Thursday, August 22, 2024

अग्राधिकार शेयरको अवधारणा

 साधारण शेयरभन्दा के फरक हुन्छ ?

कर्पोरेट क्षेत्रमा शेयर भन्ने शब्दले पुँजीको अंश भन्ने जनाउँछ l शेयर शब्दको अगाडि ‘अग्राधिकार’ विशेषण लागेको शेयर पनि हुन्छ l अग्राधिकार विशेषणले यो शेयरलाई अरु शेयरभन्दा विशिष्ट र बेग्लै बनाईदिन्छ l नेपालमा यस्तो शेयर आमरुपमा प्रचलित छैन l त्यसैले अग्राधिकार शेयर प्रचलनमै रहेको शेयर धारण गरेका कुनै व्यक्ति वा समूह हो भन्ने आंम बुझाइ बनेको देखिन्छ l आम बुझाईको शेयरलाई ‘साधारण शेयर’ भनिन्छ l कतिले यसलाई संस्थापकले धारण गरेको शेयर हो र अरुले भन्दा बढि अधिकार पाउँछन/पाएको हुन्छ भन्ने बुझाइ पनि देखिन्छ l यो आम बुझाईअनुसारको शेयर हैन l यसको छुट्टै किसिमको अस्तित्व हुन्छ l नामअनुसारको यसले अग्राधिकार पनि पाएको हुन्छ l अग्राधिकार शेयर भए पनि साधारण शेयरले पाएको अधिकार यसले पाएको हुन्न l अग्राधिकार शेयरले पाएको अधिकार साधारण शेयरले पाएको हुन्न l अग्राधिकार शेयर साधारण शेयरमा परिवर्तन हुनसक्छ l साधारण शेयरमा परिवर्तन भएमा यसले अग्राधिकार शेयरको अस्तित्व गुमाउँछ र अग्राधिकार पनि प्राप्त गर्दैन l साधारण शेयर बनेपछि यसले साधारण शेयरले पाएका सबै अधिकार प्राप्त गर्छ l अग्राधिकार शेयर पनि स्टक एक्सचेन्जमा कारोबर हुन्छ l दुवै शेयर पुँजी प्राप्त गर्ने वित्तीय उपकरण हुन l

अग्राधिकारको अग्राधिकार

अग्राधिकार शेयरले के कस्ता अग्राधिकार पाएका हुन्छन्, यसका के कस्ता विशेषता हुन्छन र कति प्रकारका हुन्छन् यस विषयमा यस अनुच्छेदमा सविस्तार चर्चा गरिन्छ l अग्राधिकार शेयर भनिए पनि साधारण शेयरले भन्दा व्यापक अधिकार पाएको हुन्न l व्यापक अधिकार साधारण शेयरकै हुन्छ किनभने साधारण शेयर धारण गरेका शेयरधनीले मतदानको अधिकार र सञ्चालकमा उम्मेदवार हुने अधिकार पाएका हुन्छन् l सञ्चालक बन्न पाउनु कम्पनी सञ्चालन गर्ने अख्तियारी हो l अग्राधिकार शेयरधनीले मतदानको अधिकार र सञ्चालकमा उम्मेदवार हुने अधिकार पाएको हुन्न l यस्ता शेयरधनीले साधारण शेयरधनीले भन्दा पहिला लाभांश पाउँछन l त्यस्तै, कम्पनी खारेजी हुँदा साधारण शेयरभन्दा पहिला फिर्ता पाउने क्रममा पर्छ l साधारण शेयरले भन्दा पहिल्यै लाभांश पाउनेबाहेक खारेज हुँदा पहिले फिर्ता पाउने अधिकार क्रम मात्र हो l खारेज हुँदा अग्राधिकार शेयर फिर्तै हुनसक्छ भन्ने आधार हुन्न l अग्राधिकार शेयरले यी दुइवटा अधिकार साधारण शेयरले भन्दा पहिले पाउने हुँदा यसलाई अग्राधिकार शेयर भनिएको हो l अग्राधिकार र साधारण शेयरबीच कस्ता मूलभूत भिन्नता हुन्छन भन्ने कुरा तालिकामा देखाईएको छ l

 

अग्राधिकार र साधारण शेयरबीच मूलभूत भिन्नता

आधार

अग्राधिकार शेयर

साधारण शेयर

प्रतिफल वितरण

पहिलो प्राथमिकता हुन्छ l

दोस्रो प्राथमिकता हुन्छ l

प्रतिफल दर

पहिले नै निर्धारित हुन्छ l

कुनै सीमा हुन्न l

जारी

इच्छाधीनरुपमा जारी हुन्छ l

अनिवार्यरुपमा जारी हुन्छ l

बोनस/हकप्रद

तोकिएको नगद लाभांशबाहेक केही प्राप्त गर्दैनन् l

बोनस/हकप्रद प्राप्त गर्छन् l

मताधिकार

हुदैंन l

हुन्छ l

फिर्ता

सामान्यतया निश्चित अवधि पुगेपछि फिर्ता हुन्छ l फिर्ता नहुने पनि हुन्छ l

कहिल्यै फिर्ता हुँदैन l

रुपान्तरण

विवरणपत्रमा उल्लेखित शर्तको अधिनमा रहेर एकैपटक वा खण्ड-खण्ड गरेर साधारण शेयरमा रुपान्तरण हुन्छ l

साधारण शेयरको हैसियत कहिले परिवर्तन हुन्न l जे छ त्यही रहन्छ l

जोखिम

न्यून हुन्छ l

उच्च हुन्छ l

स्वामित्व

ऋणदाता सरहको हैसियत हुन्छ l

कम्पनीमा स्वामित्व हुन्छ l

खारेजीको परिणाम

साधारण शेयरभन्दा पहिले पालो आउँछ l

अन्तिममा पालो आउँछ l

प्रकार

परिवर्त्य, अपरिवर्त्य,  सञ्चित, असञ्चित, फिर्ता हुने र फिर्ता नहुने हुन्छ l

यो एकै प्रकारका हुन्छ l संस्थापक, सर्वसाधारण, स्थानीय कर्मचारी शेयर भनिए पनि सबै साधारण शेयर हुन l

पुँजीगत लाभ

सूचीकरण भए पनि अधिक लाभ नहुन सक्छ l

पुँजीगत लाभको अधिक सम्भावना हुन्छ l 

 अग्राधिकारको विशेषता र प्रकार

यसको मुख्य विशेषता लाभांशमा पहिलो अधिकार हुन्छ l त्यस्तै, कम्पनी खारेज हुने अवस्थामा साधारण शेयरभन्दा पहिले फिर्ताको क्रम आउँछ l यसबाहेक यो साधारण शेयरमा परिवर्तन हुनसक्छ l हरेक वर्ष सुनिश्चित आम्दानी प्राप्त हुन्छ l कुनै वर्ष लाभांश दिन नसके अर्को वर्ष वा जुन वर्ष दिन्छ सोहीसमयसम्म नपाएको वर्षको लाभांश सञ्चित भएर बस्छ l निश्चित अवधिपश्चात धारकले फिर्ता पाउँछ l यसका विशेषताभित्र यसको प्रकार लुकेको हुन्छ l अग्राधिकार शेयर मूलत: ३ प्रकारको हुन्छ l

 

१.    परिवर्त्य र अपरिवर्त्य : अग्राधिकार शेयरको एउटा विशेषता वा प्रकार परिवर्त्य र अपरिवर्त्य हो l परिवर्त्य भन्नाले निश्चित समयपछि उक्त शेयर साधारण शेयरमा परिवर्तन हुन्छ l साधारण शेयरमा परिवर्तन भएपछि अग्राधिकार शेयरको अस्तित्व समाप्त हुन्छ र पाइरहेको अग्राधिकार समाप्त हुन्छ l साधारण शेयरमा परिवर्तन भएपछि सञ्चालकमा उम्मेदवार हुन् र सञ्चालकको निर्वाचनमा मतदान गर्न पाउँछन् l परिवर्तन कति समयमा हुने भन्ने कुरा यस्तो शेयर जारी गर्दा विवरणपत्रमा उल्लेख गरिएको हुन्छ l यस्ता शेयर एकैपटक परिवर्तन नगरी खण्ड-खण्ड गरेर पनि परिवर्तन गर्न सकिन्छ l उदाहरणको लागि नेपालमा सम्भवत पहिलोपटक एभरेष्ट बैंक लिमिटेडले यस्तो शेयर जारी गरेको थियो l हाल उक्त शेयर साधारण शेयरमा परिवर्तन भईसकेको छ l स्मरणको लागि यो शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा ईबीएलसीपी सङ्केतबाट कारोबार हुन्थ्यो l परिवर्तन हुनु अघिसम्म यसले वार्षिक सात प्रतिशत लाभांश प्राप्त गर्थ्यो l

 

अपरिवर्त्य शेयर ठ्याक्कै परिवर्त्य शेयरको विपरित हुन्छ अर्थात् परिवर्तन भएर साधारण शेयर बन्दैन l अवधि पुगेपछि धारकलाई फिर्ता गरिन्छ l यस्तो शेयर खण्ड-खण्ड गरेर फिर्ता हुन्न, एकैपटक फिर्ता हुन्छ l यस्ता शेयरमा पनि वार्षिक निश्चित प्रतिशत लाभांश प्राप्त हुन्छ l

 

२.   फिर्ता हुने र फिर्ता नहुने : अग्राधिकार शेयरको एउटा विशेषता वा प्रकार फिर्ता हुने र फिर्ता नहुने हो l फिर्ता हुने भन्नाले निश्चित समयपछि उक्त शेयरबापतको रकम धारकलाई फिर्ता गरिन्छ l यसको स्वभाव अपरिवर्त्य शेयरसँग मिल्दो हुन्छ l फिर्ता कहिले गर्ने वा हुने र लाभांश कति प्राप्त हुने विषय विवरणपत्रमा उल्लेख हुन्छ l

 

फिर्ता नहुने अग्राधिकार शेयर फिर्ता हुने अग्राधिकार शेयरको ठ्याक्कै विपरित हो l यस्तो शेयर जारी भएपछि कहिल्यै फिर्ता हुँदैन l कम्पनी खारेज हुने कुनै अवस्था आएमा साधारण शेयरभन्दा पहिले फिर्ताको क्रम आउँछ l यसले पनि निश्चित गरिएको लाभांश पाउँछ l फिर्ता नहुने अग्राधिकार शेयरको उदाहरणको रुपमा कृषि विकास बैंक लिमिटेडसँग रहेको ५ अर्ब ४३ करोड रुपैयाँभन्दा बढिको रकमलाई लिन सकिन्छ l यसले वार्षिक छ प्रतिशत लाभांश प्राप्त गर्छ l लाभांश छ प्रतिशत मात्र हुन्छ भन्ने हुन्न l यो कुरा यस्तो शेयर जारी गर्दा विवरणपत्रमा उल्लेख गरिएको हुन्छ l

 

३.      सञ्चित र असञ्चित  : अग्राधिकार शेयरको एउटा प्रकार सञ्चित र असञ्चित हो l सञ्चित भन्नाले कुनै वर्ष कम्पनी घाटामा गएर नाफा आर्जन गर्न सकेन भने त्यस वर्ष यस्ता अग्राधिकार शेयरले पाउने भनेर निश्चित गरिएको लाभांश अर्को वर्ष वा जुन वर्ष नाफा हुन्छ त्यससमयसम्म सञ्चित भएर बस्छ l उदाहरणको लागि कुनै कम्पनीले जारी गरेको यस्तो शेयरमा आर्थिक वर्ष २०८०/०८१ मा नाफा आर्जन गर्न नसकी लाभांश दिन सकेन भने आर्थिक वर्ष २०८१/०८२ मा नाफा कमाएमा दुइ आर्थिक वर्षको लाभांश एकैपटक प्राप्त हुन्छ l यसरी लाभांश सञ्चय भएर बस्ने भएकोले यसलाई सञ्चित अग्राधिकार शेयर भनिन्छ l यस्तो शेयर निश्चित समयपछि परिवर्तन भएर साधारण शेयर बन्नसक्छ वा धारकलाई नै फिर्ता हुन्छ वा कहिले फिर्ता नहुन पनि सक्छ l

 

असञ्चित  अग्राधिकार शेयर  सञ्चित अग्राधिकार शेयरको ठिक विपरित हो l यसमा कुनै वर्ष लाभांश दिन नसकेमा  सञ्चित भएर बस्दैन l यसको उदाहरणको रुपमा कृषि विकास बैंक लिमिटेडको अग्राधिकार शेयरलाई लिनसकिन्छ l आर्थिक वर्ष २०७९/०८० मा अग्राधिकार शेयरधनीलाई लाभांश वितरण गरेन l

 नेपालमा अग्राधिकार शेयर

नेपालमा हाल अग्राधिकार शेयर जारी भएको छैन भन्दा पनि हुन्छ l एभरेष्ट बैंक लिमिटेडले जारी गरेको अग्राधिकार शेयर परिवर्तन भईसकेको छ l हालै नबिल बैंक लिमिटेड, एनआईसी एसिया बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडले अग्राधिकार शेयर जारी गर्ने घोषणा गरेका छन् l यी उल्लेखित कम्पनी (बैंक) ले जारी गर्न लागेको असञ्चित फिर्ता नहुने अग्राधिकार शेयर हो l भारतमा सन् २०१३ मा जारी कम्पनी कानुनले फिर्ता नहुने अग्राधिकार शेयर जारी रोक लगाएको छ l तर, पूर्वाधार विकास आयोजना निर्माण गर्न भने शर्त बन्देजको आधारमा यस्ता शेयर जारी गर्न पाइन्छ l नेपालको कम्पनी ऐनमा अग्राधिकार शेयर रकम निश्चित अवधि पछि फिर्ता गर्न सकिने (रिडिमेवल) वा फिर्ता गर्न नसकिने (इरिडिमेवल) के हुने हो सो कुरा खुलाउनुपर्ने भन्ने व्यवस्थाले जारीकर्ता कम्पनीलाई नै यसको अधिकार दिएको देखिन्छ l

त्यस्तै, नेपालको कम्पनी ऐनमा अग्राधिकार शेयर कति वर्ष अवधिको लागि जारी गर्न सकिने भन्ने विषयमा पनि कुनै व्यवस्था छैन l यस हिसाबले जति समयको लागि पनि अग्राधिकार शेयर जारी गर्न पाइन्छ भन्ने बुझिन्छ l भारतमा २० वर्षभन्दा बढि अवधिको लागि यस्ता शेयर जारी गर्न पाइन्न l नेपालमा अग्राधिकार शेयरको विषयमा कानुनी व्यवस्था भए पनि पर्याप्त नभए जस्तो देखिन्छ l असञ्चित अग्राधिकार शेयरको सम्बन्धमा खूद नाफा कति हुनुपर्ने भन्ने प्रष्ट व्यवस्था नहुँदा यस्ता शेयरधनी मारमा पर्ने देखिन्छ l उदाहरणको लागि कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/०८० मा पर्याप्त रकम सञ्चित जगेडामा हुँदाहुँदै पनि अग्राधिकार शेयरधनीलाई लाभांश बाँडेन l

विवरणपत्र स्वीकृत गर्ने निकायले असञ्चित अग्राधिकार शेयर जारी गर्ने कम्पनीलाई अग्राधिकार शेयरबापत दिनुपर्ने बराबरको रकम जगेडा कोषमा भएसम्म अनिवार्यरुपमा यस्ता शेयरधनीलाई लाभांश बाँड्नुपर्ने गरि स्वीकृति दिनुपर्ने देखिन्छ l नत्र असञ्चित अग्राधिकार शेयरधनी र साधारण शेयरधनीबीच कुनै भिन्नता रहन्न l साधारण शेयरधनीले पाउँदा अग्राधिकार शेयरधनीले पनि पाउने र साधारण शेयरधनीले नपाउँदा अग्राधिकार शेयरधनीले नपाउने हो भने यसलाई ‘अग्राधिकार’ भनिरहनुको औचित्य हुन्न l कम्पनी खूद घाटामै गएको अवस्थामा बाहेक अग्राधिकार शेयरधनीलाई लाभांश दिन पुग्ने रकम भएसम्म अग्राधिकार शेयरधनीलाई लाभांशबाट बञ्चित गर्नहुन्न l

आर्थिक अभियान 

२०८१/५/५

https://www.abhiyandaily.com/article/agraadhikaar-sheyrko-avdhaarnnaa-saadhaarnn-sheyrbhndaa-ke-phrk-hunch

 

आफ्नो शेयर आफै किन्ने बाइब्याकका विधि

 कम्पनीले टेन्डर र खुलाबजारबाट बाइब्याक गर्न सक्छ

कम्पनीले आफ्नो शेयर आफैँ किन्न अर्थात बाइब्याक गर्नसक्छन l कम्पनी ऐन, २०६३ मा यससम्बन्धी कानुनी व्यवस्था छ l सूचीकृत र असूचीकृत सबै प्रकारका कम्पनीले आफ्नो शेयर आफैँ किन्न सक्छन तर, नेपालको प्रचलित कम्पनी कानुनमा असूचीकृत कम्पनीले आफ्नो शेयर आफैँ किन्नसक्ने व्यवस्था छैन l भारतमा असूचीकृत कम्पनीले पनि आफ्नो शेयर आफै किन्नसक्छन l कम्पनीले वर्षभरिमा अनेकौं घोषणा गर्छन l यसलाई कम्पनीको भाषामा ‘कर्पोरेट एक्सन’ भनिन्छ l आफ्नो शेयर आफैँ किन्ने बाइब्याक पनि कर्पोरेट एक्सन हो l कम्पनी सञ्चालक समितिले यस्ता घोषणा गर्छन र आवश्यकताअनुसार शेयरधनीको सभा (साधारण वा विशेष) बाट अनुमोदन वा पारित भएपछि लागु हुन्छ l यसका उदाहरणको रुपमा लाभांश, शेयर विभाजन वा एकीकरण, गाभ्ने/गाभिने, प्राप्ति, हकप्रद आदि हुन् l यस्ता घोषणामध्ये केहीले कम्पनीका शेयरधनीलाई प्रत्यक्षरुपमा र केहीले कुनै प्रभाव पार्दैन l शेयरधनीलाई प्रत्यक्ष प्रभाव पार्ने कर्पोरेट एक्सनकारुपमा लाभांश घोषणालगायत पर्छन् l अप्रत्यक्ष प्रभाव पार्ने कर्पोरेट एक्सनमा कम्पनीको नाम परिवर्तन, रजिष्टर्ड कार्यालय परिवर्तन, प्रतीक चिन्ह (लोगो) परिवर्तन पर्छन् l बाइब्याकका सम्बन्धमा यसै दैनिकमा ‘आफ्नो शेयर आफैले किन्ने बाइब्याक: नेपालमा कहिले आउला यस्तो व्यवस्था ?’ (मिति २०८१/३/२०) र बाईब्याकसम्बन्धी कानूनी व्यवस्था: कार्यान्वयनमा किन अलमल ? (मिति २०८१/४/७) गरि दुईवटा लेख प्रकाशित भएका छन् l  यस आलेखमा कुन कुन विधि अपनाएर कसरी बाइब्याक गरिन्छ भन्ने विषयमा चर्चा गरिन्छ l

बाइब्याकका विधि

बाइब्याकको तालुकी कानुन कम्पनी ऐन, २०६३ को दफा ६१(४) मा के कस्ता विधि अपनाएर बाइब्याक गर्न सकिन्छ भनेर उल्लेख गरिएको छ l जसमा (१) धितोपत्र बजार वा खुलाबजारबाट खरिद गरेर, (२) कम्पनीका कर्मचारीलाई छुट्याइएको शेयर सम्बन्धित कर्मचारीबाट खरिद गरेर, (३) तत्काल कायम रहेका शेयरधनीबाट समानुपातिकरुपमा खरिद गरेर बाइब्याक गर्न सकिने तीनवटा विधि उल्लेख गरिएको छ l ऐनमा व्यवस्था नभए पनि अडलट (एकदेखि नौ कित्तासम्म) शेयर बाइब्याक गर्नसकिन्छ l बोनस शेयरका कारण खण्डित अर्थात एक कित्ताभन्दा कम दशमलवमा रहेका कित्ता पनि अडलटकै परिभाषाभित्र रहेर खरिद गर्न सकिन्छ l यसबाहेक नेपाल कानुनमा उल्लेख नभएको तर, सर्वाधिक उपयोगमा रहेको अर्को विधि ‘टेण्डर वा बोलपत्र’ आव्हान गरेर पनि बाइब्याक गर्नसकिन्छ l नेपाल कानुनमा बाइब्याकको व्यवस्था भए पनि कार्यान्वयनमा आउन सकेको छैन l भारतमा सूचीकृत कम्पनीले यसलाई उपयोग गरिरहेका छन् l भारतमा खुलाबजार र टेण्डर विधि सर्वाधिक प्रचलनमा रहेका विधि हुन् l कर्पोरेट एक्सनको प्रकृतिअनुसार यसलाई शेयरधनीले अनिवार्य र इच्छाधीन गरि दुइ प्रकारले ग्रहण गर्नसक्छन् l बाइब्याकमा अपनाइने विधिअनुसार यसमा अनिवार्य र इच्छाधीन दुबैको मिश्रित गुण हुन्छ l माथि उल्लेखित पाँचवटा विधिमध्ये दोस्रो, तेस्रो र अडलट अन्तर्गत गरिने बाइब्याकमा यस्ता शेयर धारण गरेका सबै शेयरधनी अनिवार्यरुपमा सहभागी हुनुपर्छ l धितोपत्र बजार वा खुलाबजार र टेण्डर वा बोलपत्र विधिमा शेयरधनी इच्छाधीनरुपमा सहभागी हुन वा नहुन सक्छन l यसमा सहभागी नहुँदा पनि तिनले सहभागी हुनेले भन्दा बढि लाभ प्राप्त गर्नसक्छन l बाइब्याकका विभिन्न विधिका सम्बन्धमा सविस्तार उल्लेख गरिन्छ l

कर्मचारी, अडलट समानुपातिक  विधि

आफ्नो शेयर बाइब्याक गर्दा कम्पनीले अपनाउने विभिन्न विधिमध्ये कर्मचारी र अडलट पनि हुन् l यहाँ कमचारी भन्नाले कम्पनीको कर्मचारीलाई छुट्टयाईएको शेयर कर्मचारीबाट खरिद गर्नु हो l यसमा कर्मचारी मात्र सहभागी हुनसक्छन् l यस्तो प्रस्तावमा कर्मचारी अनिवार्यरुपमा सहभागी हुनुपर्छ l सहभागी हुन्न भन्न पाइन्न l कम्पनीले अति सानो सङ्ख्यामा छरिएर रहेका शेयर स्वामित्व (अनइकोनोमिक युनिट) हटाउन पनि बाइब्याक गर्ने गर्छन l १० कित्ताभन्दा कम शेयरलाई अडलट भनिन्छ l बोनस शेयरका कारण वा विविध कारणवश अडलट कित्ता अस्तित्वमा देखापर्छन l यस्ता स-साना कित्ता बिक्री गर्न स्टक एक्सचेञ्जले सुबिधा उपलब्ध गराए पनि लागतका हिसाबले महँगो पर्ने हुँदा यस्ता शेयर सहजरुपमा कारोबार हुन्न l कम्पनीलाई पनि यस्ता स-साना कित्ताको अभिलेख राखिरहन झञ्झट हुने कारण यस्तो किसिमको शेयर बाइब्याक गर्न सकिन्छ l नेपालमा बोनस शेयरका कारण यस्ता कित्ता मात्र हैन, एक कित्ताभन्दा कम दशमलवमा पनि अत्याधिक शेयर रहेका छन् l नेपाल जस्तो वर्षैपिच्छे बोनस शेयर जारी गर्ने शेयरबजारमा दशमलव कित्ता एउटा जटिल समस्या बनेको छ l यस्ता कित्ता बाइब्याक गर्ने कार्यक्रम आएमा यसमा पनि त्यस्ता शेयरधारक अनिवार्यरुपमा सहभागी हुनुपर्छ l

कुनै कम्पनीले सबै शेयरधनीबाट शेयर फिर्ता लिने गरि बाइब्याक गर्नसक्छन l मानौं कुनै कम्पनीको पुँजी एक अर्ब रुपैयाँ छ र कम्पनीले १० प्रतिशतले हुन आउने १० लाख कित्ता शेयर समानुपातिकरुपमा बाइब्याक गर्ने घोषणा गरेमा यसमा कुनै पनि शेयरधनीले सहभागी हुन्न भन्न पाउँदैनन l यसमा अनिवार्यरुपमा सहभागी हुनुपर्छ l यसबाट पुँजी घट्छ र प्रतिशेयर आम्दानी बढ्दा लाभांश बढ्न सक्छ l यस्तो लाभ सबै शेयरधनीले समानरुपमा प्राप्त गर्नसक्छन l बाइब्याक गरेपछि कमि हुने शेयरसङ्ख्याले भविष्यमा मूल्य वृद्धि हुनसक्छ l

खुला बजार विधि

बाइब्याक गर्दा विभिन्न तरीका अपनाउन सकिन्छ l त्यसमध्ये सिधै बजारबाट खरिद गर्ने खुलाबजार एउटा विधि हो l यसमा कम्पनी स्वयम कारोबारी जस्तै रुपमा प्रकट हुन्छन् र अन्य कारोबारीसरह सिधै स्टक एक्सचेञ्जबाट खरिद गर्छन l यस्तो खरिद विधिमा कम्पनीले बजारमा चलेको भाउभन्दा बढि मूल्यमा शेयर खरिद गर्न निश्चित (फिक्स्ड) मूल्य निर्धारण गरेको हुन्छ l यस्तो मूल्य बजारमा चलेको मूल्यभन्दा बढि अर्थात् प्रिमियमसहित तोकेको हुन्छ l उदाहरणको लागि बजार भाउ तीनसय रुपैयाँ चलेको छ भने कम्पनीले एकसय रुपैयाँ प्रिमियम थपेर चारसय रुपैयाँमा शेयर खरिद गर्ने सूचना जारी गर्छ र बजारबाट शेयर खरिद गर्न शुरु गर्छ l कम्पनीले अन्य कारोबारीसरह दलाल कम्पनीबाट शेयर खरिद गर्छ l कम्पनी स्वयम् कारोबारीसरह बजारमा खरिद गर्न आउने हुँदा अन्य कारोबारीले जे जस्तो रणनीति अपनाउँछन सोही रणनीति कम्पनीले पनि अपनाउन सक्छन l यसको मतलब सकेसम्म कम मूल्यमा खरिद गर्ने प्रयास गर्छन l यसरी बाइब्याक गर्दा एकै दिन वा हप्ता वा एक महिनामा गर्ने भन्ने हुन्न l यसको लागि छ महिना समय तोकिएको हुन्छ l कम्पनीले तिर्न चाहेको मूल्य नाघेमा कम्पनीले शेयर खरिद गर्न बन्द गर्छ र शेयर मूल्य घट्ने समयको प्रतिक्षा गर्छ l खुला बजार वा बजारबाट हुने बाइब्याकमा यसरी खरिद गर्दै जाँदा जुन दिन तोकिएका कित्ता वा शेयर कम्पनीले प्राप्त गर्छ सो दिन बाइब्याक गर्ने कार्य बन्द गरिन्छ l खुला बजारबाट शेयर खरिद गर्न कम्पनीले बुक बिल्डिंग विधि पनि अपनाउन सक्छन l बुक बिल्डिंगबाट बाइब्याक गर्दा कम्तिमा १५ र बढीमा ३० दिन अवधि तोकिएको हुन्छ l

खुलाबजार विधिमा सबै शेयरधनी सहभागी हुनुपर्ने बाध्यता हुन्न l कम्पनीलाई शेयर बेच्न र नबेच्ने दुबै शेयरधनीले कुनै न कुनै रुपमा लाभ प्राप्त गर्छन l बेच्न चाहनेले पनि प्रिमियम मूल्य पाउने हुँदा यिनले पनि छोटो समयममा लाभ प्राप्त गर्छन l धेरै शेयर धारण गरेका शेयरधनीको लागि आफ्नो शेयर बिक्री गर्ने उत्तम अवसर प्राप्त हुने भएकोले यस्ता धारक शेयर बिक्री गरेर बाहिरिन सक्छन l जसले बिक्री गर्न चाहदैनन् तिनको लागि पनि अवसर हुन्छ l किनभने कम्पनीले शेयर फिर्ता वा बाइब्याक गरेपछि कम्पनीको पुँजी घट्छ र प्रतिशेयर आम्दानी बढ्छ l प्रतिशेयर आम्दानी बढ्दा प्रतिशेयर लाभांश पनि बढ्छ l आफूले धारण गरेको कित्ताले बढि लाभांश पाउने हुँदा कम्पनीले बाइब्याक प्रस्ताव ल्याउँदा पनि सहभागिता जनाउँदैनन l शेयर बाइब्याक गर्ने प्रक्रिया सम्पन्न भएपछि मूल्य समायोजन हुन्छ l यो पनि शेयर नबेच्ने शेयरधनीको लागि अर्को लाभ हुन्छ l

बोलपत्र वा टेण्डर विधि

बाइब्याक गर्ने अर्को विधि टेण्डर वा बोलपत्र हो l यस विधिमा पनि शेयरधनी इच्छाधीनरुपमा सहभागी हुनसक्छन् l यो विधि बजारबाट खरिद गरिने विधिभन्दा के कुरामा फरक छ भने यसमा कम्पनीले आफूले किन्ने अधिकतम मूल्य तोकेको हुन्छ l यही अधिकतम मूल्यको सीमामा रहेर शेयरधनीले आफूले बेच्न चाहेको मूल्य र कित्ता सङ्ख्या खुलाई कम्पनीलाई बोलपत्र दिनुपर्छ l शेयरधनीले आफूसंग भएको शेयरभन्दा बढि कित्ता पनि प्रस्ताव गर्नसक्छन् l यसरी नभएको शेयरसमेतको बोलपत्र दिँदा यसलाई स्वीकार गर्ने/नगर्ने भन्ने कुरोको टुङ्गो कम्पनीले तोकेको भन्दा कम शेयर प्रस्ताव आएमा मात्र स्वीकार हुन्छ नत्र हुँदैन l टेण्डर प्रस्तावबाट गरिने बाइब्याकको अवधि १० कार्य दिनको हुन्छ l यसमा सहभागी हुनेले तत्काल आफ्नो शेयर बजार मूल्यभन्दा बढि मूल्यमा बिक्री गर्ने सुबिधा प्राप्त गरेर लाभ प्राप्त गर्छन l सहभागी नहुने शेयरधनीले पनि खुलाबजार विधिमा जस्तै लाभ पाउँछन l  खुलाबजार विधि र बोलपत्र विधिमा के कस्ता फरक छन तिनको फरक तालिकामा देखाइएको छ l

खुलाबजार र बोलपत्र विधिका मुलभूत फरक

आधार

टेण्डर

खुलाबजार

सहभागी

बुक क्लोज हुँदासम्म कायम सबै शेयरधनी सहभागी हुन वा नहुन सक्छन l

यसमा बुक क्लोज भन्ने कुनै प्रावधान हुन्न l कम्पनीले बाइब्याक शुरु गर्ने सूचना जारी गरेपछि जो कोही शेयरधनी सहभागी हुन् वा नहुन सक्छन l

अनुपात

यसमा शेयरधनीले आफूसंग भएको सबै शेयर बिक्रीको प्रस्ताव दिनसक्छन् l

यसमा अनुपात भन्ने हुन्न l एक शेयरधनीले बाइब्याकको अधिकतम सीमासम्मको आफूसंग भएको सम्पूर्ण शेयर बिक्री गर्नसक्छ l

स्वीकार

बोलपत्रदाता शेयरधनीले बोलपत्रमा दिएको सबै शेयर स्वीकार नगर्न सक्छ l मागभन्दा बढि आएमा समानुपातिकरुपमा स्वीकार गर्छ l

कम्पनीले आफूले किन्न चाहेको मात्रासम्म जसको जति पनि कित्ता स्वीकार गर्छ l

समयावधि

बोलपत्र दिने अवधि १० कार्य दिनको हुन्छ l

अधिकतम ६ महिनाको हुन्छ l बुक बिल्डिंग विधिबाट खरिद गर्ने हो भने कम्तिमा १५ दिन र बढीमा ३० को समय दिइन्छ l  

प्रस्ताव मूल्य

यसमा अधिकतम मूल्य तोकिएको हुन्छ l सोही सीमाभित्र रही बोलपत्र पेश गर्नुपर्छ l

यसमा अधिकतम मूल्य तोकिए पनि कम्पनीले त्योभन्दा कम मूल्यमा किन्ने प्रयास गर्छ l

लेटर अफ अफर (विवरणपत्र)

यसमा विवरणपत्र जारी गर्नुपर्छ l

यसमा विवरणपत्र जारी गर्नुपर्दैन l सार्वजनिक सूचना पर्याप्त हुन्छ l

मध्यस्थ 

यसमा मध्यस्थ वा दलालको कुनै भूमिका हुन्न l

यसमा दलालमार्फत किनिने हुँदा दलालको भूमिका हुन्छ l

 नेपालमा कुन उपयुक्त

भारतीय शेयरबजारमा बाइब्याकको लागि खुलाबजार र बोलपत्र विधि सर्वाधिक प्रचलनमा छ l नेपालमा बाइब्याकको अभ्यास भएको छैन र तत्काल अभ्यास हुने सम्भावना पनि देखिन्न l यदि नेपालमा कुनै कम्पनीले यस्तो अभ्यास शुरुआत गरेमा कुन विधि उपयुक्त होला भन्ने प्रश्न आउन सक्छ l बैकिङ्ग र बिमा कम्पनीको लागि समानुपातिक विधिबाट मात्र यस्तो अभ्यास गर्न सकिन्छ l यसो हुनुको कारण बैकिङ्ग र बिमामा संस्थापक र सर्वसाधारणको लागि नियामकले अनुपात तोक्नु हो l बैंक र बिमा कम्पनीले अडलट शेयर भने बाइब्याक गर्नसक्छन l बैंक र बिमा बाहेकका कम्पनीले जुनसुकै विधि निर्वाध उपयोग गर्नसक्छन l नेपालमा बाइब्याक शुरुआत होला भन्ने कल्पना मात्र हो l  किनभने नेपालमा पुँजी घटाउने कुरो आकाशको फल जत्तिकै हो l बरु पुँजी बढाउने कुरोमा भने वर्षैपिच्छे पनि बढाउन तयार हुन्छन l 

आर्थिक अभियान दैनिक 

२३ श्रावण २०८१

https://www.abhiyandaily.com/article/aaphno-sheyr-aaphai-kinne-baaibyaakkaa-vidhi-kmpniile-ttenddr-r-khulaabjaarbaatt-baaibyaak-grn-skch



कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...