धितोपत्र वोर्डले ल्याएको
सेमिअनलाईन अहिले चर्चाको केन्द्रमा रहेको छ । पहिलेदेखि नै कुनै न कुनै
रुपमा प्रचलनमा रहेको विद्युतीय माध्यममार्फत खरिद-बिक्री आदेश दिन सकिने विधिलाई
वोर्डले अर्ध-स्वचालित (सेमि-अनलाईन) नामाकरण गरि प्रचार गरेको/गराएको छ । वास्तविक अनलाईन र वोर्डले
व्याख्या गर्ने प्रयास गरेको अनलाईन (सेमिअनलाईन) बीच आकाश जमिनको अन्तर छ ।
एक्सचेन्ज र अनलाईन
प्रारम्भिककालमा शेयर
हस्तान्तरणको लागि सम्भवत पहिलो पटक बेल्जियममा अहिलेको एक्सचेन्ज जस्तो संगठन बने
पनि वास्तविक एक्सचेन्ज भने थिएन । तथापि, क्रेता र बिक्रेताको
एकैस्थलमा भेट हुने केन्द्र भने बनेको थियो । यसरी गर्भाधान भएको
एक्सचेन्ज चिच्याएर भाउ लगाउने क्रमबाट प्रविधिको विकासले स्वचालित कारोबार
प्रणालीमा रुपान्तरित भईसकेको छ । इलेक्ट्रोनिक कम्युनिकेसन
नेटवर्क प्रविधिले क्रेता र बिक्रेताको लागि आदेश दिन सहयोग पुग्न थाल्यो । सन् १९७१ मा अमेरिकाको
नेशनल एसोसिएसन अफ सेक्युरिटीज डिलर्सले यसलाई आधुनिकीकरण गर्दै संसारको पहिलो
विद्युतीय स्टक मार्केटको निर्माण गरको थियो । यसलाई नेशनल एसोसिएसन अफ
सेक्युरिटीज डिलर्स अटोमेटेड कोटेसन्स संक्षिप्तमा 'नास्डाक' भनिन्छ ।
मालपोत कार्यालय जस्तो हरेक
क्षेत्रमा शेयर हस्तान्तरण सम्बन्धि कार्यालयको संजाल स्थापना गर्न जटिलता हुने
हुँदा वित्तीय बजारमा प्रवेश गर्न चाहनेको लागि स्वचालित विद्युतीय कारोबारले
सहजता बढाउन मद्दत पुग्छ ।
वोर्डको अनलाईन
नेपाल स्टक एक्सचेन्जले
स्वचालित विद्युतीय कारोबार प्रणाली (अनलाईन सिष्टम) जडान गर्ने अन्तिम चरणमा
पुगेको बेला वोर्डले जारी गरेको 'इन्टरनेट' मार्फत खरिद-बिक्री आदेश
दिनसक्ने व्यवस्था गर्न परिपत्र गरिएको सम्बन्धि प्रेस विज्ञप्ति' हाँसोमय बनेको छ । विज्ञप्तिमा 'लगानीकर्ताको हितलाई
दृष्टिगत गरी धितोपत्रको कारोबार प्रक्रियालाई थप सहज, पारदर्शी, छिटो, छरितो र लगानीकर्तामैत्री
बनाउन तथा दलालको कार्यालयमा रहने कारोबार सम्बन्धि अभिलेखलाई अझ व्यवस्थित र
सुदृढ गर्न हाल उपयोग गरिरहेको ब्रोकर ब्याक अफिस सफ्टवेयरमा इन्टरनेट मार्फत
प्राप्त खरिद-बिक्री आदेश दिने व्यवस्था गर्न २०७३ फाल्गुन २६ गते परिपत्र गरिएको
स्मरण गराएको छ ।' विज्ञप्तिमा 'उक्त व्यवस्थालाई थप परिमार्जित र सुधार गर्दै जाने क्रममा
वोर्डद्वारा दलाल लगायत साझेदारसँग छलफल गरि २०७५ बैशाखदेखि इन्टरनेट मार्फत आदेश
दिन सकिने व्यवस्था गर्न दलाल' लाई परिपत्र गरिएको भनिएको छ । विज्ञप्तिको अन्त्यमा 'निकट भविष्यमा शुरु हुन्
लागेको अनलाईन कारोबार प्रणालीका लागि आधार तयार/सहज हुने' भनिएको छ ।
सेमिअनलाईनको नौटंकी
सेमिअनलाईन नामक हतियार
