Sunday, December 17, 2017

शेयर मूल्य समायोजन र आधार मूल्य निर्धारण

हकप्रद र बोनस शेयर जारी भएपछि एक्सचेञ्जले समायोजित र कर प्रयोजनका लागि आधार मूल्य (बेस प्राइस) सार्वजनिक गर्छ । शेयर लगानीकर्ताले यी दुई मूल्य कहिले, कसरी र निर्धारण विधिसहित जान्नु जरूरी हुन्छ । हकप्रद र बोनस शेयर जारी हुनुअघि कायम मूल्य र यी दुई प्रकारका शेयर जारी भएपछि कायम हुने मूल्यलाई घटेको भन्न मिल्दैन । साविक कायम पूँजीमा जति प्रतिशतले हकप्रद र बोनसमार्फत पूँजी थप हुन्छ सोही अनुपातमा मूल्य समायोजित हुन्छ ।

बोनसपछिको समायोजन

साधारणसभामा बोनस शेयरसम्बन्धी प्रस्ताव पेश हुने भएमा बूक क्लोजपछि मूल्य समायोजन हुन्छ । कुनै कम्पनीले २० प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव लैजाने भएमा बूक क्लोजको अगिल्लो दिन बजार बन्द हुँदा रू. ६ सय ४० मा अन्तिम कारोबार भयो भने भोलिपल्ट मूल्य समायोजित भएर रू. ५ सय ३३ मा खुल्छ । अन्तिम कारोबार मूल्यलाई बोनसपछि कायम हुने शेयर सङ्ख्याले भाग गरेर समायोजन मूल्य निकालिन्छ । सजिलोसँग बुझ्न १ सय कित्तालाई आधार बनाउन सकिन्छ । माथिकै उदाहरणमा अन्तिम मूल्य रू. ६ सय ४० का दरले हिसाब गर्दा १ सय कित्ताको मूल्य रू. ६४ हजार हुन्छ र यसलाई कायम हुने शेयर सङ्ख्या १ सय २० ले भाग गर्दा आउने भागफल समायोजन मूल्य हो ।

हकप्रदपछिको समायोजन

बोनसपछि मूल्य समायोजन भएसरह हकप्रदपछि पनि मूल्य समायोजन हुन्छ । यसमा फरक भनेको हकप्रदबापत थपिने रकम मात्र हो । हकप्रद आवेदन गर्नयोग्य हकदार कायम गर्न बूक क्लोज गरिन्छ । हकप्रद जारी गर्न लागेको कम्पनीको बूक क्लोज हुँदा रू. ७ सय ५० मा अन्तिम कारोबार भयो भने भोलिपल्ट मूल्य समायोजित भएर रू. ६ सय ४२ मा खुल्छ । अन्तिम कारोबार मूल्य र थप हुने रकम जोडेर कायम भएको कुल रकमलाई हकप्रदपछि कायम हुने शेयर सङ्ख्याले भाग गरेर समायोजन मूल्य निकालिन्छ । हकप्रदको सन्दर्भमा पनि समायोजन मूल्य बुझ्न १ सय कित्तालाई आधार बनाउन सकिन्छ । माथिकै उदाहरणमा अन्तिम मूल्य रू. ७ सय ५० का दरले हिसाब गर्दा १ सय कित्ताको मूल्य रू. ७५ हजार हुन्छ र २० प्रतिशत हकप्रद बापतको रकम रू. २ हजार जोड्दा रू. ७७ हजार हुन्छ । यही रू. ७७ हजारलाई कायम हुने शेयर सङ्ख्या १ सय २० ले भाग गर्दा आउने भागफल रू. ६ सय ४२ समायोजन मूल्य हो ।  

नगद लाभांश समायोजन

नगद लाभांशको मूल्य समायोजन हुने प्रचलन भए पनि नेपालमा यस्तो अभ्यास गरिएको थिएन । चालू आर्थिक वर्षबाट एक्सचेञ्जले नगद लाभांश पनि समायोजन गर्ने नीति लिएको छ । एक्सचेञ्जले लिएको नीतिअनुसार बजार मूल्यको १० प्रतिशतभन्दा बढी नगद लाभांश दिएमा मूल्य समायोजन गरिने भएको छ । नगद लाभांश पनि समायोजन गर्न लागेको विषयलाई ‘बोनस दिन प्रेरित गरिएको’ भन्ने प्रचार र बोनस शेयर बीच ‘गोरु बेचेको साइनो’ पनि लाग्दैन । नगद लाभांश समायोजन सामान्य विषय भएकाले यसलाई लिएर आत्तिनुपर्ने तात्त्विक कारण छैन । कुनै कम्पनीले ५१ प्रतिशत नगद लाभांश दिने घोषणा ग¥यो र रू. ५ सयमा बूक क्लोज भएको खण्डमा मात्र नगद लाभांश समायोजन हुन्छ । माथिकै उदाहरणमा अन्तिम मूल्यबाट कम्पनीले दिएको नगद लाभांशबापतको प्रस्तावित रकम रू. ५१ घटाएर रू. ४ सय ४९ मा भोलिपल्ट पहिलो कारोबार खुल्छ । वर्तमान नीतिअनुसार बजार मूल्यको १० प्रतिशतभन्दा कम नगद लाभांश दिने कम्पनीको मूल्य समायोजन हुने छैन ।

