Friday, April 17, 2020

कोरोना त्रासदीपछिको शेयरबजार


चिनको वुहानमा प्रत्याशित वा अप्रत्याशितरुपमा देखा परेको कोरोना नामक भाईरसको महामारीले संसारको ‘पावर हाउस’ भनिने युरोप र अमेरिकालाई आच्छुआच्छु पारेको छ । यसले विश्वको अर्थतन्त्र के र कस्तो होला भन्ने चिन्ता पनि थपिदिएको छ । पावर हाउस भनिने देश समेत हायलकायल भएको बेला नेपालमा भने ‘देखिएको छैन वा देखिए पनि लुकाइएको छ’ भन्ने दुबै कुरा आएको छ । यसको यथार्थ जे होला त्यसको खोजी यसकै विज्ञले गर्लान तर, यसको नाममा भएको त्रासद र २ हप्ते स्थानहद (लकडाउन) ले बन्द रहेको नेपालको शेयरबजार खुल्दा के होला भन्ने अर्को त्रासद देखिएको छ ।

कोरोनापछिको शेयरबजार

चिनमा कोरोना भाइरसको उदय अक्टोबरमा भएको भनिए पनि यसको प्रभाव तत्काल देखिएन । कोरोनाको प्रभाव चिनपछि दक्षिण कोरिया, युरोपियन देश र अमेरिकामा बढी देखिएको छ । कोरोना त्रासदको प्रत्यक्ष नकरात्मक असर शेयरबजारमा देखिएको छ । कोरोनाको प्रभाव युरोपमा बढी देखिए पनि संसारका १० ठूला स्टक एक्सचेन्जमा पर्ने बम्बे स्टक एक्सचेन्जको बेन्चमार्क इन्डेक्स सेन्सेक्स सबैभन्दा बढी घटेको छ । सन् २०२० जनवरीदेखि मार्चसम्मको ३ महिना अवधिमा ३७ प्रतिशतले झरेको छ । कोरोनाबाट बढी प्रभावित भनिएका इटाली, फ्रान्स, स्पेन, जर्मनी, बेल्जियम, बेलायत र प्रभाव नदेखिएको भनिएको रसियामा अत्याधिक गिरावट देखिएकोछ । कोरोना उत्पत्ति देश चिनका सांघाई र सेन्जेन स्टक एक्सचेन्जमा तुलनात्मकरुपमा त्यति असर परेको देखिन्न । सांघाई सेन्जेन कम्पोजिट इन्डेक्स सन् २०२० जनवरीदेखि मार्चसम्मको ३ महिने अवधिमा १३ प्रतिशतले मात्र गिरावट अएको थियो । तालिकामा केही देशका शेयरबजारको स्थिति देखाइएको छ ।

केही देशका शेयरबजारको स्थिति
क्रसं
देश
सूचक
फरक
(प्रतिशत)
जनवरीदेखि  अप्रिल ३ सम्मको  न्यून विन्दु
जनवरी
अप्रिल
भारत (सेन्सेक्स)
४१,३०६
२७,५९०
३३
२५,९८१
रसिया
१,५६४
१,०४९
३२
८३२
इटली
२३,८३६
१६,३८४
३१
१४,८९४
फ्रान्स
६,०४१
४,१४५
३१
३,७५४
लण्डन
७,६०४
५,४१५
२८
४,९९३
अमेरिका (डाउजोन्स)
२८,८६८
२१,०५२
२७
१८,५९१
नेदरल्याण्ड
६१२
४७१
२३
४०४
जापान
२३,२०४
१७८२०
२३
 १६,५५२
अस्ट्रेलिया
३,६७२
२,८९७
२१
२,६३३
१०
कोरिया
२,१७५
१,७२५
२०
१,४५७
११
हंगकंग (हांगसेंग)
२८,५४३
२३,२३६
१८
२१,६९६
१२
चिन (सांघाई सेन्जेन कम्पोजिट)
३,०८५
२,७६४
१०
२,६६०

गिरावट एक महिनामा
कोरोनाको हल्ला वा वास्तविकता जे आएको भए पनि वर्षको शुरुवात (सन् २०२०) मा प्राय: सबै देशका शेयरबजारको गति उस्तै देखिन्छ । जनवरीदेखि फ्रेबुअरी मध्यसम्म बजार बढ्दो क्रममा देखिन्छ । एक महिना (फ्रेबुअरी १५ देखि २३ - मार्च १५ देखि २३ सम्म) सबैभन्दा बढी गिरावट आएको छ । एक महिने अवधिमा रसियाको शेयरबजारमा सर्वाधिक ४६ प्रतिशतसम्म गिरावट आयो । अप्रिल महिनाको पहिलो हप्तासम्म आइपुग्दा पनि रसियन बजारमा सुधार देखिएको छैन । इटाली, फ्रान्स र बेल्जियममा ३७ प्रतिशतसम्म गिरावट आएको थियो । कोरोना उत्पत्तिस्थल नजिकैको संसारको ठूलो मध्येमा पर्ने हंगकंग स्टक एक्सचेन्जमा १८ प्रतिशतको गिरावट देखिएको छ । युरोपेली देश स्विजरल्याण्डमा भने तुलनात्मकरुपमा थोरै १३ प्रतिशतको गिरावट देखिएको छ । युरोपभन्दा पछि कोरोना पुगेको देश अमेरिकाको डाउजोन्समा युरोपियन बजारकै हाराहारीमा गिरावट आएको छ भने नास्डाकमा तुलनात्मकरुपमा कम गिरावट देखिएको छ । बजारको बढ्ने घट्ने र फेरी बढ्ने क्रम लगभग एकैसाथ देखिएको छ । पछिल्लो समयमा कोरोनाको कहर जति बढ्दोरुपमा देखिएको भनिएको छ त्यति नै मात्रामा शेयरबजारमा वृद्धि हुँदै गएको देख्न सकिन्छ । मार्च मध्यपछिको तुलनामा शेयरबजार बढीसकेको छ । कोरोनाको कहर बिकराल होला वा नहोला संसारका शेयरबजार भने बढ्ने क्रममा देखिईसकेको छ । यसले अर्थतन्त्रमा धेरथोर प्रभाव पार्ला तर, भविष्य हेर्नेको लागि भने अहिलेको बजार घटाई अवसर बनेको प्रष्ट देखिन्छ । शेयरबजार त्रास र आश दुबैको संगम भएको हुँदा जोखिम वहन गर्नसक्नेले प्रशस्त लाभ लिने ठाउँ हो ।

