नेप्से कति पुग्यो ? बढेर कति पुग्ला ? अझ घट्छ रे ! बढेर यति पुग्छ रे
!’ यस्तै अनगिन्ती प्रसङ्ग शेयरबजारमा चलिरहेको हुन्छ । कारोबार मापन गर्न
आवश्यकता अनुसार अनेकौं सूचक विकास गर्न सकिन्छ । अहिले नेपाल स्टक
एक्सचेञ्ज (नेप्से) ले विभिन्न १५ ओटा सूचक मार्फत शेयर कारोबार मापन
गरिरहेको छ । सूचक सम्बन्धी विभिन्न हल्ला चलिरहेको सन्दर्भमा यिनै विभिन्न
१५ ओटा सूचक कुन-कुन हुन्, यसैका बारेमा सामयिक चर्चा गरिन्छ ।
१५ ओटा सूचक
प्रारम्भमा शेयर कारोबार मापन गर्ने परिपाटी थिएन । यसलाई मापन गर्नुपर्ने आवश्यकता महसूस गरी सूचक गणना शुरू गरियो । शुरूको अनुच्छेदमा चर्चा गरिएको ‘नेप्से’ यही सूचक र शेयर कारोबार गराउने नेपाल स्टक एक्सचेञ्जको सङ्क्षिप्त स्वरूप हो । धितोपत्र सूचीकरण विनियमावली २०७५ मा सूचीकृत कम्पनीलाई वर्गीकरण गर्ने नयाँ आधारको व्यवस्था गरेकाले निकट भविष्यमा परिमार्जनसहित नयाँ सूचक देखिन सक्ने सम्भावना छ । प्रचलनमा रहेका सूचक तालिकामा उल्लेख गरिएको छ |
नेप्से सूचक
नेप्से सूचक कम्पनीले दिएको लाभ वा कम्पनीका शेयर मूल्यको औसत होइन । नेपालको सन्दर्भमा सूचीकृत सम्पूर्ण साधारण (संस्थापक र सर्वसाधारण) लाई समावेश गरी आधार मूल्य (पूँजीकरण) र दैनिक अन्तिम मूल्यको आधारमा हुने बजार पूँजीकरणको आधारमा नेप्से सूचक गणना गरिन्छ । यसमा अग्राधिकार शेयर समावेश हुन्न र म्युचुअल फण्ड पनि समावेश गरिएको छैन । हरेकको मुखैमा झुण्डिएको नेप्से सूचक आधार विन्दुबाट कति घट्यो वा बढ्यो भन्ने मापन गर्ने औजार मात्र हो । यसलाई गणना नगर्दा शेयरबजार नचल्ने पनि होइन । कम्पनीको शेयरमा लगानी गरिने हुँदा शेयर मूल्य बढेमा वा घटेमा सूचक पनि घट्ने र बढ्ने हुँदा यसको सीधा सम्बन्ध कम्पनीले गर्ने गुणात्मक वृद्धि एवम् प्रगतिसँग जोडिएको हुन्छ । कम्पनीको शेयर भाउ बढ्दा वा घट्दा कारोबार र रकम पनि घट्ने र बढ्ने भएकाले कारोबार मापन गर्ने सूचक पनि बढ्छ र घट्छ । तसर्थ सूचक नै सम्पूर्ण तत्त्व होइन, तर यसलाई नै आधार लिएर शेयरबजारमा खेल्नेले घट्छ र बढ्छ भनेर तर्साउन रचिएका अनेक प्रपञ्च मात्र हुन् ।
समूहगत सूचक
नेप्सेले सूचीकृत कम्पनीलाई कम्पनीको व्यापार प्रकृतिको आधारमा विभिन्न ११ ओटा समूहमा विभक्त गरेको छ । समूह निर्माण एकै प्रकृतिको संस्थालाई एकै ठाउँमा राखेर सामूहिक रूपमा तिनको सूचक निकाल्नु हो । नेप्सेले (१) वाणिज्य बैङ्क, (२) विकास बैङ्क, (३) वित्त, (४) जलविद्युत्, (५) उत्पादन तथा प्रशोधन, (६) होटेल, (७) व्यापार, (८) लघुवित्त, (९) जीवन बीमा, (१०) निर्जीवन बीमा र (११) अन्य समूहमा बाँडेको छ । पहिले एकै समूहमा रहेका बीमा समूह जीवन र निर्जीवन समूहमा बाँडिएका छन् भने केही समय अघिसम्म विकास बैङ्क समूहमा रहेका लघुवित्तको छुट्टै समूह बनेको छ । त्यस्तै वित्त समूहमा रहेको नागरिक लगानी कोष अहिले अन्य समूहमा राखिएको छ । यस्ता समूह आवश्यकता अनुसार बाँडिन वा कार्य प्रकृति अनुसार अर्को समूहमा पर्न सक्छन् । यसले कुन समूहको कारोबार प्रकृति र प्रवृत्ति कस्तो छ भन्ने थाहा पाउन सकिन्छ । यसको पनि गणना विधि नेप्से सूचक सरह नै रहेको छ ।
सेन्सेटिभ सूचक
