‘जबसम्म वित्तीय विवरण पढ्न र त्यसलाई बुझेर व्याख्या गर्ने
क्षमता प्राप्त गरिँदैन तबसम्म शेयरबजारमा प्रवेश गर्नु हुँदैन’ यो भनाइ शेयरका बादशाह मानिने वारेन बफेटको हो । शेयरबजारमा
लगानी गर्नेका लागि वित्तीय विवरण मुख्य आधार हो । तर, वित्तीय विवरण सहज तरीकाले बुझ्न नसेकेको अवस्थामा लगानी
फस्न सक्छ । आर्थिक वर्ष २०७५/७६ देखि वाणिज्य बैंकलाई नेपाल वित्तीय प्रतिवेदन
मान अर्थात् नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) विधिबाट लेखा
राख्न केन्द्रीय बैंकले निर्देशन दिएपछि अहिलेसम्म ४ ओटा त्रैमासिक वित्तीय विवरण
प्रकाशन भइसकेका छन् । एनएफआरएस विधि वास्तविकतामा आधारित र अन्तरराष्ट्रिय रूपमा
मान्यता प्राप्त लेखमान विधि हो । यो विधि नेपालमा पूर्णरूपमा लागू भइसकेको छैन तर, आरम्भ भने भएको छ । यसमा अझ सुधार र परिमार्जन हुनुपर्ने
देखिएको छ । यद्यपि साउनको तुलनामा चैतसम्म आइपुग्दा सरलता आउन लागेको देखिन्छ ।
एनएफआरएस विधिमा देखिएका सहजता, द्विविधा, कमी र वित्तीय विवरणमा उल्लेख हुने केही शब्दावलीका बारेमा
चर्चा गर्ने प्रयास गरिएको छ ।
समूह र कम्पनी
अधिकांश वाणिज्य बैंकका मर्चेन्ट बैंक र लघुवित्त
कम्पनी सहायक कम्पनीका रूपमा रहेका छन् । वित्तीय प्रतिवेदन प्रकाशन गर्दा सहायक
कम्पनीका हिसाब समेत जोडेर समूह र बैंक (कम्पनी) प्रकाशन गर्ने गरिएको छ । एकै
लहरमा देब्रेतर्फ समूह र दाहिनेतर्फ कम्पनीको प्रकाशन हुने गरेको छ । चैत महीनामा समूह र कम्पनीको वासलातमा २/२ महले प्रतिवेदन प्रकाशित
भएको छ । त्यस्तै, नाफा–नोक्सान हिसाब खातामा
दुवैका ४/४ महल रहेका छन् । वासलातमा समूह र कम्पनीको चालू अवधि आर्थिक वर्ष (आव)
२०७५/७६ चैतसम्मको र अघिल्लो वर्षको यही अवधिको स्थिति पेश गरिएको छ ।
त्यस्तै,
नाफा–नोक्सानमा समूह तथा कम्पनीको आव २०७५/७६
को चालू त्रैमासिक (माघ, फागुन र चैत), तेस्रो त्रयमास (साउनदेखि चैत) सम्मको र अघिल्लो वर्ष यही अवधिको विवरण
प्रकाशित गरिएको छ । सामान्यतया यस्ता वित्तीय प्रतिवेदनमा पछिल्लो त्रयमाससम्म,
त्यसको ठीक अघिल्लो त्रयमाससम्म र चालू त्रयमासको ठीक अघिल्लो
वर्षको गरी ३ फरक समयको वित्तीय स्थिति प्रकाशन हुने गरेको थियो । यसपटक अघिल्लो
त्रयमासको विवरण प्रकाशित भएनन् । यसले गर्दा दुई त्रयमाससम्मको तुलनात्मक अध्ययन
गर्न कठिनाइ परेको छ ।
अस्पष्ट
विवरण
प्रकाशित वित्तीय विवरणमा पहिलाभन्दा अहिले थप सहज देखिए
