Monday, September 6, 2021

भित्री कारोबार, परिवार र नियमन

असूचीकृतको कम्पनीको भित्रि कारोबार निरर्थक विवाद 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र सदस्य चन्द्रप्रसाद ढकाल तथा बजार संचालक नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का कार्यकारी प्रमुख चन्द्रसिंह साउद भित्रि कारोबारको विवादमा तानिएका छन् l बोर्डले बुक बिल्डिंग निर्देशिका, २०७७ जारी गरेपछि पहिलोपटक यस विधिबाट धितोपत्र निर्गमन गर्ने अन्तिम चरणमा पुगेको सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर ढुंगाना, ढकाल र साउदले क्रमशः छोरी, भाइ र पत्नीको नाममा किनेपछि भित्रि कारोबारको प्रसँग बाहिर हो l बोर्ड र नेप्से दुबैको तालुकी निकाय अर्थमन्त्रालयले दुवै निकायका नाममा स्पष्टीकरण सोधेपछि अध्यक्ष ढुंगानाले भित्रि कारोबार नभएको, छोरी विवाहित भएको हुँदा परिवारको परिभाषामा नपर्ने र असूचीकृत कम्पनी धितोपत्रसम्बन्धी कानुनको परिधिमा नपर्ने भन्दै मुख्यतः तीनवटा विषय उल्लेख गरी स्पष्टीकरण पेश गरेको सार्वजनिक भएको छ l स्पष्टीकरणमा परेको तीनवटा विषय संक्षेपमा विश्लेषण गरिएको छ l

भित्रि कारोबार

ढुंगानाले भित्रि कारोबार नभएको भनी दिएको स्पष्टीकरण उचित हो l ढुंगानासँगै अन्यको हकमा पनि भित्रि कारोबार हैन l भित्रि कारोबार नभए पनि नियमन निकायको माथिल्लो तहमा रहेकाबाट यस्तो कारोबार हुनु नैतिक र नियमसम्मत दुवै हैन l भित्रि कारोबार हुनको लागि पहिलो शर्त कम्पनी सूचीकरण भएर खुलारुपमा एक्सचेन्जमा कारोबार भईरहेको हुनुपर्छ l सर्वोत्तम सूचीकृत कम्पनी नभएको हुँदा यसमा भित्रि कारोबार भयो भन्नु सर्वार्थ अनुचित कुरा हो l धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९१(१) मा ’कुनै व्यक्तिले धितोपत्रको मूल्यमा असर पार्नसक्ने सार्वजनिक नभएका भित्री सूचना वा जानकारीको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरुलाई कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ’ भनिएको छ l यसैको स्पष्टीकरणमा ‘भित्री सूचना वा जानकारी’ भन्नाले धितोपत्र जारी गर्ने कुनै कम्पनीबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सार्वजनिक भएमा त्यस्तो धितोपत्रको मूल्यमा असर पर्नसक्ने किसिमका सूचना वा जानकारी सम्झनुपर्छ’ भनेको छ l यी दुई वाक्यमा रहेको ‘मूल्यमा असर पार्नसक्ने’ र ‘धितोपत्र जारी गर्ने कुनै कम्पनीबाट सार्वजनिक नभएको’ भन्ने दुई वाक्यांशले कम्पनी सूचीकरणमा रहेकोतर्फ इंगित गर्छ l यसको असर र प्रभाव तत्काल आजको भोलि देखिनुपर्छ l यो व्यवस्थाले एक हप्ताको पनि परिकल्पना गर्दैन l

भित्रि कारोबारमा को को संलग्न हुनसक्छन भन्ने विषयमा ऐनको दफा ९२ मा (१) कम्पनीका सञ्चालक, कर्मचारी वा शेयरधनी, (२) सो कम्पनीलाई पेशागत सेवा प्रदान गर्ने व्यक्ति (बाह्य लेखापरीक्षक, कानूनी सल्लाहकार आदि) र (३) माथि (१) र (२) मा उल्लिखित व्यक्ति वा स्रोतमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क भई कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्नेलाई सूचना र जानकारीमा पहुँच भएको व्यक्ति (लेखापरीक्षण वा ल फर्मको कर्मचारी, संचालक, शेयरधनी वा कर्मचारीको नातेदार आदि) मानिएको छ l ऐनको यो व्यवस्थाले सूचीकृत वा सूचीकरण हुन लागेको कम्पनीका शेयरधनीले शेयर बेचेको घटनाक्रमलाई भित्रि कारोबार भन्न मिल्दैन l कम्पनीका शेयरधनीलाई कानुनी बन्देजका कारण वा अदालती आदेशले शेयर बेच्नमा कुनै रोक लगाएको अवस्थामा बाहेक जुनसुकै बेला शेयर बिक्री गर्न सक्छन l शेयर सम्पत्ति हो, यस आधारमा सर्वोत्तमका शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न सक्छन l कम्पनी र शेयरधनीले बिक्री गर्ने शेयर फरकफरक कुरा हो l स्मरण रहोस सर्वोत्तमले आफ्नो शेयर बेचेको छैन, सर्वोत्तमका शेयरधनीले बेचेका हुन् l कम्पनीले बुक बिल्डिंग विधिबाट शेयर जारी गर्न छुट्टयाएको शेयर कानुनमा तोकिएको विधिबाट ‘मूल्य अन्वेषण’ हुन बाँकी छ l

