Wednesday, January 2, 2019

कारोबार रोकिएका बेला साधारणसभा : नियमनका लागि कानूनी प्रबन्ध आवश्यक

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण भई कारोबार भइरहेका कम्पनीको कारोबार रोक्का भएको अवस्थामा पूर्वघोषित साधारणसभा गर्न दिने कि नदिने भन्ने प्रश्न उठेको छ । यस सम्बन्धमा धितोपत्र बजारको नियमक धितोपत्र बोर्डले अहिलेसम्म कुनै कानूनी प्रबन्धन गरेको छैन । धितोपत्र बोर्ड र नेप्सेले कारोबार रोक्न निर्देशन दिएको अवस्थामा साधारणसभा निर्बाध गर्न दिएको उदाहरण कयौं छन् । कारोबार रोकिएका बेला साधारणसभा गर्न दिँदा लगानीकर्ता हित संरक्षण होइन कि विनाश हुन्छ भन्ने तथ्यमा बोर्ड र नेप्से बेखबर देखिइरहेका बेला पूँजीबजार सुधारको नारा दिएर नेप्सेमा धर्ना हुँदै रिले र आमरण अनशनसमेत बसेका लगानीकर्ता र तिनका नेतासमेत बेखबर देखिएका छन् । हजारौं कोस लामो यात्रा एक पाइलाबाट शुरू हुन्छभनेझैं सुधारको प्रक्रिया सानै गतिविधिबाट शुरू हुन्छ भन्ने हेक्का लगानीकर्ता र तिनका नेतालाई भएको देखिएन ।

कारोबार रोकिने अवस्था

धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम १६(१) मा सूचीकरण स्थगन गर्नसक्ने व्यवस्था रहेको छ । विनियमले गरेका व्यवस्थाहरूमा (१) वार्षिक शुल्क नबुझाएमा (२) धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशील सूचना तथा जानकारी सम्झौतामा उल्लिखित समयमा नेप्सेमा पेश नगरेमा (३) नेप्सेलाई गलत सूचना दिएमा वा पटक
-पटक सूचना परिवर्तन गरेमा (४) नेप्सेमा वार्षिक तथा अर्धवार्षिक प्रतिवेदन समयमा पेश नगरेमा कारोबार रोक्न सक्ने व्यवस्था छ । यस्तो कारोबार स्थगन बढीमा ३ महीनासम्म नेप्सेले गर्नसक्ने र बोर्डको सहमति लिई अवधि थप गर्न सक्नेछ । माथि उल्लिखित परिस्थितिको विद्यमानता नरहेमा कारोबार स्थगन फुकुवा गर्ने व्यवस्था समेत छ । यसबाहेक धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम ७(२) मा बोर्डले लगानीकर्ताको हित र बजारको स्वच्छता कायम राख्न आवश्यक देखेमा कुनै सूचीकृत संस्थाको धितोपत्र सूचीकरण (कारोबार) स्थगन गर्न धितोपत्र बजार (नेप्से) लाई निर्देशन दिन सक्नेछ ।