आधार मूल्य निर्धारण

हकप्रद र बोनस शेयर जारी गरेपछि एक्सचेञ्जले पूँजीगत लाभ कर प्रयोजनका लागि आधार मूल्य (बेस प्राइस) सार्वजनिक गर्छ । दलालले मनोमानी ढङ्गले आधार मूल्य राख्छ भन्ने दुष्प्रचार गरिए पनि यथार्थमा यस्तो मूल्य निर्धारण गर्ने सूत्र अर्थ मन्त्रालयले एक्सचेञ्जलाई दिएको छ र एक्सचेञ्जले सार्वजनिक गर्छ । बोनस र हकप्रदपछिको आधार मूल्य निर्धारण गर्दा अघिल्लो पटकको आधार मूल्य र बूक क्लोजपछिको समायोजित मूल्यको योगफललाई २ ले भाग गरी नयाँ आधार मूल्य निर्धारण गरिन्छ । उदाहरणका लागि कुनै कम्पनीले ३० प्रतिशत बोनस वा हकप्रद शेयर जारी गर्दा रू. ५ सयमा बूक क्लोज भएमा समायोजित मूल्य र अघिल्लो आधार मूल्यको योगलाई २ ले भाग गर्दा आउने भागफल नयाँ आधार मूल्य हुन्छ । यस उदाहरणमा बोनस र हकप्रदपछिको समायोजित मूल्य क्रमशः रू. ३ सय ८५ र ४ सय ८ कायम हुन्छ । मानौं यस कम्पनीको अघिल्लो पटकको आधार मूल्य रू. ५ सय २० रहेछ भने नयाँ आधार मूल्यको हिसाब गर्न हकप्रद र बोनसपछिको समायोजित मूल्य र अघिल्लो आधार मूल्यको योगफल रू. ९ सय ५ र रू. ९ सय २८ लाई २ ले भाग गर्दा आउने भागफल क्रमशः रू. ४ सय ५२ र रू. ४ सय ६४ नयाँ आधार मूल्य कायम हुन्छ ।

विभिन्न आधार मूल्यहरू

धारकले धारण गरेको विभिन्न प्रकारका शेयरका फरक–फरक आधार मूल्य हुन्छ । प्राथमिक बजारबाट खरीद गरिएको शेयरको रू. १ सय, प्रिमियममा जारी भएको शेयरको परल र प्रिमियमको योगबाट कायम हुने मूल्य, बजारबाट खरीद गरिएको शेयरको सोही खरीद मूल्य, हकप्रद वा बोनसबाट प्राप्त भएको शेयरको माथि उल्लिखित विधिबाट तय भएको आधार मूल्य हुन्छ । हकप्रद र बोनस शेयरबाहेकको आधार मूल्य परिवर्तन हुँदैन । हकप्रद र बोनस शेयरको आधार मूल्य अर्कोपटक हकप्रद वा बोनस जारी नभएसम्म कायम रहन्छ ।

बजारका भ्रमहरू

केन्द्रीय बैङ्कले शेयर धितोमा कर्जा प्रवाह गर्न निर्धारण गरेको १ सय ८० दिनको औसत वा अन्तिम बजार मूल्यको ५० प्रतिशतले हुन आउने अङ्कलाई ‘आधार मूल्य’का रूपमा बुझेको पनि देखिएको छ । कर्जा लिने प्रयोजनबाहेक यसको उपयोग मार्जिन कारोबारमा पनि लागू हुनेछ । दलालले आफूखुशी आधार मूल्य लगाउने र कमिशन पनि मनलाग्दी लिएर लगानीकर्तासँग बढी रकम असुलेर आफै राख्छन् भन्ने अफवाह फैलाउनेको शेयरबजारमा कमी छैन । तथ्य र यथार्थ के हो भने दलालले आफ्नै बाबुआमाको शेयर बेच्दा पनि तोकिएको कमिशन लिनुपर्ने हुन्छ । कारोबार रकमको आधारमा कति कमिशन लिने धितोपत्र बोर्डले तोकिदिएको छ । तोकेभन्दा घटीबढी कमिशन लिएर कुनै पनि कारोबार गर्नसक्ने अवस्था हुन्न । शेयर कारोबारमा लाग्ने कमिशन, शुल्क र कर निर्धारक दलाल आफै हैनन् । दलाल वित्तीय मध्यस्थकर्ता भए पनि आफ्नो लागतअनुसारको शुल्क निर्धारण आफैले गर्ने अधिकार छैन । उदाहरणका लागि दूरसञ्चार कम्पनीले आफूले दिने सेवाको शुल्क आफै निर्धारण गरेर नियामकबाट स्वीकृतसम्म गराउँछन् । तर, दलालले कति यस्तो केही गर्न पाउने अधिकार दिइएको छैन ।

अन्त्यमा, बजारसम्बन्धी तथ्य र यथार्थ बुझ्न अध्ययनको दायरा बढाएमा लगानी सफल हुने मन्त्र यही हो ।


आर्थिक अभियान,  २०७४ मंगसिर २५ गते

(पत्रिकामा प्रकाशित हुँदा भएको सामान्य टंकन अशुद्धिलाई सुधार गरिएको छ |)

http://www.abhiyan.com.np/new/Articles/view/109978

1 comment:

Unknown said...

Sarai ramro kura share garnu bhayekoma muri muri dhannebaad

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...