Friday, April 24, 2026

कुन अवस्थामा हुन्छ साधारण र विशेष साधारण सभा

यी दुई सभाबीच विद्यमान अन्तर 

सभा भनेको कुनै विषयमा निर्णय वा सरसल्लाह गर्न दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी हुने प्रक्रिया हो l कम्पनीको सन्दर्भमा प्रचलित वार्षिक साधारण सभा र विशेष साधारण सभा कम्पनीका सर्वोच्च निकाय हुन् l यस्ता सभा शेयरधनीको सभा हो र यसमा कम्पनीका सम्पूर्ण शेयरधनीको सहभागीता हुनुपर्छ l कम्पनीको सभा देशको संसद जत्तिकै हो l संसदको अख्तियारीविना सरकारले काम गर्न नसके जस्तै शेयरधनीको सभाको अख्तियारीविना सञ्चालक समितिले कुनै पनि काम गर्न सक्दैन l सबै शेयरधनीको सहभागीता गराउनको लागि सञ्चालक समितिले बेलैमा शेयरधनीलाई छलफल गरिने प्रस्तावसमेत खुलाएर सूचना दिनुपर्छ l साधारण सभामा छलफल हुने विषय सामान्य र विशेष दुवै वा सामान्य मात्रै पनि हुनसक्छन् l यस आलेखमा वार्षिक साधारण सभा र विशेष साधारण सभाका विविध विषयमा चर्चा गरिन्छ l

 

साधारण र विशेष सभा

 

कम्पनीले हरेक वर्ष सभा गर्नुपर्छ l यस्ता सभालाई वार्षिक साधारण सभा भनिन्छ l कम्पनी दर्ता भएको एक वर्षभित्र पहिलो वार्षिक साधारण सभा गर्नुपर्छ l त्यसपछि तोकिएको समयभित्र वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्छ र नगरेमा जरिमाना तिर्नुपर्छ l साधारण सभा रजिष्टर्ड कार्यालय रहेको जिल्ला वा अधिकाँश शेयरधनीलाई पायक पर्ने जोडिएको जिल्लामा र कम्पनी रजिष्ट्रार कार्यालयको स्वीकृति लिएर अन्यत्र पनि गर्न सकिन्छ l कम्पनीले विशेष साधारण सभा पनि आव्हान गर्छन् l यस्तो सभा आवश्यक परेको बेला मात्र आव्हान गरिन्छ l विशेष साधारण सभाको सूचना जारी गर्ने समय साधारण सभाभन्दा केही फरक हुन्छ l स्थानको हकमा साधारण सभाकै नियम लागु हुन्छ l साधारण र विशेष सभाका मुलभूत फरक तालिकामा पेश गरिएको छ l

 

वार्षिक साधारण सभा र विशेष साधारण सभाबीच मूलभूत भिन्नता

आधार

वार्षिक साधारण सभा

विशेष साधारण सभा

अर्थ

कम्पनीले हरेक आर्थिक वर्ष सकिएपछि कम्पनीले गरेको उन्नति प्रगती शेयरधनीसमक्ष पेश गर्नका लागि अनिवार्यरूपमा आव्हान गर्ने सभा हो ।

वार्षिक साधारण सभा हुनु अघि वा पछि जुनसुकै बेला कुनै विशेष निर्णय गर्न आव्हान गरिने सभा हो l

अनिवार्य

साधारण सभा गर्ने कम्पनीको लागि अनिवार्य हुन्छ l

आवश्यकताअनुसार गरिने हुँदा अनिवार्य हुन्न l

समयावधि

आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र अर्थात पुष महिनाभित्र ।

कुनै समय हुन्न l जहिले आवश्यक पर्छ त्यतिबेला आव्हान गरिन्छ l

प्रस्ताव

सामान्य र विशेष दुवै हुनसक्छ l

विशेष प्रस्ताव मात्र हुन्छ l

सभा बोलाउने अधिकार

सञ्चालक समिति।

सञ्चालक समिति, शेयरधनी (कुनै निश्चित प्रतिशत) वा कम्पनी रजिष्ट्रारको आदेशमा ।

सूचना दिने समय

कम्तिमा २१ दिन अगाडि l

कम्तिमा १५ दिन अगाडि l


सभासम्बन्धी न्यायिक निर्णय  

 

साधारण र विशेष सभासम्बन्धी धेरै विवाद अदालतसम्म पुगेर टुंगिएका छन् l यस अनुच्छेदमा साधारण सभा र विशेष साधारण सभाका विषयमा विभिन्न समयमा उठेका विवादको न्यायिक निर्णयको बारेमा संक्षेपमा चर्चा गरिन्छ l यस अनुच्छेदको शुरुआतमा साधारण सभाका सम्बन्धमा उठेका विवाद र त्यसपछि विशेष साधारण सभाका विषयमा उठेका विषयको चर्चा गरिन्छ l

 

(१) टि.भी. माथ्थ्युको विवाद: वार्षिक साधारण सभा नगर्दा शेयरधनीले कम्पनीको आर्थिक स्थितिलगायतका सञ्चालन गतिविधि थाहा नपाउने हुँदा बेलैमा वार्षिक साधारण सभा गर्नुपर्छ l टि.भी. माथ्थ्यु विरुद्ध नादुक्करा एग्रो प्रोसेसिङ्ग कम्पनी लिमिटेड (सन् २००२) को एउटा मुद्दामा भारतको केरल उच्च अदालतले वार्षिक साधारण सभा निश्चित अवधिभित्र आयोजना गर्नैपर्छ र नगरेमा शेयरधनीको हक र अधिकार हनन् गरेको ठहर्ने आदेश दिएको थियो l

 

(२)  शार्पको विवाद: यो विवाद साधारण सभाको परिभाषा गर्ने मानक विवाद हो भन्दा फरक पर्दैन l ब्रिटेनको एक अदालतले शार्प विरुद्ध डावेस (सन् १८७६) को मुद्दामा सूचना र सभाको वैधताको विषयमा व्याख्या गरेको छ l उक्त मुद्दामा शार्प र डावेस दुइ जना शेयरधनी थिए l शार्पलाई साधारण सभाको सूचना दिइएको थिएन l शार्पको  उपस्थितविना डावेस एक्लैले साधारण सभा गरे l यसलाई डावेसले चुनौती दिएका थिए l अदालतले उक्त सभाको वैधानिकतालाई अस्विकार गर्दै कुनै वैध उद्देश्यका लागि मानिसको भेला वा कुनै पनि वैध उद्देश्यका लागि कम्तिमा दुई व्यक्तिको एकैसाथ उपस्थित हुने अवस्था’ भनेर सभाको व्याख्या गरेको थियो l

 

(३)  सिक्किम बैंक विवाद: सभा गर्नको लागि स्थान निर्दिष्ट हुनुपर्छ l सभाको लागि निर्दिष्ट स्थान र समय तोकेर सूचना जारी गर्नुपर्छ l सिक्किम बैंक लिमिटेड विरुद्ध आर.एस. चौधरी (सन् २०००) को मुद्दामा कलकत्ता उच्च अदालतले साधारण सभाको सूचनामा उल्लेख गरिएको स्थानबाहेक अन्य कुनै स्थानमा आयोजना गरिने कुनै पनि सभा वा व्यवसायिक कार्य प्रथम दृष्टिमा अमान्य हुने र सभामा सहभागी हुने अधिकार भएका हरेक सदस्यलाई स्थान परिवर्तन भएको घोषणा गर्ने सूचना अनिवार्यरुपमा दिनुपर्ने निर्णय सुनाएको थियो l हाल यो बैंक खारेज भईसकेको छ l