पनि कतिपय कुरा बुझ्न सकिने छैन । अझ सरल बनाउन सकिने बाटो भने थुप्रै छन् । कृषि
र एभरेष्ट बैंकले अग्राधिकार शेयरलाई पनि शेयर पूँजीमा जोडेर देखाए । तर, पनि प्रतिशेयर आम्दानी र खुद सम्पत्ति गणना गर्दा यसलाई
सामेल गरेका छैनन् । एकै ठाउँमा देखाए पनि टिप्पणीमा यति रकम अग्राधिकार शेयर हो
भन्ने कतै खुल्दैन । वा यसलाई अग्राधिकार शेयर शीर्षकमा छुट्टै देखाउन पनि
सकिन्थ्यो होला । यसपालादेखि शेयर प्रिमियम, सञ्चित नाफा (रिटेन अर्निङ) र जगेडा छुट्टाछुट्टै देखाइएको
पक्ष भने स्वागतयोग्य हो । तर, पनि केही कमी देखिएको छ । त्यस्तै, यसपालादेखि सम्भावित नाफा–नोक्सान बाँडफाँटसम्बन्धी
संक्षिप्त विवरण पनि उल्लेखनीय पक्ष हो । तर, यसमा थप्नुपर्ने अरू विषय देखिन्छ । एनएफआरएस विधि नअपनाएका
रिडी, नेशनल र वरुण हाइड्रोपावरले
चालू त्रयमाससम्मको वित्तीय विवरण दिनुपर्नेमा चालू त्रयमासको मात्र विवरण दिएका
छन् ।
प्रतिवेदनका
बारेमा संक्षिप्त चर्चा गरेपछि अब वित्तीय प्रतिवेदनमा उल्लेख हुने केही
शब्दावलीका बारेमा संक्षिप्त चर्चा गरिन्छ ।
पूँजी र कोषहरू
कम्पनीले आर्जन गरेको खुद नाफा रकमबाट शेयरधनीलाई नाफा बाँडेर बाँकी
रहेको रकम सञ्चित नाफा (कोष) हो । यस्तो रकम कुनै पनि वर्ष नाफा वितरण गर्न सकिने
स्वतन्त्र कोष हो । यसमा नियमन गर्ने निकायले कुनै हस्तक्षेप गर्दैन । त्यस्तै, बैंकको हकमा खुद नाफाको २० प्रतिशत रकम साधारण जगेडा (वैधानिक जगेडा)
कोषमा राख्नुपर्छ । यस्तो रकम चुक्तापूँजीको दोब्बर नभएसम्म हरेक वर्ष त्यसपछि पनि
१० प्रतिशत राखिरहनुपर्छ । यस्तो रकम पनि बाँडफाँटयोग्य हुँदैन । नाफा–नोक्सान बाँडफाँट हिसाबमा यसलाई खर्च लेखांकन गरिन्छ ।
कम्पनीसँग चलअचल सम्पत्ति पनि हुन्छ । यस्तो सम्पत्तिको वार्षिक
रूपमा पुनर्मूल्यांकन गरिन्छ । यसरी पुनर्मूल्यांकन गर्दा परल मूल्यभन्दा बढी हुन
आएमा सम्पत्ति बढ्छ । यसरी बढेको सम्पत्तिलाई नगदमा देखाइन्छ । पुनर्मूल्यांकनबाट
सृजित कोषलाई नगदमा देखाइए पनि बाँडफाँटयोग्य हुँदैन । कम्पनी ऐन २०६३ को दफा
५६(१०) मा ‘कम्पनीले गरेको नाफा वा नाफाबाट सृजित कोषबाट
बाहेक कम्पनीको सम्पत्तिको पुनर्मूल्यांकन गरी शेयर पूँजी वृद्धि गर्न वा बोनस
शेयर निष्कासन गर्नु हुँदैन’ भन्ने व्यवस्था छ ।
सबै कम्पनीले वैधानिक जगेडा कोष राख्नु पर्दैन । वैधानिक जगेडा कोष
नहुने कम्पनीको आर्जित नाफा बाँडेर बाँकी रहेको रकम जगेडा तथा कोष शीर्षकमा
