Friday, April 17, 2020

लिलामी बजार : क्लोज आउट समस्या समाधानको अस्त्र

शेयर कारोबार सामान्यतया कम्पनीको शेयरधनी हुन् र शेयरलाई वस्तुसरह कारोबार गरी पूँजीगत लाभ (नाफा) प्राप्त गर्न गरिन्छ  सस्तोमा किनेर महँगोमा बेचेर नाफा कमाउने सुत्र वा प्रचलन आम हो  तर, शेयरबजारमा कारोबार गरेर नाफा लिने एउटा अनौठो तरिका पनि हुन्छ, यसलाई अल्पबिक्री (शर्ट सेल) भनिन्छ  यसमा रमाइलो र अनौठो कुरो के छ भने आफूसँग हुँदै नभएको कम्पनीको शेयर उच्च मूल्यमा पुगेको बखत बेचिन्छ र फेरी किनिन्छ  तर, यस्तो कार्य अर्थात् बेच्ने र किन्ने एकै दिन सम्पन्न हुनुपर्छ  नेपालको धितोपत्र सम्बन्धि कुनै पनि कानुनले यस्तो प्रकारको कारोबारलाई मान्यता दिएको छैन तर, घुमाउरो पाराले यसलाई प्रोत्साहन गरेको देख्न सकिन्छ  आफूसँग भएर वा नभएर वा आंशिकरुपमा भएर कुनै शेयर बेचेर तोकिएको दिनसम्म क्रेतालाई हस्तान्तरण गर्न नसकेमा क्लोज आउटमा परेको मानिन्छ र दण्ड तिर्नुपर्छ 

क्लोज आउटको कानुन

बिक्री पश्चात धितोपत्रको हस्तान्तरण तथा राफसाफ प्रक्रियाका मुख्य पात्र केन्द्रीय निक्षपक (सिडिएस), राफसाफ सदस्य (क्लियरिंग मेम्बर अर्थात् सीएम) र ग्राहक (बिक्रेता) हुन्  धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट विनियमावली, २०६९ को विनियम २(ठ) मा क्लोज आउट’  भन्नाले विनियम २० र २१ मा व्यवस्था भए अनुसार कारोबार राफसाफ तथा फर्छ्यौट गर्ने कार्य सम्झनुपर्दछ भनेर विनियमतिर पन्छाएको छ  विनियम २० मा बिक्री गरिएको परिमाणभन्दा कम संख्यामा धितोपत्र उपलब्ध भएमा सिडिएसले सो बराबरको धितोपत्र राफसाफ तथा फर्छ्यौट गरी नपुग संख्या बराबरको धितोपत्र क्लोज आउट गर्नेछ भन्ने व्यवस्था छ  त्यस्तै, विनियम २१ मा सिएमले राफसाफ सम्बन्धी कार्य सम्पन्न नगरेको कारणबाट क्लोज आउट गर्नुपर्ने अवस्था आएमा सो सम्बन्धमा तरिकासमय, सीमाशर्त र कार्यविधि सिडिएसले निर्धारण गरे बमोजिम हुने भनेको छ  विनियम १९(१) मा कारोबार भएको दिन बाहेक ३ कार्य दिनभित्र राफसाफ सम्बन्धी कार्य सम्पन्न नगरेमा बजारको आवश्यकता एवं प्रकृतिहेरी सिडिएसले क्लोज आउट गर्न सक्नेछ भन्ने व्यवस्था छ  विनियम १९(२) मा विनियम १९(१) अनुसार क्लोज आउट गर्दा लागेको सम्पूर्ण खर्च राफसाफ सदस्यको खाताबाट बेहोरिने व्यवस्था छ  क्लोज आउट गर्दा सिएमले क्लोज आउट भएको कारोबार मुल्यको २० प्रतिशत रकम थप गरी सिडिएसमा बुझाउनु पर्नेछ ।

