Monday, April 26, 2021

शेयर कारोबारमा आदेश प्रविष्टि र अवधि

एक दिनदेखि अनन्तकालसम्म रहने

शेयर कारोबार गर्दा खरिदबिक्रीका लागि प्रविष्ट गरिने आदेश र बहाल रहने अवधी विभिन्न प्रकारका हुन्छन् l एकपटक हालेको आदेश १५ दिनसम्म कायम रहन्छ भन्ने बाहेक अन्य प्रकारका आदेश कति दिन वा समयसम्म कायम रहन्छ भन्ने विषय धेरैका लागि नौलो छ l अनलाईन प्रणालीमार्फत शेयर कारोबार हातहातमा पुगे पनि प्रविष्ट गरिने आदेश र वहाल रहने अवधीको जानकारी प्राय:लाई छैन l अझ कतिपयलाई त उपकरण (शेयर र फण्डका एकाइ) छनौट गरेर आदेश प्रविष्ट गर्नुपर्छ भन्ने पनि जानकारी भएको देखिन्न l अनलाईन प्रणालीको टीएमस (ट्रेड म्यानेजमेन्ट सिष्टम) मा उपयोगकर्ता प्रविष्ट भएपछि आदेश व्यवस्थापन (अर्डर म्यानेजमेन्ट) खण्डमा देखिने उपकरणका प्रकार, प्रविष्ट गरिने आदेश, आदेश वहाल रहने अवधी र मूल्यको प्रकारका बारेमा पर्याप्त जानकारी विना कारोबार सम्पन्न हुनसक्दैन l

टीएमएसका उपकरण 

टीएमएसमा प्रवेश गरेआदेश व्यवस्थापन (अर्डर म्यानेजमेन्ट) खोलेपछि आदेश (खरिद वा बिक्री) भन्ने विकल्प देखिन्छ l कारोबारका लागि ईक्वीटी (ईक्यू), बोन्ड (बीओ), म्युचुअल फन्ड (एमएफ), नन कन्भर्टीएबल डिवेन्चर (एनसीडी), प्रिफरेन्स शेयर (पीएस), पार्सल्ली कन्भर्टीएबल डिवेन्चर (पीसीडी), फुल्ली कन्भर्टीएबल डिवेन्चर (एफसीडी) र वारेन्टस (डब्लुएस) गरी ८ प्रकारका वित्तीय उपकरण देखिन्छन् l शेयरलाई जनाउन ईक्यू शब्द राखिएको छ l नेपालको शेयरबजारको सर्वाधिक प्रचलित वित्तीय उपकरण यही हो l यसपछिको दोस्रो सर्वाधिक प्रचलित उपकरण एमएफ हो l प्रचलित भाषामा डिवेन्चर भनिने उपकरण एनसीडीको नाममा कारोबार हुन्छ l कारोबार गर्दा यिनै उपकरणका प्रकार (आईएनएसटी टाईप) रोजेर आदेश प्रविष्ट गर्नुपर्छ l

आदेशको प्रकार

टीएमएसमा भएका वित्तीय उपकरण किनबेच गर्न विभिन्न प्रकारका आदेश प्रविष्ट गर्न सकिन्छ l आदेश कार्यान्वयन कसरी गराउने भन्ने ३ वटा विकल्प छन् l

 

१.        अल अर नोन  - प्रविष्ट कित्ता सबै कार्यान्वयन गराउने वा गराउँदै नगराउने अर्थात् अल अर नोन यस अन्तर्गत पर्छ l यसमा आँशिक कित्ता स्वीकार गरिन्न अर्थात्  कार्यान्वयन हुन्न l यसका फाईदा भनेको मागे जति कित्ता आफुले भनेकै भाउमा पाउन वा बेच्न सकिन्छ l जस्तो ५ हजार कित्ता शेयर ५ सय रुपैयाँको दरले आदेश प्रविष्ट गर्दा त्यतै नै कित्ताको लागि आदेश नआएसम्म कार्यान्वयन हुँदैन र रद्द हुन्छ l यस्तो प्रकारको आदेश लगभग फिल अर किल भन्ने अर्को प्रकारको आदेशसँग केही हदसम्म मिल्दोजुल्दो l

 