देखिन्छ । वासलातमा देखिने शेयरधनी कोष शीर्षकमा चुक्तापूँजी र जुनसुकै नाम दिएको
(वैधानिक, सञ्चित, शेयर
प्रिमियम, पुनर्मूल्यांकन र पूँजी फिर्ता लगायत) कोषको
योगफल हो ।
बैंकको हकमा कोषको लागत भन्नाले बैंकले तिरेको (सापट, निक्षेप र ऋणपत्र) औसत ब्याजदर हो । त्यस्तै, ब्याज
अन्तर भनेको तिरेको ब्याज र लिएको ब्याजको अन्तर हो । ‘जोखिम
भारित सम्पत्ति’ वा ‘पूँजी
पर्याप्तता कोष’ भनेको बैंक वा वित्तीय संस्थाको
वासलातभित्र र बाहिरको प्रत्येक शीर्षकमा रहेको रकमलाई राष्ट्र बैंकले तोकेको
ढाँचामा तोकिएको जोखिम भारले गुणन गरी निकालिएको कुल सम्पत्ति सम्झनुपर्छ ।
त्यस्तै, ‘पूँजीकोष’ भनेको
राष्ट्र बैंकले तोकेबमोजिम बैंक र वित्तको प्राथमिक पूँजी र पूरक पूँजीको योग र सो
शब्दले राष्ट्र बैंकले समयसमयमा तोकेको अन्य कोष वा रकम समेतलाई जनाउँछ । (बैंक
तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ को दफा २ को क्रमशः ण र म) ।
सम्पत्ति
र कोषमा प्रतिफल
शेयरधनीको कोषमा प्रतिफल (रिटर्न अन इक्विटी) भन्ने
अर्को महत्वपूर्ण पाटो हुन्छ । वार्षिक
खुद नाफालाई शेयरधनीको कोषले भाग गरेर निकालिन्छ । यो प्रतिशेयर आम्दानी होइन तर
प्रतिशेयर आम्दानीभन्दा महत्वपूर्ण पक्ष हो । यसमा शेयरधनी कोषको उपयोग गरेर प्राप्त भएको प्रतिफल
हेरिन्छ । त्यस्तै, कम्पनीको कुल सम्पत्ति (वासलातमा देखिन्छ) ले कति आर्जन ग¥यो भन्ने व्यक्त गर्न खुद
आम्दानीलाई कुल सम्पत्तिले भाग गरेर निकालिन्छ ।
केही
सुझाव
एउटा सानो लेखमा सबै कुरा उल्लेख गरेर सकिँदैन । यहाँ उल्लेख गरिएका
विषय सांकेतिक मात्र हुन् । यसले थप अध्ययन गर्न सामान्य सहायता मात्र दिन्छ ।
माथि विभिन्न अनुच्छेदमा उल्लेख गरिएका समस्या समाधानार्थ केही सुझाव प्रस्तुत
गरिएको छ ।
- समूह र कम्पनीको विवरण छुट्टाछुट्टै प्रकाशन गर्ने । यसो गर्दा अध्ययनकर्तालाई मात्र होइन, तयार गर्नेलाई पनि पक्कै सहज हुनसक्छ ।
- पूँजी फिर्ता जगेडा कोष छुट्टै शीर्षकमा देखाउने ।
- सम्पत्ति पुनर्मूल्यांकनबाट सृजित कोषलाई छुट्टै देखाउने ।
- नाफानोक्सान हिसाबमा कर्मचारी बोनस र मुख्य मुख्य खर्चको अंक देखाउने ।
- खुद सम्पत्ति (नेटवर्थ) गणना गर्दा पुनर्मूल्यांकनबाट सृजित कोषसहित र सो बाहेकको देखाउने ।
- संक्षिप्त नगद प्रवाह विवरण दिने ।
- अघिल्लो त्रैमासिक अवधिसम्मको हिसाब देखाउने (जस्तो चैतसम्मको देखाउँदा पुससम्मको पनि देखाउने) ।