 

(४)  हरिनगर सुगर मिल्स विवाद: सञ्चालक समितिले साधारण सभा बोलाउँछ तर, सञ्चालक समितिको अध्यक्षले सभा बोलाउने बैठक राख्न खोज्दा अन्य सञ्चालकले उक्त प्रस्तावमाथि छलफलै नगरी पन्छाएर तोकिएको समयमा साधारण सभा हुन नसकेमा यसमा अध्यक्ष दोषी हुँदैनन् l किनभने अध्यक्षले सभा गराउन प्रयास गरेका हुन्छन् l भारतमा हरिनगर सुगर मिल्स लिमिटेड विरुद्ध श्यामसुन्दर झुनझुनवाला (सन् १९६१) को मुद्दामा भारतको सर्वोच्च अदालतले यदि कुनै कम्पनीका प्रबन्ध निर्देशकले पटक-पटक कम्पनीका अन्य निर्देशक (सञ्चालक) लाई वार्षिक साधारण सभा आयोजना गर्न अनुरोध गर्दा पनि साधारण सभा गराउन सकेन भने उक्त प्रबन्ध निर्देशकलाई दोषी मान्न सकिँदैन भनेको थियो l

 

(५)  ब्राह्मणबारिया लोन विवाद: कम्पनीको कुनै पदाधिकारी विरुद्ध कुनै मुद्दा चलिरहेको भन्ने आधारमा साधारण सभा गर्न नसकिएको भन्ने तर्क लिन नपाइने निर्णय अदालतले सुनाएको थियो l रे ब्राह्मणबारिया लोन कम्पनी लिमिटेड (सन् १९३४) को मुद्दामा कलकत्ता उच्च अदालतले कम्पनी सचिव विरुद्ध मुद्दा चलिरहेको कारण साधारण सभा गर्न नसकिएको भन्ने कारणलाई मान्यता दिएन l


(६)  कस्तूर मल बांठिया विवाद : कार्यपालिकीय निकाय (जस्तै कम्पनी रजिष्ट्रार कार्यालय) ले समयमै साधारण सभा नगरेको कारण कम्पनीलाई जरिमाना लगाए पनि न्यायपालिका (अदालत) ले परिवन्दवश समयमै सभा गर्न नसकेको अवस्थामा उदार दृष्टिकोण अपनाउने गरेका छन् । कस्तूर मल बांठिया (सन् १९५१) को मुद्दामा भारतको सर्वोच्च अदालतले समयमै साधारण सभा नगर्नु कानुनको उल्लङ्घन हो तर, उल्लङ्घन जानाजानी भएको छैन, त्यसैले यसलाई कानुनको उल्लङ्घन मान्न सकिन्न भनेको थियो l यस कम्पनीमा दुईजना दाजुभाइ शेयरधनी थिए । सभा गर्ने समयमा एक भाई गम्भीररूपमा बिरामी परेका कारण सभा हुन नसकेको अवस्थालाई अदालले उदार दृष्टिकोण राख्दै जरिमाना गर्नबाट रोकेको थियो l

साधारण सभा सम्बन्धमा उठेका केही विवादको अदालती निर्णयको संक्षेपमा चर्चापश्चात विशेष साधारण सभा सम्बन्धमा उठेका विवाद र त्यसमा अदालतले गरेको निर्णयको यसपछि संक्षेपमा चर्चा गरिन्छ l

 

(१)   एलआईसी विवाद: यस मुद्दामा आएको व्याख्याले विशेष साधारण सभा बोलाउने विषयमा मानक व्याख्या भएको छ l भारतीय जीवन बीमा निगम (एलआईसी) ले एस्कोर्ट्स लिमिटेडको ठूलो मात्रामा शेयर खरिद गरेको थियो । एलआईसी (शेयरधनी) ले एस्कोर्ट्स लिमिटेडका केही सञ्चालकलाई हटाउने उद्देश्यले विशेष साधारण सभा बोलाउने माग गरेको थियो । एस्कोर्ट्स लिमिटेडले एलआईसीलाई यस्तो सभा बोलाउन अधिकार नभएको दावी गर्यो l एस्कोर्ट्सले एलआईसीलाई विशेष सभा बोलाउने मागमा सञ्चालक हटाउनुपर्ने कारण नखुलाइएकोले माग अवैध छ भनेको थियो l सन् १९८५ मा भारतको सर्वोच्च अदालतले कम्पनी ऐनले कुनै पनि शेयरधनी (संस्थागत वा व्यक्तिगत) लाई विशेष साधारण सभा बोलाउन माग गर्ने अधिकार दिएको, सञ्चालक हटाउने प्रस्ताव ल्याउँदा त्यस्तो प्रस्तावमा कारण खुलाउन अनिवार्य छैन र शेयरधनीको बहुमतले सञ्चालक हटाउने निर्णय गर्छ भने त्यो वैध हुन्छ भनेको थियो ।

 

(२)  बलको विवाद: विशेष साधारण सभामा पहिले नै सूचीत गरिएको प्रस्तावमा मात्र छलफल हुन्छ l बल विरुद्ध मेटल ईण्डष्ट्रिज लिमिटेडको मुद्दा (सन् १९४७) मा इङ्गल्याण्डको एक अदालतले विशेष साधारण सभा बोलाउने मागमा त्यस सभामा छलफल हुने प्रस्ताव (एजेन्डा) पहिले नै निर्धारण गरिएको हुनुपर्छ र उक्त प्रस्तावबाहेक अरू कुनै विषयमा छलफल गर्न पाइँदैन भनेको छ । कम्पनीका शेयरधनीले तीन नयाँ सञ्चालक नियुक्ति गर्ने प्रस्ताव राखेका थिए l सभा शुरु भएपछि अध्यक्षले एजेन्डा बाहिरको कम्पनीका कुनै वर्तमान सञ्चालकलाई हटाउने प्रस्ताव थपेका थिए । अदालतले यसलाई अस्विकार गरेको थियो l

 

(३)  बी. शिवरामन विवाद : विशेष साधारण सभाको सिमा कतिसम्म हुन्छ भन्ने सन्दर्भमा बी. शिवरामन विरुद्ध  एग्मोर बेनिफिट सोसाइटी लिमिटेड (सन् ११९२) को मुद्दामा मद्रास उच्च अदालतले व्याख्या गरेको छ l एग्मोर बेनिफिट सोसाइटी लिमिटेडका शिवरामनलगायत शेयरधनीले वार्षिक साधारण सभाद्वारा नियुक्त गरिएका सञ्चालक अवैध भएका कारण तिनलाई हटाउन विशेष साधारण सभा बोलाउने माग गरे । कम्पनीले यसलाई अस्विकार गर्यो l अदालतले साधारण सभामा गरिएका निर्णय र नियुक्तिलाई विशेष साधारण सभाद्वारा अमान्य गराउन सकिन्न l यदि साधारण सभाको वैधतामा प्रश्न उठेमा त्यसको निराकरण गर्ने निकाय अदालतमा लैजानुपर्छ भन्ने आदेश दिएको थियो ।

