Saturday, January 27, 2024

आईपीओ र हकप्रद रोक्न मिल्छ ?

आईपीओ र हकप्रदले शेयर आपूर्ति बढाई शेयर मूल्यमा गिरावट आएकोले यस्ता वित्तीय उपकरण जारी गर्ने कार्य रोक्नुपर्ने आवाज उठिरहेको छ l नेपाल धितोपत्र बोर्डले तत्काल आइपीओ र हकप्रद तत्काल दर्ता नगर्ने र दर्ता भएकालाई पनि स्वीकृति नदिने आशयको समाचार प्रकाशित भए पनि बोर्डले आईपीओ दर्ता गरिरहेको छ l  वित्तीयरुपमा कमजोर कम्पनीलाई आईपीओ र हकप्रद स्वीकृति दिएको भन्ने प्रसङ्ग पनि आएका छन् l विश्व लगानीकर्ता सप्ताह, २०८० मनाउने कार्यक्रमको सिलसिलामा बोर्डका अध्यक्ष रमेशकुमार हमालले कमजोर कम्पनीले नै हकप्रद जारी गर्ने हो भने टिप्पणी गरेका थिए l उनले गरेको टिप्पणीमाथि प्रतिटिप्पणीको ओइरो लागेको थियो l हकप्रद किन मागिन्छ ? हकप्रद ल्याउनमा बोर्डको के भूमिका हुन्छ ? हकप्रद सम्बन्धमा बोर्डले थप के गर्न आवश्यक छ ? लगानीकर्ताको के भूमिका हुन्छ ? कम्पनी सञ्चालक समितिको कस्तो भूमिका हुन्छ ? यी र यस्तै प्रश्नको उत्तर र आईपीओ रोक्न मिल्छ कि मिल्दैन ? भन्ने विषयमा यस आलेखमा चर्चा गरिनेछ l  

आईपीओसम्बन्धी कानुन

कुनै पनि क्षेत्रका कम्पनीले आईपीओ जारी गर्न सक्छन l प्राइभेट कम्पनीको रुपमा दर्ता भएका कम्पनी पनि पब्लिक कम्पनीको योग्यता पुर्याएर पब्लिकमा रुपान्तरण हुनसक्छन् l कुनै पनि कम्पनीको तालुकी कानुन कम्पनी ऐन, २०६३ हो l समस्त कम्पनीको दर्ता कम्पनी रजिष्ट्रार कार्यालयमा हुन्छ l कम्पनीले गर्ने व्यवसायअनुसार तत् तत् कानुनले तोकेको निकायबाट कारोबार इजाजत लिनुपर्ने हुन्छ l कुनै पनि पब्लिक कम्पनीले कारोबार शुरुआत गर्नुअघि रजिष्ट्रार कार्यालयबाट पनि स्वीकृति लिनुपर्छ l कम्पनी ऐनले सूचीकृत हुन चाहने कम्पनीले धितोपत्रसम्बन्धी कानुनले तोकेको शर्त र मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था गरेको छ l बैंकिंग र बिमा कम्पनीले अनिवार्य आईपीओमा जानुपर्छ भने अन्य कम्पनी  स्वेच्छिकरुपमा जान सक्छन l आईपीओ जारी गर्ने कम्पनीको पहिलो योग्यता पब्लिकमा दर्ता हुनु हो l कम्पनी रजिष्ट्रार कार्यालयको तथ्यांकअनुसार यस्ता कम्पनीको सङ्ख्या १ हजार ९ सय ५८ वटा छ l पहिलो योग्यता पुगेका  कम्पनीले धितोपत्रसम्बन्धी कानुनको अधिनमा रहेर सूचीकरणमा आउन सक्छन l आईपीओ जारी गर्ने कम्पनीले धितोपत्र दर्ता तथा निर्गमन (निष्कासन) नियामावली, २०७३ ले तोकेका मापदण्ड पूरा गर्नुपर्छ l नियमावलीको नियम ९ मा नियामक निकाय भएका कम्पनीको हकमा नियामकले तोकेको र अन्यको हकमा जारी पूँजीको कम्तिमा १० र बढीमा ४९ प्रतिशत शेयर जारी गर्नुपर्छ l नियामावलीको नियम ९(३) अनुसार बैंक र बिमाबाहेकका कम्पनीले पूरा गर्नुपर्ने विभिन्न ११ वटा शर्त तोकेको छ l यी शर्त पूरा गरेर आउने कुनै पनि कम्पनीले आईपीओ जारी गर्न सक्छन l त्यस्तै, नियमावलीको नियम ९ख. अनुसार रेटिङसमेत गराएको हुनुपर्छ l बोर्डले विवरणपत्रसहित निवेदन प्राप्त भएपछि त्यसको जाँचबुझ गरि स्वीकृति दिन्छ l