२.   तुरुन्त वा रद्द - आदेशको अर्को विधि ईमीडीयट अर क्यान्सिल हो l यसप्रकार आदेश प्रविष्ट हुनासाथ कार्यान्वयन हुन्छ वा तुरुन्तै रद्द हुन्छ l पुरै आदेश रद्द हुनु अघि तत्काल उपलब्ध कित्ता कार्यान्वयन पनि हुनसक्छ l उदाहरणको ५ सय रुपैयाँका दरले १ सय कित्ता आदेश प्रविष्ट भएकोमा पूरै कार्यान्वयन, पुरै रद्द वा आँशिक कार्यान्वयन हुन्छ l यस्तो आदेश कायम रहने अवधी सेकेण्डमा हुन्छ l 

        

 ३.    फिल अर किल - यसप्रकारको आदेशको स्वरूप लगभग अल अर नोन जस्तै हुन्छ l अल अर नोनमा बहाल रहने अवधी दिनभर हुन्छ भने यसमा प्रविष्ट गरिएका आदेश तुरुन्त कार्यान्वयन हुने वा तुरुन्त रद्द हुन्छ l यसको समयावधि सेकेण्डमा हुन्छ l


आदेश वहाल रहने अवधी

कारोबार समय शुरु भएपछि टीएमएसमा पूर्व, विशेष पूर्व र निरन्तर सत्र अन्तर्गत आदेश प्रविष्ट गर्न सकिन्छ l प्रविष्ट गरिएको आदेश वहाल रहने अवधी १ दिनदेखि रद्द नगरेसम्म कायम हुन्छ र सो अवधीभित्र मेल खाएमा कार्यान्वयन हुन्छ l शेयर कारोबारमा निम्न ३ किसिमका आदेश बहाल रहने अवधी छन् l

 

१.     डे - यसमा कारोबार खुलेको समयमा जुनसुकै बेला प्रणालीले तोकेको मूल्यान्तरमा आदेश प्रविष्ट गर्न र दिनभरमा जतिपटक पनि मूल्यान्तर भित्र रही संशोधन गर्न सकिन्छ l यो सर्वाधिक प्रचलित विधि हो l यस विधिबाट प्रचलनमा रहेका शेयर (ईक्यु), म्युचुअल फन्ड (एमएफ)नन कन्भर्टीएबल डिवेन्चर (एनसीडी) कारोबार गर्न सकिन्छ l पूर्व कारोबार सत्रमा प्रणालीले तोकेको मूल्यान्तरमा यस्तो आदेश हाल्न सकिन्छ l

 

२.       जिटीसी -  जिटीसी अर्थात गुड टिल क्यान्सिल्ड प्रकारको आदेश बीचमा रद्द नगरेमा तोकिएको दिनसम्म प्रणालीले कायम राख्छ र सो अवधी पूरा भएपछि स्वत: रद्द हुन्छ l यस्तो आदेश प्रविष्ट गरेको दिनदेखि १५ दिन (कार्य दिन हैन) सम्म कायम रहन्छ l यस्तो आदेश निरन्तर सत्र (११ बजेदेखि ३ बजेसम्म) मा मात्र राख्न सकिन्छ l आज फागुन २५ गते यस्तो आदेश राखेमा चैतको १० गतेसम्म कायम रहन्छ र सो दिनसम्म आदेश कार्यान्वयन नभएमा स्वत: रद्द हुन्छ l यस्तो आदेश हरेक दिन राख्न सकिन्छ l आदेश राख्दा सो दिनको मूल्यान्तरमा राख्नुपर्छ l मानौं आजको दिन ५ सय रुपैयाँको आधारमा २ प्रतिशतको मूल्यान्तरमा ४ सय ९० रुपैयाँमा आदेश राखेमा १५ दिनभित्र भाउ बढ्दै ५ सय ५० रुपैयाँ पुगि घट्दै ४ सय ९० मा आइपुगेमा प्राथमिकताको आधारमा यस्तो आदेश कार्यान्वयन हुन्छ l

 

३.       जिटीडी - जिटीडी अर्थात गुड टिल डे प्रकारको आदेश कति समयसम्म वहाल राख्ने भन्ने कुरा प्रविष्टकर्ताले रद्द नगरेसम्म कायम रहन्छ l जिटीसी र यसको मुलभूत भिन्नता भनेको आदेश बहाल रहने अवधिको मात्र फरक हो l अरु सबै कुरा एकै हुन्छ l