मार्फत वोर्ड र यसमा आवद्ध संगठनको निहित स्वार्थ भनेको कुनै न कुनै रुपमा नेपाल
स्टक एक्सचेन्जलाई असफल बनाएर अर्को स्टक ल्याउने पूर्वाभ्यास हो भन्दा फरक पर्दैन । नेप्सेलाई अनलाईन प्रणाली
जडान गराउनबाट अनेक तिकडमबाजी लगाएर सकेसम्म रोक्ने, नसके लम्ब्याउने र नेप्सेले
अनलाईन ल्याएन भन्दै आरोप लागाएर अनलाईन सहितको अर्को स्टक ल्याउन आफैँ एवम
लगानीकर्ताको संगठनलाई पनि फलाक्न लगाउने जोडदार प्रयास भएकै हो । अनलाईन सम्बन्धि विषयमा
मुद्दा परेपछि सुनुवाईको पेशी स्थगित गरेर समेत वोर्डले असफल बनाउन भूमिका खेलेको
हो । अनेक प्रयासका बाबजूद पनि नेप्सेको अनलाईन नरोकिने भएपछि अन्तिम
अस्त्रकोरुपमा रातारात सेमिअनलाईनको नाटक रचियो । नेप्सेले अनलाईन जडान गर्ने
क्रममा धमाधम यसका साझेदारसँग अन्तरक्रिया गरेर पृष्ठपोषण (फिडव्याक) माग गर्न
थालेपछि वोर्डलाई सहि नसक्नु पिडा भयो । यसैको परिणामस्वरूप रातारात
मन्चन गरिएको नाटकको नाम सेमिअनलाईन हो । सेमिअनलाईन भनेर लगानीकर्ता
अल्मल्याएर आफूतिर तान्ने, यिनै लगानीकर्ताको तथ्यांक लगायत अन्य कुरा पहिले नै कब्जा गरेर
राख्ने र यसलाई पछि विस्तारै उपयोग (दुरुपयोग) गर्दै नेप्सेको प्रणालीमा हमला
गराएर असफल भएको देखाएर अर्को स्टक ल्याएर नेप्सेलाई उतै लगेर गाभिदिने एवम
राष्ट्रको अरबौं सम्पत्ति निजि कम्पनीलाई जिम्मा लगाउने खेलमा वोर्ड लागेको कुरा
दिनको घाम जत्तिकै छर्लंग भएको लगानीकर्ताले राम्रैसँग बुझेका छन्, नबुझेको भए बुझ्नु जरुरी छ ।
यस्तो घटनाको
पृष्ठभूमिकोरुपमा केहि समय अघि लगानीकर्ताको एउटा संगठनले सि-आस्बाको अभिमुखीकरण
गर्ने भन्दै अहिले ल्याइएको कथित सेमिअनलाईनलाई प्रवर्द्धन गरिसकेको थियो । सि-आस्बा भन्दै यसो
गर्नुपर्ने तात्त्विक कारण के थियो अहिले आएर खुलिसकेको छ । सवल र सुरक्षित पूँजीबजार
निर्माण गरि लगानीकर्ता हित, प्रणालीगत जोखिम न्यूनीकरण र पारदर्शीता कायम गर्न
असफल बनेको वोर्ड अझ कति असफल बन्दै जाने हो हेर्न बाँकी छ । नागरिकले तिरेको करबाट तलब
र भत्ता अनि लगानीकर्ताले शेयर खरिद-बिक्री गरेको रकमबाट लिने शून्य दशमलव शून्य
१५ प्रतिशत शुल्क लिने वोर्डले लगानीकर्ता भन्दा कम्पनीको बढी हित गरेको दृष्टान्त
जति खोजे पनि भेटिन्छ । ग्राहकले यस्तो खाले नौटंकी मागेकै थिएनन् र ग्राहकले अन्तर दिन
(इन्ट्रा डे) कारोबार, स्वचालित राफसाफ र आफैँले खरिद-बिक्री आदेश प्रविष्ट गर्ने पाउने
प्रविधि मागेका थिए । वोर्डको कथित अनलाईनमा उल्लेखित कुनै कुरा रहेको छैन । कथित सेमिअनलाईन प्रणालीमा
ग्राहकले प्रविष्ट गरेको आदेश आफैँ नेप्सेको कारोबार प्रणालीमा प्रविष्ट हुँदैन र