हकप्रदसम्बन्धी कानुन

धितोपत्रसम्बन्धि ऐन, २०६३ को दफा २(म) मा 'हकप्रद निर्गमन (निष्काशन) भन्नाले कम्पनीले निर्गमन गरेको कुनै धितोपत्र साविकका शेयरवाला वा निजले मनोनयन गरेको कुनै व्यक्तिले खरिद गर्न पाउने गरी राखिएको प्रस्ताव सम्झनुपर्छ' भनेको छ l त्यस्तै, धितोपत्र दर्ता तथा निर्गमन (निष्काशन) नियमावली, २०७३ को नियम १७ देखि २१ सम्म र धितोपत्र निर्गमन (निष्कासन) तथा बाँडफाँड निर्देशिका, २०७४ को दफा १२ देखि १५ सम्म हकप्रदसम्बन्धी व्यवस्था छ l नियमावलीको नियम १७(१) मा 'कम्पनीले तोकेको मितिमा कायम रहेका शेयरधनीलाइ धितोपत्र जारी गरि पूँजी बढाउने भएमा धितोपत्रको हकप्रद निर्गमन गर्न सक्नेछ' भन्ने व्यवस्था छ । नियम १७(१)(क) र (ख) मा सञ्चालक समितिले हकप्रद जारी गर्ने निर्णय गरेको २ महिनाभित्रमा साधारण सभामा विशेष प्रस्ताव वा विशेष सभा गरेर पारित गरी त्यसको २ महिनाभित्र बोर्डमा आवेदन गर्नुपर्ने व्यवस्था छ l नियम १८, १९ २० र २१ मा क्रमशः हकप्रद खुला रहने अवधि, हकप्रद शेयर खरिद गर्न मनोनयन गर्न सकिने, हकप्रद शेयरको बाँडफाँड गर्नुपर्ने समयावधि र लिलाम बढाबढ गर्नुपर्ने प्रक्रियाका कुरा छन् l

त्यस्तै, निर्देशिकाको दफा १२ मा हकप्रद शेयर निर्गमनको लागि पूरा हुनुपर्ने अवस्था, दफा १३ मा बैङ्क, वित्तीय वा बीमाबाहेकका कम्पनीको हकप्रद, दफा १४ मा हकप्रद शेयर निर्गमनका अन्य व्यवस्था र दफा १५ मा हकप्रद शेयर लिलाम बढाबढ गर्ने प्रक्रियाको बारेमा व्यवस्था छ l निर्देशिकाको दफा १३(१)(ख) मा ‘बैंकिंग र बिमा कम्पनीबाहेकले आइपीओ निर्गमन गरेको कम्तीमा दुई वर्ष पूरा भएको’ भन्ने व्यवस्था छ l हकप्रदसम्बन्धि सारभूत कानुनी व्यवस्था यति हो ।