मञ्जुश्रीको प्रसंगमा सुशासन

नेपाल राष्ट्र बैंकबाट वर्गको इजाजतप्राप्त नेप्सेमा सूचीकृत मञ्जुश्री फाइनान्सले गत असोज ६ गते ९ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । लाभांश घोषणा गरेको झण्डै ३ महीनापछि गत मंसिर २४ गते मंसिर २१ गतेको सञ्चालक समिति निर्णयानुसार आगामी पुस १६ गते ११औं वार्षिक साधारणसभा सम्पन्न हुन लागेकाले हुँदा पुस ३ गते शेयर दाखिला खारेज (बुक क्लोज) हुने सूचना नेप्सेलाई सम्प्रेषण गरेको थियो । उक्त पत्रमा साधारणसभामा पूर्व (असोज ६ गते) घोषित ९ प्रतिशत नगद लाभांश
लगायत प्रस्ताव सभामा पेश हुने स्पष्ट जानकारी गराइएको थियो । सोही अनुसारको साधारणसभा सम्बन्धी विस्तृत सूचना पत्रिकामा समेत प्रकाशन भएको थियो । तर, त्यसको भोलिपल्ट मंसिर २५ गते नेप्सेलाई अर्को पत्र सम्प्रेषण गरेर नगद लाभांशको अंक संशोधन गरी २ दशमलव ९ प्रतिशत मात्र भएको उल्लेख गरेको थियो । यसरी एकै बैठक (मंसिर २१ गते, बैठक नं. १६१) बाट भएका निर्णयलाई १ दिन अघिपछि संशोधन गर्दै पत्राचार गर्नुलाई कम्पनीमा सुशासन पक्ष फितलो रहेको र कम्पनी सञ्चालक समितिले बदनियतपूर्वक व्यवहार गरेको प्रथम दृष्टिमा नै देख्न सकिन्छ । कम्पनीले नेप्सेलाई पत्राचार गरेको पहिलो पत्र (मंसिर २४) मा स्पष्टसँग अंक र अक्षरमा ९ प्रतिशत लेखिएको छ । अंकमा ९ परेर पछिल्लो पत्र (मंसिर २५) मा अक्षर सच्याइएको भए त्यसलाई ठीकै हो लेखनमा त्रुटि भएछ भन्नसम्म सकिने स्थिति हुने थियो । तर, यहाँ दुवै अवस्थाको विद्यमानता नरहेकाले यस्तो किसिमको पत्राचार हुनुमा बदनियत र दुराशय स्पष्टरूपमा देखिन्छ । यो घटनापश्चात् नेप्सेले फाइनान्सको शेयर कारोबार रोक्का राखेर कम्पनीसँग स्पष्टीकरण माग गरेको छ र आइतवारसम्म कारोबार खुलेको छैन । यस्तो अवस्थामा साधारणसभा रोक्ने कि नरोक्ने भन्ने विषयमा गम्भीर बहस र छलफल चलाउनुपर्ने आवश्यकता देखिएको छ । हुन त यस्तो काम गर्नेमा मञ्जुश्री पहिलो भने होइन । यसअघि पनि कहिले धितोपत्र बोर्डले त कहिले नेप्सेले कारोबार रोकेका बेला साधारणसभा सम्पन्न भएका उदाहरण कयौं छन् । घोषित लाभांश संशोधनको सिलसिला निरन्तर चल्दै आएकोमा मञ्जुश्री पनि थप भएको मात्र हो । (लाभांश संशोधनको सिलसिला, अभियान, २०७५ कात्तिक २६)

विगतको निरन्तता

कारोबार रोकिएका बेला सामान्यतया साधारणसभा गर्नु लगानीकर्ताको हित
विपरीत हुने भए पनि यस्तो बेलामा नियमक (नेप्से र धितोपत्र बोर्ड) ले साधारणसभा नै रोक्न निर्देशन दिएको देखिँदैन । गतवर्ष २०७४ सालमा साधारणसभा घोषणा भएपछि धितोपत्र बोर्डले एभरेष्ट इन्स्योरेन्स र नेशनल हाइड्रोपावर ओटा कम्पनीको कारोबार रोकेको थियो । कारोबार रोकिएकै अवस्थामा पूर्वघोषित बुक क्लोज भएपछि बोर्डले कारोबार खोल्न निर्देशन थियो । यस्ता घटनाका उदाहरण जति खोजे पनि पाइन्छ । तर, अहिलेसम्म कारोबार रोकिएको अवस्थामा साधारणसभा पनि रोकिनुपर्ने गरी बोर्डले अहिलेसम्म कुनै नियम बनाएन । लगानीकर्ताकानेता हुँभन्नेले पनि यस सम्बन्धमा कुनै पहल गरेको देखिएन । नेता त नेता भएयिनका कुरा कति गर्नु तर लगानीकर्ता आफै पनि यस्ता घटना हुँदा उजुर गर्ने र आफूलाई परेको मर्काको सुनुवाइ हुने निकायमा जानुको सट्टा दलाल वा स्टक एक्सचेन्ज (नेप्से)लाई गाली गरेर मन शान्त त पारे होलान् तर यसरी कारोबार रोकिँदा भएको आर्थिक क्षतिको पूर्ति भने भएन ।