 

निष्कर्षमा, कुनै पनि सभा (साधारण वा विशेष) शेयरधनीको हक हित संरक्षणमा महत्वपूर्ण भूमिका हुन्छ l देशको संसद जत्तिकै हैसियत राख्ने निकाय भएकोले यसको नियमित समयमा सभा सम्पन्न हुनु आवश्यक छ l सभा बेलैमा हुनु संस्थागत सुशासन कायम छ भन्ने कुराको सूचक हो l कम्पनी जुनसुकै अवस्था अर्थात घाटा नाफामा भए पनि त्यसको यथार्थ जानकारी गराउने एकमात्र वैधानिक बाटो सभा हो l कर्पोरेट अभ्यास जति बढी गर्यो उति नै संस्थागत सुशासन बढ्ने हो l डावेसको मुद्दाले सूचना पाउने कुरालाई स्थापित गरेको छ l त्यस्तै, एलआईसीको मुद्दाले शेयरधनीको हकलाई अझ बढी स्थापित गरिदिएको छ l कस्तूर मल बांठियाको मुद्दाले विशेष परिस्थितिलाई सम्बोधन गर्नुपर्ने मान्यता राखेकोले नेपालमा यस्तो अवस्थालाई आत्मसात गर्नुपर्ने देखिन्छ l बी. शिवरामनको मुद्दाले साधारण सभाको सर्वोच्चतालाई स्थापित गरेको छ l यस्ता माथि उल्लेखित निर्णयले कम्पनी सञ्चालनलाई प्रभावकारी बनाएका छन् । यस्ता निर्णयले सभा सञ्चालनको विधि, समय, सूचना प्रक्रिया र अधिकारको सीमाको व्याख्या गरिँदा कम्पनीको उत्तरदायित्व, पारदर्शिता, संस्थागत सुशासन, संस्थागत संस्कार विकास र शेयरधनीको हित सुरक्षित राख्न मद्दत पुगेको छ । कम्पनी ऐनमा यस्ता कुरालाई समावेश गर्दै जानु आवश्यक छ l


आर्थिक अभियान 

बुधबार, १४ जेठ, २०८२
https://abhiyandaily.com/news/449733/kun-avsthaamaa-hunch-saadhaarnn-r-vishess-saadhaarnn-sbhaa-yii-duii-sbhaabiic-vidymaan-antr/

शेयर बजारसम्बन्धी पहिलो पुस्तक

कसले कहिले लेखेका थिए ? 

संसारको हरेक विधामा पुस्तक लेखिएको छ र जुनसुकै विधाको पुस्तक पनि खोज्दा भेटिन्छ l शेयर र शेयरबजार पनि एउटा विधा हो l यस विषयमा पनि विभिन्न भाषामा थुप्रै पुस्तक लेखिएका छन् l शेयरबजार अर्थतन्त्रको एक अंश र आफैँमा एक वृहद विषय हो l यसका विभिन्न पक्ष हुन्छन् l शेयर र शेयरबजारको लेखन विश्लेषणात्मक, शिक्षामूलक, प्रतिवेदनमूलक र अभिमत/विचारात्मक धारबाट प्रस्तुत गर्न सकिन्छ l विभिन्न धारबाट लेख्दा बजारको अवस्था, कम्पनीको वित्तीय स्थिति, बजार प्रवृत्ति, आइपीओ (इनिसियल पब्लिक अफरिंग), दोस्रो बजार, सरकारी नीति, बजार नियमन, व्यक्तिगत अनुभव आदि लेख्न सकिन्छ l यस आलेखमा शेयर बजारसम्बन्धी पहिलो पुस्तक कुन हो कसले लेखेका थिए र यसमा कस्ता कुरा उठान गरिएको थियो त्यस विषयमा सङ्क्षेपमा चर्चा गरिन्छ l  

शेयर र शेयरबजार

वैदिक कालदेखि नै कम्पनी स्वरूपको अवधारणाको विकास भएको पाइन्छ। त्यतिबेला अहिले जस्तो शेयरबजार (स्टक एक्सचेञ्ज) भएको पाइन्न l शेयरबजारको विविधत शुरुआत सन् १८०१ मा इङ्गल्याण्डले लण्डन स्टक एक्सचेञ्ज स्थापना गरेपछि भएको पाइन्छ l स्टक एक्सचेञ्जको स्थापना हुनु अघि नै शेयर किनबेच हुने गरेको इतिहास छ l शेयर जारी गर्ने पहिलो कम्पनी नेदरल्याण्डको डच इष्ट इण्डिया कम्पनी हो l यसले सन् १६०२ मा शेयर जारी गरेको थियो l यसभन्दा  अगाडि रोमन गणराज्य कालमा पूर्वाधार (जस्तै बाटो, पुल, खानेपानी) जस्ता निर्माण कार्यका लागि राज्यले पब्लिकानी’, सोसियटास’, ‘पब्लिकानोरुम नामका निजी ठेकेदारलाई दिएको थियो l यस्ता संस्थाले पूँजी व्यवस्थापन गर्न सर्वसाधारणबाट 'पार्टेस' 'पार्टीकुलाए' नामक अंश (शेयर) बाट रकम सङ्कलन गर्थे l निर्माण कार्यबाट भएको नाफा सर्वसाधारणलाई पनि बाँडफाँड गर्थे । ग्रीक इतिहासकार पोलिबियासले ‘हिस्टोरिज’ भन्ने पुस्तकमा रोमका प्रायः सबै नागरिक यस्ता लगानीमा सहभागी भएको उल्लेख गरेका छन् l सिसेरोले ‘डे अफिसियस’ भन्ने पुस्तकमा त्यतिबेला यस्ता अंशको मूल्य अधिक थियो भनेर उल्लेख गरेका छन् । नेपालमा पहिलोपटक नेपाल बैंकले शेयर जारी गरेको थियो l नेपाल बैंक कानुन, १९९४ मा हाल उठाउने २५ हजार शेयरमध्ये कमसेकम चार खण्डको एक खण्ड शेयर सरकारबाट लिईबक्सने भएको हुँदा बाँकी रहेको शेयर नेपाली ग्राहकले लिन पाउनेछन् भन्ने व्यवस्थाअनुसार नेपालमा शेयर जारी भएको थियो l

शेयरसम्बन्धी पहिलो पुस्तक

 