हकप्रदमा कसको भूमिका

बोर्डले कमजोर कम्पनीलाई हकप्रद दियो भन्ने कुराको कुनै अर्थ छैन l मजबुत वित्तीय अवस्था भएका कम्पनीले हकप्रद जारी गर्दैनन् l हकप्रद जारी गर्ने भेनेकै कमजोर कम्पनीले हो l कम्पनी कमजोर हुँदैमा हकप्रद जारी गर्न पाइन्न भन्ने हो भने हकप्रद भन्ने वित्तीय औजारको औचित्य के रह्यो र ? सवल भनिएका कम्पनी कमजोर र कमजोर भनिएका कम्पनी सवल बन्नसक्छन l कमजोरभित्र पनि सवल देखिने भित्री पाटो हुन्छ l कमजोर लाग्नेले त्यस्ता कम्पनी छाड्न सक्ने विकल्प पनि छ l हकप्रदको शुरुआत बोर्डबाट हैन, कम्पनीबाट हुन्छ l कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरि शेयरधनीको सभा (साधारण वा विशेष) ले पारित गरेपछि धितोपत्रसम्बन्धी प्रचलित कानुनले तोकेअनुसारको प्रक्रिया पूरा गरेपछि बोर्डले स्वीकृति दिन्छ l हकप्रद जारी गर्ने/नगर्नेसम्बन्धी सर्वाधिर शेयरधनीमै अन्तर्निहित हुनेहुँदा यसमा शेयरधनी नै मुख्य जिम्मेवार हुनुपर्छ l हकप्रद एक वित्तीय उपकरण भएको हुँदा यसलाई जारी गर्ने नगर्ने/निर्णय गर्ने अधिकार कम्पनीको सभाबाहेक अरुलाई छैन l सभामा शेयरधनीले यसको आवश्यकता, प्राप्त हुने रकमको उपयोग गर्ने क्षेत्र र त्यसबाट प्राप्त हुने प्रतिफल यी आदि विषयमा शेयरधनीले सञ्चालकलाई प्रश्न र प्रतिप्रश्न गर्नुपर्छ l कुनै कम्पनीले शतप्रतिशत हकप्रद जारी रकम उठाउने प्रस्ताव ल्याएमा (१) त्यसबाट प्राप्त हुने रकम कहाँ-कहाँ कति-कति लगानी हुन्छ ? (२) त्यसबाट कति वर्षमा कति प्रतिशत प्रतिफल प्राप्त हुन्छ ? र (३) प्रतिफल प्राप्त हुने आधार के के हुन् ? यी आदि कुरामा शेयरधनीले सञ्चालकलाई प्रश्न गर्नुपर्छ l सभाले पारित नगरेसम्म हकप्रद कार्यान्वयनमा नआउने हुँदा उचित कारण आए मात्र यसलाई पारित गर्नुपर्छ l बोर्डले पनि हकप्रदको सम्बन्धमा हकप्रदसम्बन्धी विशिष्टीकृत कानुन निर्माण गर्नुपर्छ l हकप्रद अलि अव्यवस्थित भएको कुरा साँचो हो l यसलाई व्यवस्थित बनाउनको लागि बोर्डले मुख्यतः (१) शेयरधनीलाई थप आवेदन गर्न दिने, (२) आधारभूत शेयरधनीलाई अन्य शेयरधनीले नलिएको शेयर लिन प्रतिवद्ध गराउने र (३) १ र २ मा उल्लेखित कार्य गर्दा पनि नबिकेमा प्रत्याभूत गराउने गरि हकप्रदसम्बन्धी कानुन निर्माण गरेमा अव्यस्थित हकप्रद धेरै हदसम्म व्यवस्थित हुन्छ l  

रोक्न मिल्छ कि मिल्दैन ?

