कुनै पनि स्टक एक्सचेञ्जमा सूचीकरण भएका कम्पनीले
धितोपत्रसम्बन्धी कानूनमा तोकिएका मूल्य संवेदनशील विषयमा
भएका निर्णय तत्काल एक्सचेञ्ज मार्फत
सार्वजनिक गर्नुपर्ने विश्वव्यापी नियम रहेको छ । स्टक एक्सचेञ्जमा सूचीकरण भएका कम्पनीका शेयरमा लगानीकर्ताले
विगतको प्रगतिलाई आधार मानेर भविष्यमा पनि त्यस्तै वा त्यो
भन्दा बढी गर्न सक्ने अनुमान गरेर लगानी गरेका हुन्छन् । तर, कम्पनीले एकपटक
सार्वजनिक गरेको मूल्य संवेदनशील सूचना
महीनौंपछि संशोधन गर्दा लगानीकर्ताको हितमाथि कुठाराघात गरेको ठहर्छ । यस्तो गतिविधि गर्ने कम्पनीका सञ्चालकलाई
कारबाहीको दायरामा ल्याउने जिम्मा व्यवसाय र शेयरबजार नियमक
दुवैको हो । व्यवसाय नियमन निकायका कार्यकारी प्रमुखले सार्वजनिक कार्यक्रम मार्फत कम्पनीलाई विश्वास नगर्नु भन्ने अभिव्यक्ति दिएर उन्मुक्ति दिएको अनौपचारिक
घोषणा गरेका छन् । शेयरबजार नियमकले के गर्ला त्यो हेर्न
बाँकी नै छ ।
विगतकै निरन्तरता
धितोपत्र बजारमा सूचीकृत कम्पनीले सम्प्रेषण गर्ने मूल्य
संवेदनशील सूचनाको कुनै अर्थ छैन भन्ने देखिन थालेको छ ।
सार्वजनिक भएका मूल्य संवेदनशील सूचना कति बेला संशोधन वा रद्द हुन्छन् अनुमान लगाउन नसकिने भएको छ । विगतकै निरन्तरता बनेको लाभांश संशोधनको सिलसिला यसपटक लाइफ
इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी) ले
दिएको छ । आर्थिक वर्ष (आव) समाप्त भएको ६ महीनाभित्र साधारणसभा नगर्ने बीमा कम्पनीलाई बेलैमा साधारणसभा गर्न लगाउन बीमा समिति र धितोपत्र बोर्ड दुवै असफल रहेका बेला
प्रस्तावित लाभांश संशोधन गर्दा पनि कम्पनीका पदाधिकारीलाई
कुनै कारबाही वा जवाफदेही बनाउन पहल गरेको देखिँदैन । बीमा कम्पनीले गरेका र गर्ने मनपरी हेर्दा यी दुवै नियमक नियमनमा असफल भएको र यिनको औचित्य नै समाप्त भएको
प्रतीत हुन्छ । एलआईसीले गत साउन २५ गते घोषणा गरेको आव
२०७३/७४ को लाभांश झण्डै ३ महीनापछि २०७५ कात्तिक १८ गते संशोधन गरिएको पत्र एक्सचेञ्जलाई सम्प्रेषण गरेको छ । यस अघि पनि कम्पनीले घोषणा गरेको लाभांश पूरै
रद्द, आंशिक संशोधन र हेरफेर गरेका अनगिन्ती उदाहरण पाइन्छन् । घोषित लाभांश
संशोधन गर्नेमा उच्च सुशासन रहेको भनिएका वाणिज्य
बैङ्कसमेत परेका छन् । घोषित लाभांश संशोधन र रद्द गरेका केही उदाहरण तालिकामा प्रस्तुत गरिएको छ ।
तालिकामा उल्लिखित मध्ये मुक्तिनाथ बैङ्कले लाभांश स्वीकृत
गराएर साधारणसभा आव्हान गरि बुक क्लोज गरेपछि
केन्द्रीय बैङ्कले पूँजीकोष नपुगेको भन्दै रद्द गरेको बाहेक बाँकी सबै लाभांश साधारणसभा आह्वान हुनुअघि नै संशोधन वा रद्द भएका हुन् । यसले कम्पनीमा सक्षमता भएका
सञ्चालक र उच्च व्यवस्थापक नभएको हो वा ‘कसले के गर्छ र’ भन्दै मनपरी लाभांश घोषणा गरेर मूल्यमा आफै खेल्न वा अरूलाई खेल्ने अवसर सृजना गराएका हुन्, यसबारे शेयरबजार नियमकले खोजीनिती गर्ने बेला आएको छ ।