सुधारको पाटो

साधारणसभाका लागि सभामा पेश हुने साधारण र विशेष प्रस्ताव
सहितको सूचना कम्तीमा २१ दिनको समय दिई प्रकाशन गर्नुपर्ने व्यवस्था छ । त्यस्तै साधारणसभा प्रयोजनका लागि कम्तीमा ७ दिनको सूचना दिएर शेयरधनीको दाखिला खारेज (बुक क्लोज) मिति तोक्नुपर्छ । सूचीकृत कम्पनीको हकमा साधारणसभाको सूचना र बुक क्लोज सम्बन्धी उद्घोषण महत्त्वपूर्ण तिथि हुन् । सूचीकृत कम्पनीको दैनिक रूपमा शेयर किनबेच भइरहने हुँदा एउटा निश्चित दिन तोकेर बुक क्लोज गर्नुपर्ने हुन्छ । यस दिनले शेयरधनी बाहिरिन र भित्रिन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । बुक क्लोज भनेको लाभांश प्राप्ति गर्नु मात्र हो भन्ने बुझाइ आमलगानीकर्ता, धितोपत्र बोर्ड र नेप्सेको रहेको देखिन्छ । कम्पनीको सभा (साधारण वा विशेष) मा शेयरधनीको उपस्थिति लाभांशको लागि मात्र हुने भन्ने हुँदैन । कम्पनीको सञ्चालक समितिमा जाने र मतदान गर्ने लगायत सभामा आफ्ना भनाइ राख्ने सम्मको कार्य हुन्छ । नेप्सेमा सूचीकृत कम्पनीहरू मताधिकार सहितको शेयरधनी भएकाले सबै शेयरधनीले समान हैसियत राख्छन् । अन्यत्र जस्तो मताधिकार रहित शेयरधनीको कानूनी प्रबन्धन नेपालमा नभएकाले सबै शेयरधनी उम्मेदवार हुन् र मतदान गर्न सक्छन् ।

अन्त्यमा, कारोबार रोकिने परिस्थितिका बारेमा भएको विषयवस्तु हेर्दा कम्पनीमा सुशासन पक्ष कमजोर र कुनै कुरा लुकाइएका कारण भावी दिनमा शेयरधनीको सम्पत्तिमा गम्भीर क्षति हुनसक्ने प्रबल सम्भावना छ । साधारणसभा हुन दिँदा भविष्यमा अझ भयानक समस्या उत्पन्न हुनसक्ने हुँदा कारोबार रोकिएका बेला आह्वान गरिएको साधारणसभालाई स्थगन गर्नुपर्छ र पुनः अर्को सूचना प्रकाशन गर्न लगाउन बोर्डले प्रशासकीय निर्णय गर्नुपर्छ । यसका लागि कानूनी प्रबन्धन गर्नु आवश्यक छ । त्यस्तै मञ्जुश्रीको जस्तो गतिविधि गर्ने कम्पनीबाट लगानीकर्तालाई परेको क्षतिको पूर्ति गर्नेसम्मको कानूनी प्रबन्धन गर्नु अपरिहार्य भएको छ ।