 मूल्य प्रविष्टि विधि

प्रविष्ट गर्न सकिने मूल्य लिमिट र मार्केट गरी २ प्रकारका छन् l नेपालमा सीएनसी अर्थात् क्यास एण्ड क्यारीको मात्र कारोबार हुनेहुँदा टीएमएसको आदेश व्यवस्थापन प्रणालीमा यो (सीएनसी) स्थायीरुपमा देखिन्छ l यसबाहेक एमआईस (मार्जिन इन्ट्राडे स्क्वायर अफ), एनआरएमएल (नर्मल) जस्ता अन्य विधि पनि हुन्छन् l अहिलेको प्रचलित कारोबारमा मूल्य प्रविष्ट गर्दा लिमिट वा मार्केटमा मात्र गर्न सकिन्छ l लिमिटमा मूल्य प्रविष्ट गर्दा अन्तिम कारोबार मूल्यको २ प्रतिशतले घटबढ गरेर प्रविष्ट गर्नुपर्छ भने मार्केटमा मूल्य प्रविष्ट गर्दा कम्पनी सङ्केत र कित्ता मात्र प्रविष्ट  गर्न पाइन्छ l बजारमा जुन मूल्यमा कारोबार भएको छ सोहीअनुसार मूल्य आफैँ निर्धारण हुन्छ l

यसबाहेक टीएमएसमा हाल नभएको ब्राकेट, कभर्ड, स्टप लस, स्टप लस मार्केट र डिस्क्लोज क्वान्टीटी जस्ता आदेश पनि  हुन्छन l यस्ता आदेश हालको प्रणालीले समाहित गर्न सक्दैन l हालको कारोबार प्रणाली सीएनसी भएको हुँदा यस्तो आदेशलाई समाहित नगरेको हो l यसबाहेक एएमओ (आफ्टर मार्केट अर्डर) भन्ने पनि हुन्छ l तर, नेपालमा यस्तो किसिमको आदेश प्रविष्ट गर्न सकिने सुबिधा अहिले उपलब्ध भएको छैन l यसप्रकारको आदेश जुनसुकै बेला प्रविष्ट गर्न सकिन्छ र कारोबार भएको बखत प्राथमिकताको आधारमा कार्यान्वयन हुन्छ l यस्ता आदेश प्रविष्ट हुने सुविधाका लागि दलाल कम्पनी आफैले टीएमएसको विकास गर्नुपर्ने हुन्छ l हालसम्म पनि दलालले आफैँले टीएमएस बनाउन नपाएको हुँदा शेयर कारोबारका विविध सेवा सुविधा प्राप्त हुन सकेको छैन l यसका लागि शीघ्रातिशीघ्र दलाल कम्पनीलाई एपीआई (एप्लिकेसन प्रोग्रामिंग इन्टरफेस) उपलब्ध गराउनुपर्छ l साथसाथै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले यसको उपयोगसम्बन्धि दिग्दर्शन सरल भाषामा तयार गरी सार्वजनिक गर्नुपर्छ l 

२५ फागुन २०७७, आर्थिक अभियान 

https://www.abhiyandaily.com/newscategory-detail/383571 

9 comments:

Manik Shrestha said...

लेख धेरै उपयोगी छ सर, धेरै धेरै धन्यवाद 🙏
System मा english मा रहेका केहि शब्दहरु यहाँ नेपालीमा रहेको हुँदा केहि असहज जस्तो लाग्यो पढ्दैजाँदा ।
🙏Thank you so much sir 🙏

Anonymous said...

yo aile ko tms ma AON maile najaneko ho ki mero ma navayeko hola?

Jaya Narayan Bhusal said...

Very good article sir!

Jaya Narayan Bhusal said...

Very good article sir!

Jaya Narayan Bhusal said...

Very informative sir!

ज्योति दाहाल said...

दुबैमा लेखेको छु त ।

ज्योति दाहाल said...

TMS सबैलाई एकै हो कसरी भएन त त्यस्तो नहुनुपर्ने हो । आफ्नो दलाललाई सम्पर्क गर्नुस ।

kukrimart said...

Thank you for Informative Article.....

खगेन्द्र तामाङ said...

धेरै राम्रो जानकारी !

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...