कम्पनी
|
लाभांश (प्रतिशत)
|
फरक (प्रतिशत)
|
|
घोषित
|
संशोधन
|
||
लाइफ इन्सुरेन्स
कर्पोरेसन नेपाल लिमिटेड
|
३६ बोनस
|
१२ बोनस
|
२००
|
एसियन लाइफ
इन्सुरेन्स
|
१२ बोनस
|
६ बोनस
|
५०
|
स्वदेशी
लघुवित्त
|
१० नगद
|
रद्द
|
१००
|
आरएसडीसि
लघुवित्त
|
५ नगद ५ बोनस
|
१० बोनस
|
०
|
मुक्तिनाथ विकास
बैंक
|
२५ नगद
|
रद्द
|
१००
|
युनाइटेड
इन्सुरेन्स
|
१० बोनस
|
रद्द
|
१००
|
प्रभू विकास
बैंक (साविक)
|
९ बोनस
|
रद्द
|
१००
|
नेपाल
इन्भेष्टमेन्ट बैंक
|
२५ बोनस र १५
नगद
|
१५ बोनस र २५
नगद
|
०
|
नागबेली
लघुवित्त
|
५५ बोनस
|
रद्द
|
१००
|
राष्ट्रिय विमा
कम्पनी
|
१२० बोनस
|
रद्द
|
१००
|
नागवेली
लघुवित्त (दोस्रोपटक)
|
१६.११ बोनस
|
९.३८
|
४१
|
मन्जुश्री
फाइनान्स
|
९ नगद
|
२.९
|
६७
|
छिमेक लघुवित्त
|
१८ बोनस
|
२२ नगद
|
१००
|
लाभांशसम्बन्धी कानून
कम्पनी ऐन २०६३ को दफा १८२(६) मा ‘कम्पनीले कुनै आवमा भएको मुनाफाको रकमबाट लाभांशको भुक्तानी वा वितरण गर्नुभन्दा पहिले पूर्वसञ्चालन
खर्च, प्रचलित कानून बमोजिम अधिकारप्राप्त निकायद्वारा निर्धारित लेखामान
अनुसार ह्रासकट्टी गर्नुपर्ने रकम, प्रचलित कानून बमोजिम मुनाफाबाट भुक्तानी
गर्नुपर्ने वा छुट्याउनुपर्ने रकम वा विगतका आवहरूमा
भएको सञ्चित नोक्सानीको रकम पूर्ण रूपमा कट्टा गरिसकेको हुनुपर्ने’ व्यवस्था गरेको छ । त्यस्तै सोही उपदफाको प्रतिबन्धात्मक व्यवस्थामा ‘लाभांश वितरण गर्नुभन्दा पहिले कुनै रकमको जगेडा वा सञ्चित कोष खडा गर्नुपर्ने सम्बन्धमा प्रचलित
कानूनले कुनै व्यवस्था गरेको रहेछ भने त्यस्तो
व्यवस्था पालना गर्नुपर्ने कम्पनीले त्यस्तो जगेडा वा सञ्चित कोष खडा नगरी लाभांश वितरण गर्नसक्ने छैन’ भन्ने कानूनी व्यवस्था गरेको छ । कानूनी व्यवस्थाको पूर्ण पालना
गरेका कम्पनीले निर्णय भएको ४५ दिनभित्र वितरण गरिसक्नुपर्ने
व्यवस्था ऐनको दफा १८२(१) ले गरेको छ ।
कम्पनी ऐनले गरेको लाभांश वितरणसम्बन्धी यी व्यवस्था सबै
कम्पनीका लागि हो । धितोपत्र बजारमा सूचीकृत कम्पनीको
हकमा भने धितोपत्रसम्बन्धी कानूनमा भएका थप व्यवस्थाको पनि पालना गर्नुपर्ने हुन्छ । सूचीकृत कम्पनी अत्यन्त संवेदनशील विषय भएकाले यसले गर्ने कुनै पनि निर्णय
संवेदनशील हुन्छन् । यसको सीधा प्रभाव
दोस्रो बजारमा पर्छ र लाखौं लगानीकर्ताको सम्पत्ति क्षणभरमा सखाप हुनसक्छ । धितोपत्र दर्ता तथा निष्कासन
नियमावली २०७३ नियम २६(५) अनुसूची १६
को १३ नं. मा लाभांश घोषणालाई मूल्यमा प्रभावित पार्ने विशेष घटना वा परिस्थितिका रूपमा उल्लेख छ । अनुसूचीमा यी
लगायत अन्य २५ ओेटा घटनालाई मूल्य संवेदनशील भनेर
सूचीकरण गर्दै यस्ता घटना वा परिस्थिति सृजना हुनासाथ जानकारी गराउनुपर्ने भनेको छ ।
कहिले सिक्ने ?