२०७५ पौष ९ अभियान दैनिक
http://www.abhiyan.com.np/?p=303492

Saturday, December 22, 2018

अनलाइन सम्झौतामा छुटेका विषय

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले इन्टरनेटमा आधारित स्वचालित विद्युतीय शेयर कारोबार प्रणाली (अनलाईन) को लागि कारोबार सदस्य (सदस्य) र ग्राहकबीच हुने सम्झौताको लागि ३९ वटा शर्त सहितको ढाँचा सार्वजनिक गरेसँगै सम्झौता गर्ने क्रम शुरु भएको छ  अनलाईनको शुरुवातपछि शेयर कारोबार ग्राहकको हात-हातमा आइपुगेको छ । आफू रहेको जुनसुकै स्थानबाट मोबाइल फोन (इन्टरनेट उपलब्ध भएमा), ल्यापटप वा डेस्कटप कम्प्युटरबाट शेयर क्रय-विक्रयको आदेश दिनसकिने सुबिधा अनलाईनले दिनेछ । अनलाईनका केहि सिमा (कानूनी र प्रविधि) भने हुनेछ । कानूनी सिमा बन्देज के के छन् संक्षिप्तमा यो आलेखको विभिन्न अनुच्छेदमा समिक्षा गर्ने प्रयास गरिएको छ । 

सम्झौताका शर्त बन्देजहरु

सम्झौतामा भएका मुख्य-मुख्य बुँदाहरु तालिकामा उल्लेख गरेर प्रस्तुत गरिएको छ । तालिकामा दिएका अंक क्रम संख्या नभएर सम्झौताका क्रम संख्या हुन् । 

बुँदा नं.
व्यवस्था
धितोपत्र कानुन र अन्य नियमकीय निकायले जारी गर्ने निर्देशन परिपत्र सम्झौताको अभिन्न अंग हुने ।
ग्राहक पहिचान फाराममा उपलब्ध गराएको विवरणमा कुनै फेरबदल आएमा ७ कार्य दिन भित्र सदस्यलाइ जानकारी दिनुपर्ने । (फोन नं., इमेल आदि)
कुनै कानुनले आर्थिक कारोबार गर्न रोक लगाउने गरि कुनै घटना घटेमा सदस्यलाई तुरुन्त जानकारी दिनुपर्ने । (दामासाही, बिघटन भएमा आदि)
४.
असम्बन्धित व्यक्तिले युजरनेम र पासवर्ड प्राप्त गरि अनधिकृत आदेश दिई कुनै दायित्व सिर्जना गराएमा पन्छिन नसकिने हुँदा यसको सुरक्षा गर्नु ग्राहकको जिम्मेवारी हुने ।
ग्राहकले एक सदस्यलाइ उपलब्ध गराएको हितग्राही खाता अर्को सदस्यलाइ पनि उपलब्ध गराएमा हुने हानि-नोक्सानीको जिम्मेवारी ग्राहकको हुने ।
प्राप्त युजरनेमबाट भएको सम्पूर्ण कारोबारको दायित्व वहन र राफसाफको जिम्मेवारी ग्राहकको हुने ।
युजरनेमको उपयोग गरि हुने दायित्वबाट नेप्सेको सम्पत्तिमा कुनै हानी भएमा ग्राहक जिम्मेवार हुने ।
बिक्री गरेको धितोपत्र भोलिपल्ट १२ बजेभित्र सदस्यको राफसाफ खातामा हस्तान्तरण गर्नुपर्ने र नगरेमा सिर्जित हुने दायित्व ग्राहकको हुने ।
बिक्री भएको धितोपत्रको आधार मूल्य राफसाफ हुने अगिल्लो दिन उपलब्ध नगराएमा वा गलत मूल्य उपलब्ध गराएमा सिर्जित हुने आर्थिक दायित्व ग्राहकको हुने ।
११
अग्रिम बुझाएको रकमको ४ गुणासम्म खरिद आदेश प्रविष्ट गर्नुपर्ने ।
१४
अग्रिम भुक्तानी वापतको रकमको सट्टा कारोबारयोग्य धितोपत्र पनि बुझाउन सकिने ।
१५
अग्रिम रकम बापत बुझाएको धितोपत्रको मूल्यांकन बजार मूल्यको ७० प्रतिशतसम्म हुने ।
१७
लिमिट अनुसार कारोबार गरि समयभित्र राफसाफको दायित्व पुरा नगरेमा टि+४ मा ग्राहकलाई जानकारी गराई खरिद गरिएको तथा जमानतमा लिएको धितोपत्र बिक्री, बैंक जमानतबाट रकम र सो को लागतको सोधभर्ना र नपुग रकम कानुन बमोजिम असुल गर्ने । 
२०
आदेश प्रविष्ट भइ कारोबार पश्चात मृत्यु भएमा वा अन्य जुनसुकै कारणबाट राफसाफ हुन नसक्ने स्थितिको सिर्जना भएमा सो दायित्व उत्तराधिकारीमा सर्ने ।
२१
नियमकबाट कारोबार रद्द गरेमा आदेश स्वत रद्द हुने ।
२२
नावालकको हकमा संरक्षक वा प्रतिनिधिले सम्झौता गर्नसक्ने ।
२३
सदस्यको काबु बाहिरको परिस्थितिबाट उत्पन्न हुने कुनै पनि दायित्वमा सदस्य जिम्मेवार नहुने ।
२४
ग्राहकले लिखित मन्जुरी दिई आदेश प्रविष्ट गर्न प्रतिनिधि नियुक्त गर्नसक्ने र दायित्व भने ग्राहककै हुने ।
२६
ग्राहकले विभिन्न विधि मार्फत आदेश दिनेसक्ने र सो को अभिलेखन तथा भण्डारण गर्ने सदस्यको दायित्व हुने ।
२७
मार्जिन कारोबार लिने भएमा सोहि नियम लागु हुने ।
२८
कानुनले धारण गर्न दिएको सिमा भित्र रही खरिद आदेश दिनुपर्ने ।
२९
आवश्यक परेमा धितोपत्र खरिद गर्ने रकमको स्रोत सम्बन्धि जानकारी गराउनपर्ने जिम्मा ग्राहकको हुने ।  
३०
पक्षकहरुले आ-आफ्नो दायित्व पुरा गरि १ महिनाको सुचना दिई सम्झौता रद्द हुने ।
३२
ग्राहकको अद्यावधिक ठेगानामा तोकिएको माध्यमबाट सदस्यले कुनै जनाउ वा सूचना दिएमा रितपूर्वक दिएको मानिने ।
३४
कानुनले तोकेको अवस्थामा बाहेक ग्राहकको गोपनीयता कायम राखिने ।
३६
अनलाईन कारोबार, एसएमएस सुविधा र त्यसको नविकरण गर्न लाग्ने शुल्क तिर्नुपर्ने ।