शेयरसम्बन्धी पहिलो पुस्तक स्पेनिस भाषामा लेखिएको थियो l स्पेनको यहुदी परिवारमा जन्मिएका जोसेफ पेन्सो डे ला भेगाले शेयरसम्बन्धी पहिलो पुस्तक लेखेका थिए l पुस्तकको नाम स्पेनिस भाषामा ‘कोन्फुशियोन दे कोन्फुशियोनेस’ थियो l यसको अर्थ अङ्ग्रेजीमा कन्फ्युजन अफ कन्फ्युजनस र नेपालीमा ‘भ्रमहरुको भ्रम’ हुन्छ l यो पुस्तक सन् १६८८ छापिएको थियो l लेखक  भेगा स्पेनमा जन्मिए पनि यहुदी माथिको धार्मिक उत्पीडनका कारण उनको परिवार नेदरल्याण्डको एम्स्टर्डममा बसाइँ सरेको थियो। भेगा एम्स्टर्डम स्टक एक्सचेञ्जमा शेयर कारोबार गर्थे l नेदरल्याण्डको डच इष्ट इण्डिया कम्पनी उक्त एक्सचेञ्जमा सूचीकरण भएको थियो l भेगा व्यापारी कवि थिए उनले लेखेको शेयरसम्बन्धी यो पुस्तक शेयरबजारको शुरुआती अवस्थाको वर्णन गर्ने पहिलो लिखित दस्तावेज हो पुस्तकको लेखन संवाद शैलीमा छ l एम्स्टर्डम स्टक एक्सचेञ्जमा हुने शेयर कारोबार, यसको उत्पत्ति र जटिलता वर्णन गर्ने यो पुस्तक चार खण्डमा विभाजित छ l यस पुस्तकमा फिलोसोफ़र (दार्शनिक), शेयरहोल्डर (सट्टेबाज) र मर्चेन्ट (व्यापारी) गरि तीनजना पात्र छन् l पुस्तकमा के के विषय उल्लेख छन् त्यस विषयमा यसपछिको अनुच्छेदमा चर्चा गरिन्छ l

 

सिसिफस र इक्सिअन

पुस्तकमा शेयरबजार के हो भन्ने प्रश्नबाट शुरु हुन्छ l यसको उत्तरमा ‘उपयोगिताको खजाना र विपत्तिको स्रोत’ हो भनिएको छ l उत्तरको क्रममा ‘सिसिफस’ र ‘इक्सिअन’ को प्रसङ्ग पनि जोडिएको छ l यी दुवै प्राचीन ग्रिकका मिथक पात्र हुन् l सिसिफसलाई एउटा ठूलो ढुङ्गा धकेल्दै पहाडको टुप्पोमा पुर्याएर अड्याउनुपर्ने सजाय दिइएको थियो । उसले पहाडको टुप्पोमा जतिपटक पुर्याए पनि त्यो ढुङ्गा गुल्टेर फेरि तलै आइपुग्थ्यो l सिसिफस फेरी त्यसलाई टुप्पोमा पुर्याउन लागिपर्थ्यो र फेरी त्यो ढुङ्गा झरेर तलै आउँथ्यो l यसको लाक्षणिक अर्थ शेयर मूल्य बढ्छ र तुरुन्तै घट्छ, फेरी बढ्छ र फेरी घट्छ भन्ने हो l शेयर मूल्यको घटबढ सिसिफसले पाएको सजाय जस्तै अन्त्यहीन । त्यस्तै, इक्सिअनलाई पाङ्ग्राको बीचमा बाँधेर आगो लगाई पाङ्ग्रा फनफनी घुमाएर अनन्तकालसम्म नमर्ने तर, पिडामा रहिरहने सजाय दिइएको थियो । शेयरबजार पनि इक्सीअनलाई पिडा दिएर फनफनी घुमाईरहने पाङ्ग्रा जस्तै सधैँ तलमाथि गरिरहन्छ र यो पनि अन्त्यहीन छ l व्यक्ति जतिसुकै भाग्यमानी भए पनि बजारको चालबाट कहिल्यै उम्कन सक्दैन । जोखिम विना धनी बन्न नसकिने बताइएको छ l पुस्तकमा शेयरबजार अनुमान, अफवाह, आशा, निराशा, मनोविज्ञान, चालबाजी, वौद्धिकता र भावना मिसिएको थलो हो भनिएको छ । पुस्तकमा डच इष्ट इण्डिया कम्पनीको इतिहास र यसको विकासक्रमको पनि वर्णन छ l पुस्तकमा (१) शेयर मूल्यमा भएको उतार-चढावको  पर्वाह नगर्ने, (२) शेयर किन्ने र मूल्य बढेपछि बेच्ने र (३) जुवा जस्तै जोखिम उठाएर शेयर किनेर मूल्य घटाउन प्रयास गर्ने गरि तीन किसिमका व्यक्ति हुने उल्लेख छ l अहिलेको बजारमा उपलब्ध ‘अप्सन’ जस्ता उपकरणबाट घाटा कम गराउन सकिने कुरा त्यतिबेला पनि भएको कुरा पुस्तकमा पाउन सकिन्छ l यस्तो उपकरणलाई त्यतिबेला ‘अप्सी’ नाम दिइएको छ l बजार अनिश्चित हुँदा ‘अप्सी’ खरिद गरेर जोखिम न्यूनीकरण गरिन्थ्यो ।

चार सिद्धान्त र तीन पात्र

पुस्तकमा शेयरबजार अनिश्चित, अस्थायी र जटिल छ भन्ने बताईएको छ l शेयर मूल्य (१) भारतमा हुने गतिविधि, (२) युरोपेली राजनीति र (३) हल्लाको मनोविज्ञान जस्ता तीनवटा कारणले घटबढ हुन्छ भनिएको छ l त्यतिबेला एम्स्टर्डम स्टक एक्सचेञ्जमा सूचीकृत इष्ट इण्डिया कम्पनीको व्यापार भारतमा हुने गरेको कारण भारतको गतिविधिको प्रसङ्ग उल्लेख भएको हो l यो सन्दर्भ अहिले पनि उत्तिकै सान्दर्भिक छ किनभने कम्पनीले गर्ने व्यापारले शेयर मूल्यलाई प्रभाव पार्छ l पुस्तकमा लेखकले (१) शेयर किनबेच गर्न सल्लाह नदिनु, (१) पाएको नाफा लिनु, गुमेको नाफाको पछुतो नगर्नु, (३) नाफा अनिश्चित हुन्छ र (४) लाभको लागि धैर्य र पुँजी चाहिन्छ भनेर चारवटा मुख्य सिद्धान्त बताएका छन् l शेयरबजारमा आवद्ध व्यक्ति अस्थिर, पागलपनले भरिएका, घमण्डी र मूर्ख हुने हुनाले कुनै ठोस कारण विना किनबेचको निर्णय गर्छन l उनीहरु आफूले गरेको किनबेचलाई ‘अन्तरात्मा’ को मार्गदर्शन मानेर आफूले गरेको किनबेचलाई उत्कृष्ट ठान्छन् l अहिले शेयरबजारमा संधै जस्तै सुनिने ‘बुल र बियर’ को कुरा पनि पुस्तकमा उल्लेख छ l यसअन्तर्गत बुलको नाममा माथि उकास्ने र बियरको नाममा तल झार्ने प्रयास हुने कुरा उल्लेख छ l शेयरबजारमा लगानीकर्ता, व्यापारी (कारोबारी) र सट्टेबाज गरि तीन किसिमका पात्र हुने कुरा पनि पुस्तकमा उल्लेख छ l यी तीन पात्रमध्ये लगानीकर्ता शेयर मूल्यमा भन्दा लाभांशमा केन्द्रित हुन्छन l व्यापारी थोरै नाफा भए पनि चित्त बुझाउने खालका हुन्छन् भने सट्टेबाज अफवाह सिर्जना गर्ने गुमाउँदा सबै गुमाउने लोभमा चल्ने कुरा पुस्तकमा उल्लेख छ l शेयरबजारमा भीड प्रवृत्ति घातक हुने अरूको कारोबार हेरेर किनबेच गर्नेले घाटा बेहोर्छ भनिएको छ l ब्याजदर र शेयर मूल्यको प्रत्यक्ष सम्बन्ध हुने बताउँदै सन्  १६८८ मा ऋणको ब्याजदर दुई दशमलव पाँचदेखि तीन प्रतिशत हुँदा धनाढ्यले बैंकमा पैसा राख्नभन्दा शेयरमा लगानी गरेको र यसले बजार तताएको पनि पुस्तकमा उल्लेख छ l