आईपीओ र हकप्रद रोक्न मिल्छ कि मिल्दैन भन्ने प्रश्नको निरपेक्ष जवाफ पाउन सकिन्न l तर, देशमा प्रतिकूल परिस्थिति सिर्जना भएमा यस्तो बेला कुनै पनि निर्गमन केही समय स्थगन गर्न भने सकिन्छ l अहिले देशमा केही प्रतिकूल समय जस्तो देखिए पनि आईपीओ र हकप्रद निर्गमन स्थगन गरिहाल्नुपर्ने परिस्थिति देखिईहालेको छैन l  पछिल्लो समयमा जारी भएका आईपीओ हकप्रद पूर्णरुपमा बिक्री भएका छन् l सम्भवत अहिलेसम्मको सबैभन्दा ठूलो परिमाण (१० करोड ५९ लाख कित्ता) को अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद पूर्णरुपमा बिकेको सरह मान्नुपर्ने हुन्छ l हकप्रदमा प्रत्याभूत गराउने प्रचलन नभएको हुँदा पूर्णरुपमा कुनै पनि हकप्रद बिक्दैनन l जति प्रयास गर्दा पनि केही हकप्रद शेयर बाँकी रहन्छन् l यसरी बाँकी रहेका हकप्रद लिलामी गर्दा प्रिमियममै बिकिरहेको छ l यसले हकप्रद बिक्रीमा कुनै समस्या छैन भन्ने सङ्केत गर्छ l त्यस्तै, आईपीओको हकमा पनि कुनै समस्या देखिएको छैन l केही वर्ष अघि आईपीओ बिक्नै छोडेको थियो तर, अहिले मागभन्दा कयौं गुणा बढी आवेदन परेर माग्ने जतिले नपाएको उदाहरण प्रशस्तै छ l यस्तो अवस्थामा आईपीओ र हकप्रदले आपूर्ति बढायो र मूल्य घट्यो भन्ने कुराले कुनै सार्थक अर्थ दिंदैन l एनआईसी एसिया बैंक लिमिटेडले ३ करोडभन्दा बढि कित्ता बोनस शेयर थप्दा आपूर्ति नबढ्ने अनि नयाँ कम्पनी सूचीकरणमा आउँदा आपूर्ति बढ्यो भन्ने कुरा तर्कयुक्त छैन l शेयरको मूल्य बढ्नको लागि पहिलो कुरा कम्पनीको आम्दानी देखिनुपर्छ l तर, आम्दानी नै नभएका कम्पनीको पनि शेयर मूल्य अधिक छ l खासगरी वाणिज्य बैंकको शेयर मूल्यमा गिरावट आएको छ l यसो हुनुको मूल कारण गुणात्मक (प्रतिशेयर) आम्दानीमा देखिएको कमि हो l वाणिज्य बैंकको आम्दानी घट्नुमा अत्याधिक पूँजीको भारबाहेक अरु केही हैन l

 

आईपीओ वा हकप्रद पूँजीबजारका वित्तीय उपकरण भएका हुँदा यसलाई निरपेक्षरुपमा बन्द गर्न सकिन्न l सापेक्षरुपमा भने यसलाई केही समय स्थगन गर्न सकिन्छ l तर, यस्ता उपकरण जारी गर्न नदिई रोक्दा त्यसले कम्पनीको योजना नै अवरुद्ध हुने त्यसले लागत बढ्ने हुन्छ l तर, बजार अत्याधिक घट्दो अवस्थामा रहेको बेला र आईपीओ नबिक्ने अवस्था भएमा कम्पनी आफैले नै स्थगन गर्छन् l त्यस्तै, नियामकले पनि कम्पनीलाई स्थगन गर्न लगाउँछन् l उदाहरणको लागि सन् २०१५/१६ मा चिनियाँ शेयरबजारमा निरन्तर गिरावट आउन थालेपछि नयाँ शेयर जारी गर्न तत्काल स्थगन (रोक्न) लगाएको थियो । यस्तै अवस्था आएमा भने नेपालमा पनि परिस्थिति हेरी केही समय स्थगनसम्म गर्नुपर्ने हुन्छ l तर, आईपीओ र हकप्रद बिक्री भईरहेको अवस्थामा रोक लगाउनु आवश्यक छैन l बरु आईपीओ निर्गमनमा अलि कडाई गर्न विद्यमान व्यवस्था अपुग देखिएमा त्यसमा पुनरावलोकन गरेर थप शर्त र मापदण्ड तोक्न भने सकिन्छ l 



२०८०/८/५ अन्नपूर्ण पोष्ट


https://annapurnapost.com/story/446768/

 

  

No comments:

Post a Comment