शेयरबजारको आगामी दिन

अहिले संसारभरका देशले नागरिकलाई स्थानहद लगाएका छन् तर, पनि शेयरबजार बन्द गरेका छैनन् । फिलिपिन्समा २ दिन बजार बन्द गरेर पुन: खोलियो । नेपालमा स्थानहद लगाएपछि नेपाल धितोपत्र बोर्डले बजार बन्द रहने घोषणा गर्यो । भारतमा स्थानहदको आदेशपछि पनि  भारतीय प्रतिभूति तथा विनिमय बोर्डले शेयरबजार बन्द नरहने घोषणा गर्यो । शेयरबजार तरलता कायम गराउने वित्तीय बजारको एक अंग भएकोले यसको कारोबार निरन्तर रोकिरहन नहुने भए पनि कहिले खुल्छ भन्ने टुंगो लागेको छैन । संकट देखिएको छ तर, संकटसँग समाधान पनि संगै जोडिएर आएको हुन्छ । बजार खुल्ने वित्तिकै सर्वश्व जान्छ भन्ने धारणा लिनु गलत हो । शेयरबजार घट्ने र बढ्नेकै दोसाँध भएकोले लाभ लिने नै यस्तै बेला हो । घट्दै नघटे वा नबढे त्यो शेयरबजार नै हैन । सावधानी अपनाएर कारोबारलाई आंशिकरुपमा भने पनि चालु गर्नुपर्ने हुन्छ । एउटा भनाइ छ - गोठ बनाएर गाई ल्याउने हैन, गाई ल्याएर गोठ बनाउने हो । गाई ल्याएपछि एकरात जसो तसो पिंढीमा वा उस्तै परे मझेरिमै बाँधेर भए पनि भोलिपल्ट छरछिमेकसँग खाँबो, घोचो, चित्रा भकारी जे पाइन्छ मागेर गोठ बनाउन कर लाग्छ । तर, यहाँ बजार खुलेपछि के होला कति घट्छ भन्ने मनोवैज्ञानिक त्रासले भोक निद्रा हराएको छ । २०७२ बैशाख १२ गतेको महाभूकम्पले केही पूर्वाधारमा क्षति पुर्याएपछि र त्यसपछि पनि निरन्तर पराकम्पन जाने क्रम नरोकिएकोले केही समय कारोबार रोकिएको थियो । कारोबार खुल्दा शेयरबजारमा तीव्र गिरावट देखियो । तर, यस्तो गिरावट धेरै दिन कायम रहेन र पुन: बजारले बढ्दो गति लियो । भूकम्पले कम्पनीको आयमा तात्त्विक असर परेको देखिएन । अहिले पनि कोरोनाले नेपालका सूचीकृत कम्पनीको आयमा उल्लेखनीय असर पार्ने सम्भावना देखिन्न । चालु आर्थिक वर्षको आम्दानीमा केही कमि आउँदा लाभांश कम हुनसक्छ तर, आगामी वर्षदेखि स्थितिमा सामान्यीकारण हुँदै जाने अनुमान गर्न सकिन्छ ।

कम्पनीका लागि पाठ

नेपालका सुचिकृत कम्पनीसँग स्वतन्त्र जगेडा कोष ‘सिलो’ खोजे बराबर छ । विपत्ति जहिले पनि पर्नसक्छ  । विपत्तिको बेला भकारी (जगेडा) मा धन छ भने अनिकाल वा विपत्ति टार्न सकिन्छ  । छैन भने भोकै मर्ने दिन आउनसक्छ  । चालु वर्षमा कमाएको जम्मै रकम बाँडीचुडी खाईहाल्ने प्रवृतिलाई यसै वर्षबाट रोक्नु जरुरी देखिएको छ । नेपालका कम्पनीले संचित कोष राख्नुपर्छ भन्ने स्वविवेकीय ज्ञान राख्न सकेको देखिन्न । नियमनमा रहेका बैंक बिमालाई नियमकले नै कोष (संचिति) राख्न निर्देशन दिनुपर्ने स्थिति देखिएको छ । नियमनमा नरहेका कम्पनीलाई पनि धितोपत्र बोर्डले नै विशेष निर्देशन दिएर वितरणयोग्य नाफाको निश्चित प्रतिशत संचित कोष राख्न लगाउनुपर्ने आवश्यकता देखिएको छ ।

२४ चैत २०७६, आर्थिक अभियान 

No comments:

Post a Comment