कानुनमा दोष

विकसित देशमा आफूसँग नभए पनि शेयर बिक्री गरी किन्न सक्ने अल्प बिक्री सम्बन्धि र अरुसँग सापटी (सेक्युरिटीज लेन्डिंग एण्ड बोरोइंग) लिई बेच्न सक्ने व्यवस्था गरेका छन्  सापटी सम्बन्धि कानुनी प्रवन्धन भारतमा भए पनि त्यति प्रचलनमा आउन सकेको छैन  नेपालमा अल्पबिक्री सम्बन्धि प्रष्ट कानुन नभए पनि धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट विनियमावली २०६९ को विनियम १९(१) मा कारोबार सम्पन्न भएको दिन बाहेक ३ कार्य दिनभित्र राफसाफ सम्बन्धी कार्य सम्पन्न नगरेमा बजारको आवश्यकता एवं प्रकृतिहेरी सिडिएसले क्लोज आउट गर्नसक्नेछ भन्ने अमूर्त व्यवस्थाले पछिल्लोसमयमा सक्नेले राम्रै फाइदा उठाएका छन्  विनियममा भएको बजारको आवश्यकता एवं प्रकृतिहेरी भन्ने वाक्यांशले पहुँचवालालाई अल्पबिक्री गर्न छूट दिएको छ भन्ने प्रशस्त आधार भेटिन्छ  पछिल्लो समयमा बजारमा बढ्ने क्रममा तीव्रता आएपछि नभएको शेयर बेचेर घट्दो बजार पर्खिएको र त्यसपछि मात्र राफसाफ गरिएको भन्ने चर्चा आयो तर, यसको बारेमा नियमक (नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्ड) ले छानविन गरेको पाइएन  बरु राफसाफको मिति सारिदिएकोभन्ने आम चर्चाको विषय बन्यो  यदि यस्तो कार्य भएको हो भने यसलाई गम्भीर वित्तीय अपराध मान्नुपर्ने हुन्छ  अनौपचारिकरुपमा बाहिर आएका तथ्य अनुसार भूलवशबिक्री आदेश प्रविष्ट हुँदा राफसाफको लागि मिति सारिएको भन्ने उत्तर दिएर पन्छिने प्रयास भएको देखिएको छ  ‘भूलवशलाई सहयोग पुर्याउने कतै विनियममा उल्लेखित बजारको आवश्यकता एवं प्रकृतिहेरी भन्ने वाक्यांश त हैन ? यदि यसो हो भने यस्तो दुराशययुक्त कानुनी व्यवस्था किन राखियो र यसलाई खारेज किन गरिन्न प्रश्न कानुन (विनियम) निर्माता (सिडीएस) र यसलाई स्वीकृति दिने धितोपत्र बोर्ड माथि तेर्सिन्छ  विनियमावलीको यही वाक्यांशमा टेकेर शेयरबजारमा अवैध कारोबार (अल्प बिक्री) र राफसाफ सार्ने कार्य भईरहँदा पनि नेप्से र बोर्ड चुप लाग्नुलाई अर्थपूर्ण रुपमा हेर्नुपर्ने हुन्छ   