निश्चित भनेको अनिश्चित

पुस्तकमा शेयरबजारको अस्थिरता र मानव लोभलाई वर्णन गर्दै विवेकशील पनि हराउने, साहसी पनि पराजित हुने भुलभुलैया उल्लेख छ l शेयरबजारलाई समुद्रसँग तुलना गर्दै समुद्रमा सानो हावाले पनि ठुलो आँधी ल्याउने हुनाले कुशल नाविक मात्र यसको छालमा यात्रा गरेर पार पाउनसक्ने उल्लेख छ l यो बजार (शेयर) मा कसरी नाफा कमाउन सकिन्छ ? भन्ने प्रश्नको उत्तरमा ‘नाफा छायाँ जस्तै हो, यसलाई पछ्याउनुस, यो भाग्छ, धैर्य गर्नुस, यो घुमेर तपाईकोमा पनि आइपुग्छ l तर, सावधान रहनुपर्छ किनभने बजारमा जाल फालिएको हुन्छ, त्यस्ता जालमा परेर लोभले ठगिन्छन् भनिएको छ l शेयरबजार कस्तो हुन्छ के हुन्छ भन्ने सन्दर्भमा विभिन्न रोचक संवादमार्फत वर्णन गरिएको छ l केही मानिस झूटो समाचार फैलाएर मूल्य घटाउन लाग्छन र अनि सस्तोमा किनेर महँगोमा बेच्न सकियोस भन्ने ठान्छन  l एक ठाउँमा दार्शनिकले मानिसहरू यस्ता आधारहीन अफवाह किन पत्याउँछन् ? भनेर सोधेका छन् l यसको उत्तरमा ‘बजारमा आशा र डर तर्कभन्दा बलियो हुन्छ’ भनिएको छ l अर्को एउटा रोचक प्रश्न ‘के यो बजारमा केही निश्चित कुरा छैन ?’ भनिएको छ र यसको उत्तरमा ‘एउटै कुरा निश्चित छ, मूल्य सधैं परिवर्तन हुन्छ’ भन्ने उत्तर प्रश्नभन्दा झन् रोचक छ l शेयरको मूल्य केले चलाउँछ अर्थात किन घटबढ हुन्छ भन्ने अर्को प्रश्नको उत्तरमा ‘अफवाहले बढाउँछ, डरले घटाउँछ’ भन्ने उत्तर पनि कम रोचक छैन l पुस्तकमा अन्य धेरै रोचक प्रसंग छन् l छिटो धनी बन्न खोज्ने घाटामा पर्छ अर्थात् धन गुमाउँछर धैर्य गर्नेले लाभ पाउने कुरा पनि उल्लेख छ l शेयरबजारको ‘निश्चित’ कुरा भनेको ‘अनिश्चितता’ हो भन्ने प्रसंग साह्रै रोचक छ l शेयरबजार ‘एउटा मौका हो, जहाँ सबैले एकअर्कालाई धोका दिन्छन’ भन्ने प्रसंग पनि रोचक छ l

अन्त्यमा, आजभन्दा ३ सय ३७ वर्ष अघि लेखिएको पुस्तक आजकै दिनमा लेखिए जस्तै छ l शेयरबजार कति जोखिमयुक्त छ भन्ने कुरालाई पुस्तकमा अति नै रोचक पाराले लिपिबद्ध गरिएको छ l संसारमा कहीं पनि शेयर र शेयरबजारलाई सुनिश्चित र जोखिमरहित मानिन्न l तर, नेपाल मात्र एउटा यस्तो देश हो राज्य नै शेयर फलाना-फलानालाई देउ भनेर आरक्षण गर्छ l प्रधानमन्त्री र मन्त्री शेयरबजारबाट उन्नति र प्रगति हुने कुरा खुलेआम बताउने गर्छन् l शेयर कस्तो हो भन्ने कुरा लेखकले सिसिफस र इक्सीअनको प्रसंग जोडेर रोचक मात्र बनाएका छैनन्, यसबाट गतिलो पाठ पनि सिकाएका छन् l धन कमाउन सजिलो छैन सजिलो हुने भए संसारमा गरिव कोही पनि बाँकी रहने थिएनन l भगवान श्रीकृष्णले गीतामा भन्नुभएको ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि॥ लाई मनन गरेर कर्ममा लाग्नुपर्छ तर, परिणामको अपेक्षा गर्नुहुन्न l शेयरबजारमा सूचीकृत कम्पनीमध्ये यो असल र यो खराब भन्ने हुन्न l असल भनिएको कम्पनी खराब हुनसक्छ, खराब भनिएको कम्पनी असल पनि हुनसक्छ l


आर्थिक अभियान

बुधबार, ३१ बैशाख, २०८२

https://abhiyandaily.com/news/449414/sheyrbjaarsmbndhii-philo-pustk-ksle-khile-lekhekaa-thie/

कम्पनी दर्ताको आधारभूत पक्ष

के कस्ता कागजात आवश्यक पर्छ ? 

कुनै पनि व्यवसायलाई सङ्गठितरुपमा सञ्चालन गर्नको लागि कम्पनी लोकप्रिय स्वरूप हो l यस्तो किसिमको स्वरूप वैदिककालदेखि नै अस्तित्वमा थियो l कम्पनी स्वरुपको प्रारूप नारदस्मृतिमा भेटिन्छ l देवर्षि नारदकृत नारदस्मृतिको चौथो अध्यायको ‘सम्भूयसमुत्थान, भन्ने प्रकरणमा ‘वणिकप्रभृतयो यत्र कर्म सम्भूय कुर्वते । तत्सभूयसमुत्थानं व्यवहारपदं स्मृतम्॥ अर्थात व्यक्ति (व्यापारी) मिलेर संयुक्तरूपमा कार्य (व्यापार) गर्छन् । यस्तो संयुक्तरूपमा गरिएको कार्य व्यवहारमा स्वीकार्य हुन्छ’ भनेका छन् l नारदस्मृतिबाट जग हालिएको कम्पनीले अहिले व्यापकता पाएको छ l नेपालमा  बिक्रम सम्बत १९९३ सालमा प्रधानमन्त्री श्री ३ जुद्ध शमशेरको हुकुम र कमाण्डर इन चिफ पदम शमशेरको मर्जी मुताविक कम्पनी कानुन बनेको पाइन्छ । नेपाल बैंक कानुन, १९९४ मार्फत नेपाल बैंक लिमिटेड स्थापना भएको थियो l कम्पनी दर्ताका आधारभूत पक्ष के के हुन् के कस्ता कागजात तयार पार्नुपर्छ कसरी दर्ता हुन्छ भन्ने बारेमा यस आलेखमा चर्चा गरिन्छ l