मूल्य संवेदनशीलताको स्थिति कस्तो हुँदोरहेछ भन्ने ताजा
उदाहरणको लागि केही महीना अघि
अमेरिकाको विद्युतीय कार निर्माता टेस्ला इङ्कका अध्यक्ष एलोन मस्कले कम्पनीलाई प्राइभेट बनाउनेतर्फ विचार गरिरहेको भनी
ट्वीटरमा लेखेको आधारमा अमेरिकन सेक्युरिटिज एण्ड
एक्सचेञ्ज कमिशनले मूल्य हेराफेरी गर्ने नियत रहेको तथा लगानीकर्तालाई झूटो र भ्रामक सूचना दिएको आरोपमा व्यक्तिगत रूपमा २ करोड र कम्पनीलाई पनि २ करोड डलर जरीवाना तिराएर
अध्यक्षबाट हटाएको थियो । यसका साथै मस्कलाई अरू ३ वर्षसम्म
कम्पनीको अध्यक्ष बन्नबाट समेत रोक लगाएको छ । त्यस्तै छिमेकी मुलुक बङ्गलादेशको नियमक बङ्गलादेश सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशनले मर्कण्टाइल बैङ्कका
अध्यक्ष एकेएम साहिद रेजालाई सन् २०१४ मा बैङ्कको
सञ्चालक हुँदा प्रकटीकरण नगरी आफू सञ्चालक रहेको बैङ्कको शेयर किनबेच गरी कानून उल्लङ्घन गरेको अभियोगमा ४ लाख टाका जरीवाना गरेको थियो । पद्मा इस्लामी लाइफ
इन्स्योरेन्स कम्पनीलाई धितोपत्रसम्बन्धी
कानून उल्लङ्घन गरी वार्षिक वित्तीय विवरण पेश नगरेको गरेको भन्दै चेतावनी दिएको थियो ।
अन्त्यमा, शेयरबजारमा यस्तै
घृणित र लगानीकर्तालाई मूर्ख बनाउने खेल चलिरहन्छ भने बजारप्रतिको विश्वास गुम्न जान्छ र भोलिको दिनमा राम्रा र सुशासन भएका कम्पनीको प्राथमिक निष्कासन विक्री हुन नसक्ने
दिन आउन बेर लाग्दैन । सन् २०१५/१६ मा चिनियाँ
शेयरबजारमा सङ्कट आएपछि छेन्तु शहरको एउटा इलेक्ट्रोनिक्स सामान निर्माण कम्पनीबाट अवकाशप्राप्त सिचुवान प्रान्तकी ५६ वर्षीया हुवा जीईको पीडायुक्त भनाइलाई
उदाहरणमा लिन सकिन्छ । उनले १० वर्ष अघि
चाइनिज शेयरबजारमा लगानी शुरू गर्दा बजार यसरी सङ्कटमा पर्ला भन्ने अनुमान नगरेको बताउँदै ‘म अब यो खेल खेल्न (शेयर लगानी) चाहन्न, किनकी मैले
नियमकहरूमाथि विश्वास गुमाएँ ।’ भनेकी थिइन् । यो मर्मस्पर्शी अभिव्यक्ति भोलिका दिनमा नेपालको शेयरबजारमा
पनि नआओस् नियमक (व्यवसाय र शेयरबजार) ले बेलैमा कानूनी
कारबाहीको बाटो रोजुन भन्ने अपेक्षा गरौं ।
अभियान दैनिक, २०७५ कार्तिक २६ गते
http://www.abhiyan.com.np/?p=291548