अनावश्यक शब्दको थुप्रो 

शीर व्यहोरालाई छोटो बनाउन सकिने स्थिति भए पनि त्यसो नगरिएकोले भद्दा बनेको छ । शीर व्यहोरामा आज फलानो बार, मिति.......फलानो कार्यालयमा दर्ता भएको र धितोपत्र वोर्डबाट अनुमति प्राप्त नेपाल स्टक एक्सचेन्जको कारोबार सदस्य फलानो ठाउँ दर्ता कार्यालय रहेकोभन्ने भद्दा वाक्य पढ्दापढ्दै अल्छी लाग्ने खालको छ । यस्तै शीर व्यहोरा ग्राहकको पनि छ । सम्झौताको अन्तिममा पुरा मिति राखिने हुँदा शीर व्यहोरामा अनावश्यक शब्दको थुप्रो लाग्दा वाक्य लामो र भद्दा भएको छ । त्यस्तै सम्झौतारत दोस्रो पक्ष ग्राहकको नाम (संस्थाको हकमा संस्थाको नाम) मात्र लेखेर व्यक्तिको तीन पुस्ते, स्थायी तथा अस्थायी ठेगाना, ग्राहक संकेत (युनिक क्लाइन्ट कोड), फोन नं., संस्थागत ग्राहकको हकमा दर्ता नं., दर्ता कार्यालय रहेको ठेगाना आदि जस्ता व्यहोरा सम्झौताको अन्तिममा क्रम मिलाएर राख्दा छरितो बन्नसक्थ्यो । 