नाम दर्ता प्रक्रिया

कम्पनी ऐन, २०६३ को दफा ३ मा कम्पनी दर्तासम्बन्धी व्यवस्था छ l एक व्यक्ति वा व्यक्तिको समूहले एक वा एकभन्दा बढी उद्देश्य लिई कम्पनी संस्थापना गर्न सक्छन l दफा ३(१) अनुसार कम्पनी संस्थापना गर्नुको मूल उद्देश्य नाफा कमाउनु हो l तर, दफा ३(३) अनुसार एक वा एकभन्दा बढी उद्देश्य प्राप्तिका लागि मुनाफा वितरण नगर्ने कम्पनी पनि संस्थापना गर्न सकिन्छ l मुनाफा वितरण नगर्ने कम्पनीका बारेमा विस्तृत जानकारीको लागि (मुनाफा वितरण नगर्ने कम्पनीको अवधारण : अन्य कम्पनीभन्दा के फरक हुन्छ ? आर्थिक अभियान, २०८२ वैशाख ३) मा चर्चा गरिएको छ l पब्लिक कम्पनी संस्थापन गर्न कम्तिमा सात जना संस्थापक हुनुपर्छ तर, पब्लिक कम्पनीले अर्को पब्लिक कम्पनी दर्ता गर्न सातजना संस्थापकको आवश्यकता पर्दैन l

कम्पनी दर्ता गर्नुअघि कम्पनीको नाम दर्ता गर्नुपर्छ l एक शब्दको नाम राख्न पाईदैन तर, एक शब्दले कम्पनीको प्रकृति खुल्ने भएमा दर्ता हुनसक्छ l नाम नेपाली र अङ्ग्रेजी दुवै भाषामा राख्नुपर्छ l नेपाली नाम अङ्ग्रेजीमा उल्था गरेर राख्न पाइँदैन l जस्तो ‘हिमाल कृषि विकास लिमिटेड’ को अङ्ग्रेजी नाम ‘माउन्टेन एग्रिकल्चर डेभलपमेन्ट लिमिटेड’ राख्न पाइँदैन l अङ्ग्रेजी नाम लेख्दा रोमनमा लेख्नुपर्छ l कम्पनीको नाममा अङ्क राख्न पाइन्न l अङ्कलाई पनि अक्षरमा लेख्नुपर्छ l नाम स्वीकृत भएको ९० दिनभित्र कम्पनी दर्ताको प्रक्रिया शुरु नगरेमा रजिष्ट्रारले नाम रद्द गर्नसक्छ l नामका सम्बन्धमा इङ्ल्याण्डको चान्सलरी अदालतले सन् १९१७ मा इरवीङ्ग विरुद्ध बटरकप मार्जरिन कम्पनी लिमिटेडको मुद्दामा मिल्दोजुल्दो नामले भ्रमपूर्ण जानकारी दिने भएमा अनुमति दिन नहुने आदेश गरेको थियो l ‘बटरकप डेरी वा बटरकप भनिने कम्पनीले स्कटल्याण्ड र उत्तरी इङ्ल्याण्डमा मार्जरिन (मख्खन) को व्यापार गर्थ्यो l पछि स्थापना भएको बटरकम मार्जरिन कम्पनी लिमिटेडले पनि उही प्रकारको व्यापार गर्न थालेपछि विवाद परी अदालतले दोस्रो कम्पनीको दर्ता बदर गरेको थियो l सोसाइटी अफ मोटर म्यानुफ्याक्चर्स ट्रेड लिमिटेड विरुद्ध मोटर म्यानुफ्याक्चर्स एण्ड ट्रेडर्स म्युचुअल इन्स्योरेन्स कम्पनी लिमिटेड, १९२५ को मुद्दामा नामले धोकाधडी र भ्रम सिर्जना गर्दैन भने अनुमति दिनसकिने निर्णय दिएको थियो l

कम्पनी निर्देशिका, २०७२ को दफा ६ अनुसार प्राकृतिक व्यक्ति वा सङ्गठित संस्था मात्र संस्थापक हुनसक्छन् l ऐनको दफा ६६ अनुसार नावालक र करार गर्न अयोग्य व्यक्ति संस्थापक हुन सक्दैनन् l पब्लिक कम्पनीको चुक्ता पुँजी कम्तीमा एक करोड रुपैयाँ हुनुपर्छ तर, सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर अन्यथा व्यवस्था गरेमा सो लागू हुन्छ । त्यस्तै, दफा १२ अनुसार बैङ्किङ्ग कारोबार, वित्तीय कारोबार, बिमा व्यवसायसम्बन्धी कारोबार, धितोपत्र बजारसम्बन्धी व्यवसाय, निवृत्तभरण कोष वा सामूहिक बचत कोष (म्युचुअल फण्ड) सञ्चालन गर्ने कम्पनी, पाँच करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी वा तोकिए बमोजिमको अन्य व्यवसाय वा कारोबार सञ्चालन गर्ने कम्पनी पब्लिक कम्पनीको रुपमा संस्थापना हुनुपर्छ l प्राइभेट कम्पनी पब्लिक कम्पनीका लागि तोकिएका शर्त पूरा गरेमा पब्लिक कम्पनीमा रुपान्तरण हुनसक्छ र पब्लिक कम्पनी पनि प्राइभेट कम्पनीमा रुपान्तरण हुनसक्छ l

कम्पनी संस्थापना

कम्पनी रजिष्ट्रार कार्यालयले नाम स्वीकृत गरेपछि कम्पनी दर्ताको प्रक्रिया शुरु गर्नुपर्छ l नेपाली र विदेशी नागरिकले कम्पनी संस्थापन गर्दा सङ्लग्न गर्नुपर्ने कागजात केही फरक हुन्छ l नेपाली नागरिक र नेपाली नागरिकले संस्थापना गरेको कम्पनी संस्थापक भएको कम्पनी दर्ता गर्दा (१) प्रबन्धपत्र, (२) नियमावली, (३) पब्लिक कम्पनी भए कम्पनी संस्थापना गर्नु अघि संस्थापकबीच कुनै सम्झौता भएको रहेछ भने त्यस्तो सम्झौताको प्रतिलिपि, (४) प्राइभेट कम्पनी भए सर्वसम्मत सम्झौता भएको रहेछ भने त्यस्तो सम्झौताको प्रतिलिपि, (५) कानून बमोजिम कुनै खास प्रकारको व्यवसाय वा कारोबार सञ्चालन गर्ने कम्पनी दर्ता गर्नु अघि कानूनबमोजिम कुनै निकायको पूर्वस्वीकृति वा इजाजत लिनुपर्ने व्यवस्था गरिएको भए त्यस्तो स्वीकृति वा इजाजतपत्र, (६) नेपाली नागरिक संस्थापक भएमा नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र सङ्गठित संस्था भएमा त्यस्तो संस्थाको दर्ता प्रमाणपत्र, (७) संस्थापक बन्ने निर्णयसम्बन्धी सञ्चालक समितिको निर्णय र संस्थाको संस्थापनासम्बन्धी लिखत पेश गर्नुपर्नेछ ।