नेप्सेले तोकिएको शर्त पूरा गरेका सूचीकृत कम्पनीलाई ‘क’ वर्गमा वर्गीकरण गर्ने गरेको छ । यस्ता कम्पनीको कारोबार मापन गर्न सेन्सेटिभ सूचक गणना गरिन्छ । यसको गणना विधि पनि नेप्से सूचक सरह नै हो । यसमा हरेक वर्ष कम्पनी थपिन र बाहिरिन सक्ने हुँदा कम्पनीको सङ्ख्या घटबढ भइरहन्छ । आर्थिक वर्ष (आव) २०७४/७५ मा १ सय १० ओटा कम्पनी परेका छन् । आव २०७३/७४ मा यस्ता कम्पनीको सङ्ख्या १ सय ११ रहेको थियो ।
प्रवाहित र सेन्सेटिभ प्रवाहित सूचक
नेप्सेमा सूचीकृत कम्पनीका सबै शेयर स्वतन्त्र प्रवाहित कारोबारयोग्य (फ्री फ्लोटेड ट्रेडेबल) हुँदैनन् । कारोबारयोग्य शेयर कारोबारलाई मात्र मापन गर्न यस्तो सूचक निर्माण गरिएको छ । नेपालमा शेयर कारोबार मापन गर्दा परिमाण भारित (भ्यालु वेटेड) विधि अपनाइएको छ । अधिकांश स्टक एक्सचेञ्जले अपनाएको विधि यही हो । यसमा कारोबारका लागि स्वतन्त्र प्रवाहित (फ्री फ्लोटेड) शेयर मात्र लिइन्छ । नेप्से सूचकमा सम्पूर्ण (संस्थापक र सर्वसाधारण) र यसमा स्वतन्त्र प्रवाहित शेयर कारोबारको मापन हुन्छ । मुख्य फरक यही हो ।
सेन्सेटिभ प्रवाहित सूचकमा नेप्सेले ‘क’ वर्गमा वर्गीकरण गरेको कम्पनीको
कारोबारयोग्य शेयर कारोबारको मापन गरिन्छ । यसको पनि गणना विधि प्रवाहित
सूचक जस्तै हो ।
उपयुक्त र वास्तविक सूचक
सूचकको नालीबेलीपछि यी मध्ये कुन उपयुक्त हो र अन्य सूचक काम नलाग्ने अर्थहीन हो कि भन्ने प्रश्न पनि उठ्न सक्छ । सन्दर्भ अनुसार उल्लिखित सबै सूचक आफ्ना ठाउँमा उपयुक्त छन् । नेप्से सूचकले समग्र शेयरको मापन गर्ने हुँदा यसलाई पनि कायम राखिरहनुपर्छ । त्यस्तै समूहगत सूचक समूहको चाल अध्ययन गर्न चाहिने हुँदा यसको पनि उपादयेता आफ्नै ठाउँमा छ । सूचीकरण सम्बन्धी विनियम अनुसार ‘क’ वर्ग हट्न सक्छ र यसको ठाउँमा अर्को सूचकको जन्म हुनसक्छ । त्यस्तै सेन्सेटिभकै प्रवाहित सूचक पनि मूल नै हटेपछि रहने कुरै भएन ।
बाँकी रहेको प्रवाहित सूचक भने वास्तविकताको नजीकको सूचक भएकाले यसलाई
बढी प्रवद्र्धन गर्नुपर्ने देखिन्छ । नेपालको शेयर कारोबारको सूचक मापनलाई
बढी विश्वासिलो बनाउने एकमात्र सूचक यसलाई नै बनाउनुपर्छ । नेपालको शेयर
कारोबार मापन केही विशेष कम्पनीको स्वतन्त्र प्रवाहित शेयरको कारोबारलाई
मात्र आधार मानेर ‘नेप्से ट्वाण्टी वा थर्टी’ नामकरण गर्न सकिन्छ । भारतको
नेशनल स्टक एक्सचेञ्जले ५० ओटा र बम्बे स्टक एक्सचेञ्जले ३० ओटा कम्पनीको
स्वतन्त्र प्रवाहित शेयरको कारोबारलाई आधार मानेर सूचक गणना गर्ने गरेका
छन् । स्मरण रहोस् बम्बे र नेशनल स्टकमा क्रमशः ६ हजार र १५ सयभन्दा बढी
कम्पनी सूचीकृत छन् ।
शेयरबजारको सूचक गणनामा कारोबारयोग्य शेयर मात्र समावेश गरी सूचक गणना
गरिनुपर्नेमा कारोबार हुँदै नहुने शेयरसमेत राखेर गणना गरिएको हुँदा यसको
विश्वसनीयता कम देखिएको हो । यसलाई सुधार गरेर सही र वास्तविक सूचक निर्माण
गर्नुपर्ने आवश्यकता छ । देशको आर्थिक वृद्धि दर राम्रो नभएको स्थितिमा
शेयर सूचक अधिक देखिनु सुन्निएर मोटाएसरह हुने हुँदा त्यसरी देखिएको मोटापन
कुनै पनि बेला घट्न सक्नेतर्फ सचेत हुनुपर्छ । त्यसैले आर्थिक वृद्धिको
प्रतिछाया शेयर सूचकमा देखिनका लागि सूचक गणनालाई विश्वसनीय बनाउन शेयर
सूचक गणनामा रहेका असान्दर्भिक पक्षलाई हटाएर सान्दर्भिक पक्षको खोजी
गरिनुपर्छ ।
अभियान दैनिकमा २०७५ भाद्र १८ गते प्रकाशित
http://www.abhiyan.com.np/?p=274931
No comments:
Post a Comment