज

नेपालको शयरबजारमा अनौठो घटना देखिने क्रममा पछिल्ला दिनमा सूचीकृत र असूचीकृत कम्पनीको मर्जमा देखिएको छ । सूचीकृत कम्पनीले असूचीकृत कम्पनी मर्ज गर्ने क्रममा सूचीकृत कम्पनीको कारोबार रोकिनु पनि असान्दर्भिक घटना हो । यस्तो घटना हेर्दा कारोबार रोक्का राख्नुको अर्थ कम्पनीनेप्सेदुबैले नबुझेको जस्तो देखिएको छ । माथि नै भनियो एक्वायरमा गाभिने कम्पनीको कारोबार रोक्का हुन्न । हो, ठ्याक्कै यस्तै परिस्थिति सूचीकृत र असूचीकृत कम्पनी गाभिने क्रममा पनि हुन्छ तर, किन कारोबार रोक्का राखियो नेप्से र कम्पनीले प्रष्ट पारेका छैनन् । सामान्यतया सूचीकृत दुई कम्पनी गाभिंदा यति स्वाप दिने भयोभन्ने जस्तो अनर्गल गतिविधिले मूल्यमा अस्वाभाविक उतारचढाव नहोस् भन्ने हेतुले लगानीकर्ता हित संरक्षणको लागि कारोबार रोक्नु परेको हो तर, सूचीकरण नै नभएको कम्पनीसँग मर्ज हुँदा कसलाई के असर पर्छ र कारोबार रोक्नु ? यसरी असूचीकृत कम्पनीसँग मर्ज हुँदा सूचीकृत कम्पनीको कारोबार रोक्ने कार्यको शुरुवातकर्ता सम्भवत: वोमी लघुवित्त हो, त्यसपछि यसले निरन्तरता पाईरहेको छ र कहिलेवाट यस्तो कारोबार रोकिने क्रम सकिने हो कसैलाई पत्तो छैन । सूचीकृत कम्पनीले के कुन आधारमा आफ्नो कारोबार रोक्ने पत्राचार गरेका हुन् सायद ति आफैँ पनि जानकार छन् जस्तो देखिन्न । कम्पनीले कारोबार रोकिदेउ भनेर पत्राचार गरेर सूचीकरण कानुनको पालना गरेको भन्लान तर, बजार संचालक (नेप्से) ले यसमा विचार गर्नुपर्नेमा केही सोच्दै नसोची कारोबार रोकिरहेको छ ।

मर्जले बनाएको बन्धक

एक जिल्ले सहारा विकास बैंक मर्जमा जाने भन्दै कारोबार रोक्का भएको ३ वर्ष पुग्न लागिसक्दा पनि यसको मर्जको टुंगो लागेको छैन । सहयोगी विकास बैंकसँग मर्जमा जान रोकिएको कारोबार मर्ज भाँडिएपछि देव विकास बैंकसँग एक्वायरमा जान गरेको सम्झौता पनि भाँडियो । यसले जारी गरेको २ सय ५० प्रतिशत हकप्रद बिक्री गरेको २ वर्ष पुग्न लाग्दा पनि के भईरहेको छ भन्ने पनि कसैलाई पत्तो छैन । यस्तै घटना वेस्टर्न डेभलपमेन्ट बैंकमा पनि भएको छ । नमस्ते फाइनान्ससँग गाभिएर एक हप्ता पनि कारोबार नहुँदै देव विकास बैंकले एक्वायर गरी एकीकृत कारोबार गरेको ६ महिना हुँदा पनि वेस्टर्नको शेयर देवको नाममा सूचीकरण नगराई आफैँ कुमारी बैंकसँग एक्वायरमै गएको छ । यस्तै पाराले साविकको वेस्टर्नको कारोबार खुल्न अझ ६ महिना लाग्नसक्ने स्थिति हेर्दा यसको कारोबार अझ लम्बिने देखिन्छ ।

जिम्मेवारहरु वेजिम्मेवार

माथिका विभिन्न अनुच्छेदमा उल्लेखित प्रसंग हेर्दा नेपालको शेयरबजारमा जिम्मेवारहरु सबै बेजिम्मेवार बनेको देखिन्छ । लगानीकर्ताका संगठन हौँ, बजार सुधार भएनभन्दै नेप्सेकै ढोकामा भोक हडतालको तमाशा देखाउनेले माथि उल्लेखित विषयमा अलिकति पनि ज्ञान राखेको नदेखिँदा यी औचित्यहिन समूहमात्र हुन् भन्ने दृष्टात खोज्न धेरै सोच्नुपर्दैन । एउटा बैंकका उल्लेख्य शेयरधनी फलानो बैंकसँग मर्जमा जाने पक्का हो भन्दै भिडियो वार्ता सार्वजनिक गर्छन, तैपनि जिम्मेवार वेजिम्मेवार बन्छन् । शेयरबजारमा यस्तो बेजिम्मेवारीको हद कहिलेसम्म चलिरहने होला ?

१४ माघ २०७६, आर्थिक अभियान दैनिक  



कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...