छुटेका विषयवस्तु

सम्झौतामा नभई नहुने विवरण भने छुटेको छ । छुटेका र थप गर्नुपर्ने विषयवस्तु निम्न देखिन्छन् ।

१.     ग्राहकको जन्म मिति, हितग्राही खाता नं., इमेल ठेगाना, मोबाइल फोन नं., नागरिकता नं., जारी       जिल्ला, जारी मिति, बैंक खाता नं., बैंकको नाम र शाखा जस्ता व्यक्तिका प्राथमिक विवरण भने       कहिँ पनि उल्लेख गर्नपर्ने व्यवस्था गरिएको छैन । 

२.    सम्झौताको बुँदा १५ मा धितोपत्रको ७० प्रतिशतसम्म समग्र मूल्यांकन गर्नुको सट्टा नेप्सेले गर्ने कम्पनी वर्गीकरण अनुसार प्रत्येक वर्गका लागि अलग-अलग भार दिनु उपयुक्त हुन्छ ।

३.      बुँदा २२ मा उल्लेखित नाबालकको हकमा प्रतिनिधिभन्ने शब्दले के अर्थ दिने हो प्रष्ट भएन । 
   
४.  बुँदा २३ को सदस्यको काबु बाहिरको परिस्थितिको व्याख्या आवश्यक छ । यस्तै परिस्थिति ग्राहकलाई पनि पर्नसक्ने हुँदा यी दुबैलाइ मान्य हुनेगरी यस्ता विरोधाभाषपूर्ण परिस्थितिको उल्लेखन सम्झौतामा छुट्टै अनुसूची वा मूल सम्झौतामा राख्नु आवश्यक देखिन्छ । 

५.  बुँदा २४ मा वर्णित व्यवस्थाले के भन्न खोजेको प्रष्ट हुन्न । यो भनेको साधारण वा अधिकृत वारेस जस्तै हो वा अन्य केहि हो थप व्याख्या आवश्यक देखिन्छ । प्रतिनिधि नियुक्त गरेको कागजात बुझाउनुपर्ने कि नपर्ने पनि प्रष्ट उल्लेख हुनुपर्छ । 

६.    सदस्यको संकेत अंक कहिँ कतै भेटिन्न ।

अन्तमा, ग्राहकले सकेसम्म एउटै सदस्य दलालबाट कारोबार गर्नु उचित हुन्छ । दिनदिनै दलाल फेरिफेरि कारोबार गरिरहेका र जताततै हितग्राही खाता खोलेकालाई भने समस्या पर्नसक्छ । त्यसकारण अनलाईन सुबिधा लिनु अघि छरिएको शेयरलाई एकै खातामा संग्रह गरि एकै सदस्यबाट मात्र सुबिधा लिनु उचित हुन्छ । एक भन्दा बढी दलालबाट सुबिधा लिंदा कारोबार गर्न फरक-फरक ब्राउजरबाट आदेश प्रविष्ट गर्नुपर्ने हुँदा मोबाइलमा त्यति नै ब्राउजर राख्नुपर्ने हुन्छ । इन्टरनेट व्याण्डविड्थ त्यति राम्रो नभएको हुँदा मोबाइलमा धेरै ब्राउजर खोल्दा मोबाइल सुस्त हुँदा गलत आदेश प्रविष्ट भएमा आफैँलाई हानी हुनसक्छ । अग्रिम जम्मा गरिएको रकमको आधारमा ४ गुणासम्म खरिद आदेश प्रविष्ट गर्न सकिने हुँदा अहिले सजिलै आदेश दिए जस्तो अनलाईनमा हुनेछैन । शेयरबजारको पर्याप्त अनुभव नभएकाले अहिले अनलाईन सुबिधा नलिनु नै उचित हुन्छ ।


२०७५ पौष २ अभियान दैनिक

http://www.abhiyan.com.np/?p=301299

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...