विदेशी नागरिक वा निकाय संस्थापक भएमा माथि उल्लिखित सबै कागजातका अतिरिक्त (१) कानूनबमोजिम नेपालमा लगानी वा व्यवसाय वा कारोबार गर्ने सम्बन्धमा प्राप्त अनुमतिपत्र, (२) विदेशी व्यक्ति संस्थापक भएमा निज कुन मुलुकको नागरिक हो त्यस्तो प्रमाणित गर्ने लिखत र (३) विदेशी कम्पनी वा निकाय संस्थापक भएमा त्यस्तो कम्पनी वा निकायको संस्थापनाको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि तथा संस्थापनासम्बन्धी प्रमुख लिखत पेश गर्नुपर्छ l कम्पनी दर्ता गर्दा प्रबन्ध र नियमावली मुख्य कागजात हो l तर, एकल शेयरधनी भएको कम्पनी दर्ताका लागि संस्थापकले तोकिएको नियमावलीको ढाँचा स्वीकृत गरेको मञ्जुरी दिएको भए सो अवस्थामा छुट्टै नियमावली पेश गर्न पर्दैन । ऐनको दफा ५ अनुसार कम्पनी संस्थापना गर्न निवेदन परेपछि कम्पनी रजिष्ट्रार कार्यालयले जाँचबुझ गरी निवेदन परेको मितिले सात दिनभित्र तोकिएको दस्तुर लिई त्यस्तो कम्पनी दर्ता गरी निवेदकलाई कम्पनी दर्ताको प्रमाणपत्र दिनुपर्छ l कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली (कम्पनी एडमिनिस्ट्रेसन म्यानेजमेन्ट इन्फर्मेसन सिष्टम - क्यामिस) लागु हुनु अघि हस्तलिखित कागजी प्रमाणपत्र जारी हुन्थ्यो भने अहिले कम्पनी दर्तापश्चातका सम्पूर्ण कागजात विद्युतीय हस्ताक्षर गरि अनलाइनमा प्राप्त हुन्छ l

तोकिएको समयभित्र दर्ता कम्पनी दर्ता नभएमा कार्यालयले प्रस्तावित कम्पनी दर्तावालालाई तीन दिनभित्र कारणसहितको जानकारी दिनुपर्छ l कम्पनी दर्ता नगरी कुनै व्यक्तिले ‘कम्पनी’ शब्द लेखि कुनै फर्म वा संस्थाको नामबाट कुनै पनि किसिमको कारोबार गर्न पाइँदैन । ऐनको दफा ६ अनुसार (१) कम्पनीको नाम अघि दर्ता भई कायम रहेको कुनै कम्पनीको नाम वा ट्रेडमार्कको नामसँग मिल्ने भएमा वा भ्रम सिर्जना हुन सक्ने गरी त्यस्तो कम्पनीको नाम वा ट्रेडमार्कको नामसँग मिल्दोजुल्दो हुने भएमा, (२) कम्पनीको नाम वा उद्देश्य प्रचलित कानूनविपरीत भएमा वा सार्वजनिक हित, नैतिकता, सदाचार, शिष्टाचार आदि कुनै दृष्टिकोणले अनुपयुक्त वा अवाञ्छनीय देखिएमा वा फौजदारी कार्यको आशय झल्कने देखिएमा, (३) कम्पनीको नाम ऐनबमोजिम दर्ता खारेजीमा परेको वा प्रचलित कानूनबमोजिम दामासाहीमा परेको कम्पनीको नामसँग मिल्ने भएमा वा भ्रम सिर्जना हुनसक्ने गरी मिल्दोजुल्दो हुने भएमा र त्यसरी दर्ता खारेजीमा परेको वा दामासाहीमा परेको अवधि पाँच वर्ष पूरा भइनसकेको भएमा यस्ता कम्पनी दर्ता गर्न कार्यालयले अस्विकार गर्छ l यसरी कम्पनी दर्ता गर्न अस्विकार गरेमा सोको कारणसहितको सूचना कम्पनी संस्थापना गर्नको लागि निवेदन परेको मितिले १५ दिनभित्र निवेदकलाई दिनुपर्छ l कार्यालयले कुनै कम्पनी दर्ता गर्न इन्कार गरेमा वा सोको सूचना नदिएमा चित्त नबुझ्ने व्यक्तिले १५ दिनभित्र अदालतमा उजूर गर्न सक्छ l

अविच्छिन्न उत्तराधिकारी

कम्पनी अविच्छिन्न उत्तराधिकारवाला स्वशासित सङ्गठित संस्था हुन्छ र यसको छुट्टै छाप हुन्छ । कम्पनीले व्यक्तिसरह चल-अचल सम्पत्ति प्राप्त गर्न, राख्न, बेचबिखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्छ । कम्पनीले आफ्नो नामबाट नालिस उजूर गर्न र कम्पनीउपर पनि सोही नामबाट नालिस उजूर लाग्नसक्छ । कम्पनीले व्यक्तिसरह करार गर्न र करार बमोजिमको अधिकार उपयोग गर्न तथा दायित्व निर्वाह गर्न पनि सक्छ । कम्पनीको कारोबारको सम्बन्धमा शेयरधनीको दायित्व निजले धारण  गरेको वा धारण गर्न कबुल गरेको शेयरको अधिकतम रकमसम्म मात्र सीमित हुन्छ, यसलाई शेयरधनीको सिमित दायित्व भनिन्छ l कम्पनी र शेयरधनीको स्वतन्त्र अस्तित्व सम्बन्धमा सन् १८९७ मा सालोमन विरुद्ध आरोन सालोमन एण्ड कम्पनी लिमिटेडको मुद्दामा हाउस अफ लर्ड्सले सिद्धान्त कायम गरेको थियो l नेपालमा पनि युनिटी इन्टरनेशनलको मुद्दामा कम्पनीलाई स्वतन्त्र अस्तित्व र शेयरधनीलाई सिमिति दायित्व दिनुको कारण ‘व्यवसायिक सुगमताको’ लागि हो भनेको छ l (नेपाल कानुन पत्रिका २०६८, निर्णय नं. ८८१४) कम्पनीले केही निश्चित शर्त पालना गर्नुपर्छ l ऐनको दफा १० अनुसार कम्पनी ऐन, प्रबन्धपत्र वा नियमावलीमा लेखिएका शर्तका अतिरिक्त (१) सम्पूर्ण काम कारोबार कम्पनीको नामबाट गर्नुपर्छ, (२) प्राइभेट कम्पनीले नामको पछाडि ‘प्राइभेट लिमिटेड र पब्लिक कम्पनीले  नामको पछाडि ‘लिमिटेड’ लेख्नु पर्छ तर, मुनाफा वितरण नगर्ने कम्पनीको हकमा यो व्यवस्था लागू हुँदैन l (३) प्राइभेट कम्पनीले शेयर तथा डिबेञ्चर खुल्लारुपमा जारी गर्नु हुँदैन र (४) कम्पनीले साझेदारी वा प्राइभेट फर्म खोल्न हुँदैन l