कारोबार कक्षमा रहने दलालको कर्मचारीले प्रविष्ट गराउनुपर्ने हुन्छ । यसप्रकारको अभ्यास अहिले
हैन धेरै पहिलादेखि फोन, सन्देश, इमेलबाट आदेश लिएर कारोबार भईरहेको छ । यसलाई सेमिअनलाईन भनेर
प्रचार गर्नुपर्ने कुनै कारण थिएन ।
आवरणको भित्रको कालो
वोर्डले विज्ञप्तिमा 'सुधारिएको ब्रोकर ब्याक
अफिसको प्रयोगले नेप्सेले ल्याउन लागेको पूर्ण अनलाईन कारोबार प्रणालीलाई सहयोग
पुग्ने' भने पनि नेप्सेले जडान गरिरहको अनलाईन प्रणालीसँग 'गोरु बेचेको साइनो' पनि लाग्दैन । नेप्सेको स्वचालित अनलाईन
कार्यान्वयनमा आउने मिति जति नजिकिँदै गएको छ त्यति वोर्डका अधिकारी/पदाधिकारीको
छटपटी पनि बढ्न थालेको देखिएको छ । वोर्डलाई साँचै चिन्ता भएको
भए अनलाईन कारोबार प्रणालीसँगसँगै आउने क्रममा रहेको मार्जिन कारोबार सम्बन्धि
कार्यविधि स्विकृत गरेर त्यस सम्बन्धि अभिमुखीकरण गराएको भए अनलाईन र मार्जिन
कारोबार दुबैबारे बुझ्न मद्दत पुग्ने थियो तर यस्तो गर्ने जाँगर चलेन । त्यस्तै अनलाईन कारोबार
गर्न वाधा उत्पन्न गराउने कुनै कानुन भए त्यसलाई संशोधन र कानुन अपुग भए अर्को
कानुन बनाउन सम्बन्धित निकायसँग समन्यव गर्नुपर्नेमा यस्तो गर्न पहल गरेको देखिएन । प्रकरणको शृंखलाबद्धताले
बाहिरी आवरण जेसुकै देखाए पनि भित्री चेहराको घातक रुप अर्को स्टक हो । यति पनि गर्न सकिएन भने
एउटा नाफामुखी निजि कम्पनीलाई बोकेर अहिले 'हाइलाइट' गरेको प्रतिफल पछि उसैकोमा
जागिर वा हिस्सा पाइने त छँदैछ ।
संसार अहिले साइवर हमलाबाट
आक्रान्त भइरहेको बेला सफ्टवेयरको जडान र वेवसाइटको सुरक्षा जस्ता सामान्य मापदण्ड
समेत पुरा नगरेको सफ्टवेयर उपयोगमा ल्याएर गोप्य सूचना तथा तथ्यांकमा अनधिकृत
पहुँच कायम गर्ने र त्यसको आधारमा बजार आफू अनुकूल चलाउने बदनियत पनि अर्को घातक
पाटो बन्न सक्ने हुँदा वोर्डले आजैको मितिबाट आफूले जारी गरेको परिपत्र खारेज गरि
नेप्सेले जडान गरिरहेको प्रणालीको प्रचार-प्रसारमा लाग्नु पर्ने टड्कारो आवश्यकता
छ । उपयोगमा ल्याउन आदेश गरिएको
सफ्टवेयरको माथिल्लो भागको देब्रेतर्फ निर्माता कम्पनीको लोगो राखिनुले 'नेपाल स्टक एक्सचेन्जले
जडान गर्न लागेको अनलाईनलाई सहज गराउन भन्नु' ठाडै वेइमानीको अधिकतम
पराकाष्ठा हो ।
अन्तमा, सूचना प्रविधिका विज्ञको
भनाई अनुसार अहिलेको कथित सेमिअनलाईनमा उपयोगकर्ताले राख्ने युजर नेम तथा पासवर्ड
सुरक्षित नभएकोले यस्तो अवस्थामा कुनै पनि तथ्यांकको सुरक्षा र व्यक्ति/संस्थाको
गोपनियता समेत सहजै भंग हुने अवस्था देखिएको छ । लगानीकर्ताले यो सुबिधा
बहिस्कार गरेर आफ्नो गोप्यता बचाउनुको विकल्प देखिन्न ।
आर्थिक अभियान, २०७५ बैशाख
१० गते
http://www.abhiyan.com.np/2018/04/23/198796