अज्ञानता अक्षम्य

भूल हुनसक्छ यो मानवीय स्वभाव हो  भूलवाट सिकाई पनि हुन्छ  काम गर्नेबाट भूल हुन्छ, नगर्नेवाट हुन्न  तर, भूल भयो भन्दैमा उन्मुक्ति प्राप्त हुन्न  ‘कानुनको अज्ञानता क्षम्य हुन्नभन्ने विधिशास्त्रीय मान्यता (सिद्धान्त) छ  शेयर कारोबार पनि कानुनद्वारा निर्धारित विधि र प्रक्रियावाट हुन्छ  अनलाईनमार्फत आफैँले वा कारोबार कक्षमा रहेको कर्मचारीमार्फत शेयर बिक्रीको आदेश हाल्दा हुनसक्ने भूललाई उन्मुक्ति दिन सकिन्न  सानो भूल भन्दै उन्मुक्ति दिँदै गएमा यस्तै सानातिना भूलले ठूलो अपराधको स्वरूप लिन्छ  अपराध हुन मनसाय र कार्य दुबै हुनुपर्छ तर, मनसाय विना पनि कार्य (अपराध) हुन्छ  मनसाय बिना कार्य (अपराध) हुँदा पनि दण्डित गरिन्छ  यस्तो दण्डको मात्रा भने न्यून हुन्छ र यसलाई गम्भीर नैतिक पतन हुने अपराधको श्रेणीमा राखिन्न  आदेश राख्दा भएको भूल मनसायरहित कार्य भए पनि दण्डित गर्नुपर्छ  तर, मूलतः यस्तो समस्याको मुख्य जड कारण अल्पबिक्री हो  यस्तो बिक्रीले समस्या ल्याएपछि कतिपय देशले यसलाई प्रतिवन्ध समेत लगाएका छन्  नेपालमा भने अनौपचारिकरुपमा विशेष वर्गलाई मान्यता दिएको छ 

क्लोज आउटको समाधान

भूल वा अनजान वा मनसायरहित कार्यलाई कठोर सजाय वा दण्ड हुन्न त्यस्तै, शेयर कारोबारमा पनि यस कार्यलाई उन्मुक्ति दिइनु हुन्न र सामान्य दण्ड दिनुपर्छ  शेयर कारोबारमा भूल वा गल्ति हुनसक्ने सम्भावनालाई सम्बोधन गर्नकै लागि नियमति कारोबार समयभन्दा छुट्टै कारोबार समयमा छुट्टै प्रकृतिको बजार निर्धारण गरिएको हुन्छ र यस्ता बजारबाट नपुग शेयर किनेर राफसाफ गरिन्छ  यस्तो बजारलाई लिलामी बजार (अक्सन मार्केट) भनिन्छ  धितोपत्र कारोबार संचालन विनियमावली २०७५ मा यस्तो बजार संचालन सम्बन्धि व्यवस्था छ  कानुनी पूर्वाधार हुँदाहुँदै र आवश्यक परिसक्दा पनि यस्तो बजार संचालनमा नल्याउनुमा नेप्से दोषी छ  विनियमावलीको विनियम ३४(२) मा अदालत वा नेपाल सरकार वा नियमक निकाय वा प्रचलित कानून बमोजिम अनुसन्धान गर्न अधिकारप्राप्त निकायको आदेश वा कारोबार र राफसाफ प्रणालीमा हुनसक्ने प्राविधिक त्रुटि वा त्यस्तै अन्य कारणले धितोपत्र बिक्रीकर्ताको मौज्दातमा धितोपत्र उपलब्ध हुन नसकेमा नेप्सेले संचालन गर्ने अक्सन कारोबार मार्फत धितोपत्र खरिद गरी राफसाफ गर्न सक्नेछ भनिएको छ  भूलवश कथंकदाचित बिक्रीकर्ताले धितोपत्र दिन नसकेको कारण त्यस्ता व्यक्तिलाई सहजरुपमा नपुग संख्याको धितोपत्र उपलब्ध गराउनु नै लिलाम बजारको मुख्य उद्देश्य भएको हुँदा यथाशिघ्र यस्तो बजार संचालनमा ल्याउनुको विकल्प देखिन्न  यसका अतिरिक्त आदेश प्रविष्ट गर्दा कारोबार प्रणालीमा आवद्ध गरिएको हितग्राही खातामा पर्याप्त धितोपत्र छ कि छैन जाँच गर्ने स्वचालित व्यवस्था हुनु पनि नितान्त जरुरी छ 

२ बैशाख २०७७, आर्थिक अभियान दैनिक 





No comments:

Post a Comment