परिवारको प्रसँग

अध्यक्ष लगायत तिनैजना आफूले शेयर किनेको देखिन्न l ढुंगानाले छोरी विवाहित भएको, आफूले पालनपोषण गर्नुनपर्ने, परिवारको सदस्य नभएको र आफूले रकमसम्म उपलब्ध गराएको स्पष्टीकरण दिएका छन् l विवाहित छोरी परिवारको सदस्य नमानिने भनी दिएको जवाफमा असहमत हुने ठाउँ छैन l तर, परिवारको परिभाषाको सिमा कुन हदसम्म लागु हुन्छ भन्नेतर्फ दृष्टिगत गर्नुपर्छ l परिवार संकुचित अवधारण हो, यसको उपयोग कर्मचारी वा पदाधिकारीको पदसम्म मात्र सिमित हुन्छ र यो मुख्यतः भरणपोषणसँग सम्बन्ध राख्छ l कुनै संस्थामा आवद्ध भएको अवस्थामा त्यहाँबाट प्राप्त हुने सेवा सुविधाको हदसम्म यसलाई लागु गरिन्छ l जस्तो: कुनै कर्मचारी वा पदाधिकारीको परिवारले प्राप्त गर्ने औषोधोपचार वा बिमा सुबिधा क-कसलाई दिने भन्ने सन्दर्भमा एकै चुल्होमा खाने, आफैँले भरणपोषण र काजकिरिया गर्नुपर्ने सदस्यसम्म सिमित हुन्छ l कुनै पनि आर्थिक कारोबारको सन्दर्भमा परिवार हैन, नजिकको नातेदार हेरिन्छ l परिवार र नातेदार फरकफरक अवधारणा हुन् l

समाजशास्त्री/मानवशास्त्रीले नातेदारी प्राथमिक, द्वितीयक र तृतीयक गरी तीन तहको हुने बताएका छन् l भारतीय समाजशास्त्री डा. श्यामाचरण दुबेले पिता, माता, दाजुभाई, दिदीबहिनी, पति, पत्नी, पुत्र, पुत्री गरी ८ वटा प्राथमिक नाता हुने बताएका छन् l प्राथमिक नाताका, प्राथमिक नातालाई द्वितीयक र द्वितीय नाताका पनि प्राथमिक नातालाई तृतीयक नाता भनिन्छ l अमेरिकन समाजशास्त्री जर्ज पिटर मुरडोकले द्वितीयक र तृतीयक नाता क्रमशः ३३ र १ सय ५१ वटा हुने बताएका छन् l धितोपत्र बोर्ड सूचीकृत र सूचीकृत हुने क्रममा रहेका कम्पनिको नियामक हो l कम्पनीको सन्दर्भमा नातेदारको लर्को खोजी गर्दा कम्पनी ऐन, २०६३ आकर्षित हुन्छ l ऐनको दफा २(त्र) मा ‘नजिकको नातेदार’ भन्नाले एकासगोलको अंशियार वा पति, पत्नी, बाबु, आमा, सासू, ससुरा, दाजुभाइ, दिदीबहिनी, भाउजू, बुहारी, सालासाली, भिनाजु, काकाकाकी, मामामाइजू, छोरा, छोरी, छोराबुहारी, नाति, नातिनी, नातिनीबुहारी वा ज्वाइँ सम्झनुपर्छ’ भनेको छ l यसले परिभाषाले ‘विवाहित वा अविवाहित’ केही नभनी ‘छोरी’ मात्र भनेबाट ‘विवाहित छोरी’ भनेर उन्मुक्ति पाइन्न l कम्पनी ऐनले दिएको नजिकको नातेदारको सूची अपूरो देखिएको हुँदा प्राथमिक, द्वितीयक र तृतीयकसमेत १ सय ९२ वटा नातेदारलाई समावेश गर्नुपर्ने देखिन्छ l मित र धर्मपुत्र/पुत्री नपरेको भए यसलाई पनि समेट्नुपर्छ l

नियमनको परिधि

ढुंगानाले सर्वोत्तम सूचीकृत नभएको हुँदा धितोपत्रसम्बन्धी कानुनको परिधिमा नआएको कम्पनी हुँदा यसमा धितोपत्रसम्बन्धि कानुनी व्यवस्था लागु हुन्न भनेर दिएको जवाफसँग सहमत हुन् सकिन्न l हरेक पब्लिक कम्पनी सम्भावित सूचीकृत कम्पनी हुन् l त्यसमा पनि सर्वोत्तमले साधारणसभाबाट सूचिकरणमा जाने प्रस्ताव पारित गरिसकेको हुँदा धितोपत्रसम्बन्धि कानुनको परिधिमा आइसकेको छ l अझ सर्वोत्तमले धितोपत्रसम्बन्धि ऐनकै अधिनमा बनेको धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ अनुसार बिक्री प्रवन्धकसमेत नियुक्त गरिएसक्वेको अवस्थामा सर्वोत्तम धितोपत्रसम्बन्धि कानुनको परिधिमा पर्दैन भन्ने जवाफसंग सहमत हुन सकिन्न l सूचीकरणमा आउने भन्ने निर्णय हुनासाथ कुनै पनि कम्पनी नियमनको परिधिमा आइसकेको हुँदा यसलाई नियमन गर्न छुट्टै निर्देशिका तर्जुमा गरी यथाशीघ्र लागु गर्नुपर्ने देखिन्छ l निर्देशिकामा साधारणसभाले सूचीकरणमा जाने प्रस्ताव पारित गरेदेखि सूचीकरण नभएसम्म के के गर्न पाइने के के गर्न नपाईने उल्लेख गर्नुपर्छ l

२६ साउन २०७८, आर्थिक अभियान 

https://www.abhiyandaily.com/newscategory-detail/392514

No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...