प्रबन्धपत्र र नियमावली

कम्पनी दर्ता गर्न प्रबन्धपत्र अनिवार्यरुपमा तयार पार्नुपर्छ l प्रबन्धपत्र कम्पनीको सारवान मूल दस्तावेज हो l प्रबन्धपत्रमा कम्पनीका संस्थापकको पूरा नाम र ठेगाना उल्लेख गरी प्रत्येक संस्थापकले के कति शेयर लिन मञ्जुर गरेको हो सोसमेत उल्लेख गरि संस्थापक सबैले सहीछाप गर्नुपर्छ l प्रत्येक संस्थापकको छुट्टाछुट्टै साक्षीको नाम, ठेगाना र सहीछापसमेत गर्नुपर्छ l संस्थापक हुन कम्पनीको नियमावलीमा तोकिएबमोजिम र त्यसरी नतोकिएकोमा कम्तीमा १ सय कित्ता शेयर लिन गर्न मञ्जुर गरेको हुनुपर्छ l प्रबन्धपत्रमा कम्पनीको नाम, निवास (रजिष्टर्ड कार्यालय रहने ठेगाना), व्यवसायको प्रकृति, उद्देश्य, उद्देश्य पूरा गर्न गरिने कार्य, पुँजी जस्ता आधारभूत कुरा उल्लेख हुन्छ l एउटा मुद्दा (इजिप्सियन साल्ट एण्ड सोडा कम्पनी लिमिटेड विरुद्ध पोर्ट सेड साल्ट एसोसियसन लिमिटेड, १९३१) को मुद्दामा बेलायतको हाउस अफ लर्ड्सले प्रबन्धपत्रको सिमाको बारेमा व्याख्या गर्दै ‘प्रबन्धपत्रले व्यवसायको सिमा र उपल्लो हद कहाँसम्म निर्माण हुन्छ भन्ने देखाउने आधारशिला हो l यसले साहु, शेयरधनी तथा बाहिरका अरुलाई कम्पनीको गतिविधि देखाउँछ’ भनेको छ l कम्पनी सञ्चालकले उद्देश्यभन्दा बाहिर गएर निर्णय गर्न सक्दैनन् र गरेमा अमान्य हुन्छ l आशबरी रेल्वे क्यारिज एण्ड आईरन कम्पनी लिमिटेड विरुद्ध रिची, १८७५) को मुद्दामा हाउस अफ लर्डले रेल्वे क्यारिजको निर्माण, बिक्री र भाडामा दिने उद्देश्यले स्थापित आशवरी कम्पनीले रेल्वे लाईन बनाउने रिची कम्पनीलाई ऋण दिने विषयमा गरेको निर्णय कम्पनीको उद्देश्य विपरित भएको भन्दै अमान्य घोषणा गरेको थियो l प्रबन्धपत्रमा कम्पनीको नाम, निवास (रजिष्टर्ड ठेगाना), उद्देश्य, पुँजी, शेयरका किसिम, बन्देज, शेयरधनीको दायित्व जस्ता मूलभूत विषय समेटिएको हुन्छ l कम्पनी जुन देशमा दर्ता हुन्छ सोही देशको राष्ट्रियता र निवास हुन्छ l

प्रबन्धपत्रको अधिनमा रही निर्माण हुने कम्पनीको नियमावली कम्पनीको आन्तरिक व्यवस्था नियन्त्रण गर्ने दस्तावेज हो l नियमावलीमा (१) शेयरको अङ्कित मूल्य, (२) संस्थापक हुन् लिनुपर्ने शेयर सङ्ख्या, (२) मतदान र मताधिकार, (३) सञ्चालक समितिको गठन, संख्या र कार्यकाल, (४) कम्पनी सचिवसम्बन्धी व्यवस्था, (५) विभिन्न वर्गका शेयर, शेयरधनीको हक, अधिकार, हस्तान्तरण तथा बन्देज, (५) अग्राधिकार शेयर, (६) विशेष प्रस्तावसम्बन्धि व्यवस्था, (७) गणपूरक संख्या जस्ता विषय नियमावलीमा समावेश हुन्छन् l शेयरको अङ्कित मूल्यको हकमा प्राइभेट कम्पनीले नियमावलीमा तोके बमोजिम हुन्छ भने पब्लिक कम्पनीको शेयरको अङ्कित मूल्य प्रति शेयर ५० रुपैयाँ वा १० अङ्कले भाग जाने सोभन्दा बढी अङ्कले हुन आउने गरी प्रबन्धपत्र तथा नियमावलीमा व्यवस्था भए बमोजिमको रकम बराबर हुन्छ l नियमावली कम्पनीको आन्तरिक कार्यविधिको एउटा दस्तावेज हो l त्यसैले कम्पनीभित्र के निर्णय भईरहेको छ वा भएको छ त्यो कुरा बाह्य व्यक्तिलाई थाहा हुन्न l बेलायतको एक अदालत कोर्ट अफ एक्सचेकरले रोयल ब्रिटिश बैंक विरुद्ध तुरक्वान्ड (सन् १८५६) को मुद्दामा कम्पनीको आन्तरिक व्यवस्थापन (इन्डोर म्यानेजमेन्ट) कसरी भएको छ भन्ने कुरा बाह्य व्यक्ति वा कम्पनीलाई थाहा हुन्न भने निर्णय सुनाएको थियो l यसलाई  तुरक्वान्ड रुल पनि भनिन्छ l

सारांशमा, माथिका विभिन्न अनुच्छेदमा उल्लिखित कागजात तयार गरेर कम्पनी दर्ता गर्न सकिन्छ l यी उल्लिखित कागजातको बारेमा भएको अदालती निर्णयको पनि संक्षेपमा चर्चा गरियो l कम्पनी दर्ता भएपछि पब्लिक कम्पनी भए कारोबारको लागि स्वीकृति लिनुपर्छ तर, प्राइभेट कम्पनी दर्ता भएकै दिनदेखि कारोबार शुरु गर्नसक्छ l कम्पनी दर्ता भएको दिनदेखि तीन महिनाभित्र शुरु विवरण पठाउनुपर्छ l यसमा ठेगानाको जानकारी, शेयर बाँडफाँड, सञ्चालक समिति गठन र शेयर लगत पठाउनुपर्छ l कम्पनी दर्ता भएको एक वर्षभित्र पहिलो वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्छ र त्यसपछि हरेक आर्थिक वर्ष सकिएको ६ महिना अर्थात पुष मसान्तसम्म साधारणसभा गर्नुपर्छ l साधारणसभाको निर्णयसंगै वर्षेपिच्छे दफा ५१, ८० र १११ को विवरण पेश गर्नुपर्छ l पुष मसान्त नाघेर विवरण पठाएमा जरिवाना तिर्नुपर्छ l कम्पनीले आवश्यकताअनुसार जुनसुकै बेला विशेष साधारणसभा गर्न सक्छन l  साधारणसभा नगर्ने कम्पनी भएमा शेयरधनीको निर्णय नै साधारणसभासरह हुन्छ l कुनै कारणवश खारेज नभएसम्म कम्पनी निरन्तर चलिरहन्छ l


आर्थिक अभियान 

बुधबार, १७ बैशाख, २०८२

https://abhiyandaily.com/news/449011/kmpnii-drtaako-aadhaarbhuut-pkss-ke-kstaa-kaagjaat-aavshyk-prch/

 

विद्युत उत्पादन शुरु गरेपछि आईपीओ

  कति उचित कति अनुचित नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२ / ० ८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमक...