Monday, August 12, 2019

गाभिँदा र विलय हुँदा शेयर कारोबार


बैंक गाभिने (मर्ज) र प्राप्ति (एक्वीजिशन) हुने लहर चलेको छ । दुई वाणिज्य बैंक (ग्लोबल र जनता) ले गाभिने र अर्को एउटा वाणिज्य बैंक (प्राइम)ले राष्ट्रियस्तरको विकास बैंक (कैलाश) लाई प्राप्ति गर्ने भएको छ । यसअघि नै एउटा अर्को वाणिज्य बैंक (एनएमबी) र राष्ट्रिय स्तरको विकास बैंक (ओम) गाभिने क्रममा छन् । बैंक गाभिने र प्राप्तिमा जाने क्रमसँगै शेयर कारोबार रोक्का हुने क्रम पनि बढ्दो छ । गाभिने सम्झौतापछि एक्सचेन्जमा कारोबार हुन लामै समय पनि लाग्ने गरेको इतिहास छ । बैंक गाभ्नुपर्ने आवश्यकता परेको हो वा होइन, त्यसको चर्चा आम रूपमा धेरै भइसकेको छ । अहिले रहर, आवश्यकता, बाध्यता वा दबाब जुनसुकै तत्वले गाभिने प्रक्रिया शुरू भएपछि शेयर कारोबार रोकिनु हुँदैन भन्ने आवाज एक्सचेन्जका अधिकारी, दलाल संघका पदाधिकारी र कारोबारीले उठाएका छन् । कारोबार रोकिनुपर्छ वा पर्दैन भन्ने सन्दर्भमा केही चर्चा र सहज गर्न सकिने केही कार्य टिपोट गरिएको छ ।

त्रिपक्षीय आवाजको अन्तर्य

मेगा र पश्चिमाञ्चल बैंक गाभिने प्रक्रिया अनावश्यक लम्बिएको थियो । त्यसपछिको टुरिजम बैंकसँगको गाभिने पनि यस्तै पट्यारलाग्दो भएको थियो । त्यति बेलादेखि नै पट्यारलाग्दो लम्बेतान गाभिने समय छोटिनुपर्छ भन्ने आवाज उठेको थियो । गाभिने भनेको सम्पत्ति र दायित्वको मूल्यांकन अर्थात् ड्यु डिलिजेन्स अडिट’ (डीडीए) गरी वासलातको अंक जोड्ने हो । तर, यति जोड्न पनि १ वर्षभन्दा बढी समय लागेको देखिएको छ । गाभिँदा दुवैको र प्राप्तिमा जानेको मात्र कारोबार रोकिने गरेको छ । ठूलो पूँजी भएको ग्लोबलको कारोबार रोकिएपछि यसको सीधा असर बजारमा देखिएको छ । ग्लोबलको मात्र कुल पूँजीकरणमा करीब २ प्रतिशत योगदान छ । त्यस्तै, जनताको १ प्रतिशत हाराहारी सहित ३ प्रतिशत हुन आउँछ । यसअघि नै एनएमबी र ओमको कारोबार रोक्का हुँदा २ प्रतिशतभन्दा बढी पूँजीकरणमा असर परिसकेको छ । कवि भूपिको हल्लैहल्लाको देशमाएउटाले जे गर्‍यो त्यसको आवश्यकता उपादेयता नबुझी पछि लागेर मर्जमा जाँदा १/२ प्रतिशत गर्दागर्दै २०सौं प्रतिशत बराबरको कारोबार रोकिन जाँदा नराम्रो असर पर्न सक्छ । कारोबारमा महत्वपूर्ण अंश ओगट्ने कम्पनीको कारोबार रोकिँदा यसले तरलतामा पनि असर पार्छ । सतही रूपमा हेर्दा दलालको आम्दानी घटेको देखिए पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आम्दानीमा समेत असर पर्छ । दलाललाई तिरिएको कमिशनको २० प्रतिशत रकम नेप्सेले लैजान्छ । त्यस्तै केन्द्रीय निक्षेपक (सीडीएस) र निक्षेप सदस्य (डीपी) को पनि आम्दानीमा असर पर्छ ।

कारोबार नरोकिएको अवस्थामा समेत खासै उल्लेख्य कारोबार नभएर बजार सुस्त देखिएको बेला ठूला भनेर चिनिएका कम्पनीको कारोबार रोकिँदा कारोबार संख्या र रकममा स्वतः असर पर्छ । कारोबार रोकिँदा दलाल कम्पनीको सञ्चालन खर्च समेत धान्न नसकिने अवस्था रहन्छ । त्यस्तै, नेप्से पनि सञ्चालन घाटामा जानसक्छ । यी दुई संस्थालाई पर्ने असरबाहेक तेस्रो पक्ष ग्राहक (कारोबारी) लाई पनि मर्का पर्छ । संस्थाको क्षमता नै बढ्ने गरी हुने मर्जरले केही समय कारोबार रोकिए पनि लगानीकर्तालाई खासै असर पर्दैन । तर, अहिले हुन लागेको मर्जरले संस्थागत क्षमता बढाउनेभन्दा अधिक पूँजीकरणले जोखिम बढाउने हुँदा लगानीकर्तालाई खासै उत्साहित पारेको देखिँदैन । अहिलेको मर्जरले लगानीकर्तालाई समेत हित गर्ने नदेखिँदा पीडाबोध हुनु स्वाभाविक हो । यस्तै पीडाबोधका कारण दलाल, नेप्से र कारोबारी (लगानीकर्तासमेत) ले कारोबार रोक्का नगर्न आह्वान गरेका हुन् ।

रोक्दाभन्दा नरोक्दा घातक 

कारोबार रोक्नु हुँदैन भनिएर गरिएको रोदन आआफ्नो स्वार्थ केन्द्रित छ । नरोक्दाको पाटो अझ घातक र दीर्घकालीन रूपमै असर पार्ने किसिमको छ । शेयरधनीका दृष्टिमा मर्जरको एउटा मूलपक्ष शेयर आदानप्रदान अनुपातले अहम् भूमिका खेल्छ । मर्जर सम्झौता हुनुअघि नै अमुक कम्पनीले अमुक कम्पनीलाई अमुक अनुपातमा गाभ्ने उच्च स्रोतले जानकारी दिएको अपुष्ट समाचार बग्रेल्ती पढ्न पाएकै हो । कतिपय समाचारमा पक्काभनेर ठोकुवा नै गरिएको हुन्छ । तर, यस्ता पक्काभनेर लेखिएका कच्चासमाचारले धेरैलाई कच्चा वैद्यको मात्रा यमपुरीको यात्राभनेझैं सम्पत्तिले यमपुरीकै यात्रातय गरेको छ । लक्ष्मी र एभरेष्ट बैंक अमुक अनुपातमा गाभिने पक्काहो शंकैछैन भन्ने समाचार कयौंपटक कयौंले लेखे । यसैको प्रभावमा लक्ष्मी बैंकको शेयर मूल्य आकाशियो ।

मर्जमा गएका कम्पनीले विशेष साधारणसभाको प्रस्तावमा शेयर आदानप्रदान अनुपात समेत खुलाएर सार्वजनिक नगरेका घटना धेरै छन् । साविकको ओम फाइनान्स तथा सिटी डेभलपमेन्ट बैंक केकति अनुपातमा गाभिए भन्ने अहिले पनि लगभग गोप्य जस्तै छ । अन्य कम्पनीले पनि यस्तो अनुपात खुलाएर सार्वजनिक गरेका छैनन् । ग्लोबल बैंकले हाथवे फाइनान्स कति अनुपातमा प्राप्ति गर्दै छ भन्ने विशेष साधारणसभाको सूचनामा उल्लेख गरेको छैन । सामान्यतया सम्पत्ति दायित्वको मूल्यांकन प्रतिवेदन प्राप्त भएर विशेष साधारणसभामा प्रस्ताव लगिने निश्चित भएपछि नेप्से मार्पmत सार्वजनिक गर्नुपर्नेमा यस्ता घटना विरलै देखिएका छन् । नेप्से मार्पmत नगरे पनि विशेष साधारणसभाको सूचनामा उल्लेख गर्न सकिन्थ्यो, त्यो पनि गर्दैनन् ।

गाभिने वा प्राप्तिमा जाने दुई कम्पनीको बजार भाउ फरकफरक हुन्छ । गाभिने प्रयोजनका लागि डीडीए भइरहेको बेला कारोबार हुन दिँदा पत्रिकामा उच्च स्रोतले भनेको यति अनुपात पाउने भयोभन्दै अफवाहयुक्त समाचारको बाढी नै आउँछ । यसरी हरेक दिन खेल र झेल चलिरहने हुँदा कारोबार नरोक्ने भन्ने प्रश्न स्वतः खारेज हुन्छ । मर्जरमा समय लाग्ने गरेको तथ्यलाई अस्वीकार गर्न सकिँदैन । यसले समग्र बजारलाई असर पारेको तथ्य पनि अस्वीकृत छैन । यस्तो स्थितिको अन्त्य गराउन नीतिगत रूपमा समय घटाउन सकिन्छ । यसका लागि सम्बद्ध निकायले नीतिगत व्यवस्था गर्नुपर्ने हुन्छ ।

केही सुझाव 

कम्पनी गाभिने विषय नौलो होइन, संसारभर कम्पनी गाभिन्छन् । कम्पनी ऐनले पनि कम्पनी गाभिने कुरालाई स्थान दिएको छ । प्राइभेट र पब्लिक (सूचीकृत र असूचीकृत) सबै प्रकारका कम्पनी गाभिन सक्छन् । व्यवसाय नियमन गर्ने निकाय भएमा नियामकले गाभिने शर्त तोक्न सक्छ । तोके बमोजिमका शर्त पूरा भएमा कम्पनी रजिस्ट्रार कार्यालयले कम्पनी गाभिएको अभिलेख गरेर एउटा कम्पनीको अस्तित्व समाप्त पारेर अर्को कम्पनीमा सम्पत्ति र दायित्व सारिदिन्छ । सूचीकरण भएका कम्पनीको नेप्सेबाट दैनिक कारोबार भइरहने हुँदा यसमा आम चासो र दायरा फराकिलो हुन्छ र गाभिँदा सार्वजनिक चासोको विषय बन्छ । नेपाल राष्ट्र बैंक र बीमा समितिले मात्र गाभ्ने, गाभिने र विलय सम्बन्धी नीतिगत व्यवस्था गरेका छन् । सूचीकृत सबै क्षेत्रका कम्पनी गाभिने सम्बन्धी विशेष व्यवस्था अहिलेसम्म धितोपत्र बोर्डले गरेको छैन । सूचीकृत कम्पनीको तालुकी अड्डाले यस सम्बन्धी निर्देशिका अविलम्ब जारी गर्नुपर्ने देखिन्छ र तत्काल निम्न विषय समेटी परिपत्र गर्नुपर्ने टड्कारो आवश्यकता छ ।

१.             कुनै पनि सूचीकृत कम्पनी गाभ्ने, गाभिने र प्राप्ति सम्झौता गरेको भोलिपल्ट सम्झौता र कार्यतालिका नेप्से मार्फत सार्वजनिक गर्नुपर्ने र सम्बद्ध कम्पनीको वेबसाइटमा राख्नुपर्छ ।
२.             कार्यतालिका अनुसार केकति कार्य सम्पन्न भयो, त्यसका बारेमा १/१ महीनामा नेप्से मार्फत सार्वजनिक गर्नुपर्छ ।
३.         शेयर आदानप्रदान अनुपात नेप्से मार्फत सार्वजनिक गर्ने र विशेष साधारणसभाको सूचनामा अनिवार्य उल्लेख गर्ने व्यवस्था गर्नुपर्छ । विशेष साधारणसभाले अनुपात पारित गरेको भोलिपल्ट दुवै कम्पनीले नेप्सेलाई जानकारी गराउनुपर्छ ।
४.               विशेष साधारणसभाले अनुपात पारित गरेपछि बढीमा ३ कार्यदिनभित्र दुवै कम्पनीको कारोबार खुला गर्ने र एकीकृत कारोबार गर्नुअघि दुवै कम्पनीको अनुकूलता अनुसार कारोबार रोक्ने व्यवस्था गर्नुपर्छ ।

२०७६ असार ३०, अभियान दैनिक 


नेपालको जलविद्युत : आफ्नो खेर फाल्ने अरुको किन्ने


नेपालको चिनारी जलस्रोतमा धनी देशको रुपमा पनि हुने गरेको छ । ६ हजारभन्दा बढी साना-ठूला नदीनालाबाट ८३ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्न सकिन्छ भन्ने तथ्यांक छ । नेपालको पूर्व (कोशी), मध्य (गण्डकी) र पश्चिम (कर्णाली) क्षेत्रमा सात/सात वटा नदीको बेजोड संगम छ । बागमति, तिनाउ, राप्ती (दांग), बबई र महाकाली पनि मुख्य नदी प्रणालीमा पर्छन । यसबाहेक अन्य साना ठूला खोला/नदी प्रणाली पनि रहेका छन् । सम्भवत नेपालको जस्तो सात/सातवटा संगम भएका नदी प्रणालीयुक्त क्षेत्र अन्यत्र नहुन पनि सक्छ । तीनवटा नदी प्रणालीका २१ वटा ठूला नदी नेपालका 'शान' मात्र हैनन् 'धन' पनि हुन । 'सेतो सुन' भनेर चिनिने यी र यस्ता कयौं नदी अहोरात्र निरन्तर बगिरहेका छन् तर, यिनको समुचित उपयोग गर्न सकिएको छैन । ठूला नदी उपयोगविहीन भएर बगेको दुखद पाटो त छँदैछ तर, स-साना नदी/खोला उपयोग गरेर उत्पादन गरिएको विद्युत समेत खेर गएको दुर्दान्त पक्ष समेत छ । बिजुली खेर गएको पक्षलाई उजगार गर्दै अझ पनि खेर जानसक्ने अन्य विद्युतको समेत संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।

माग, आपूर्ति र प्रसारण

बिक्रम सम्बत १९६८ सालमा श्री ३ महाराज चन्द्र शम्सेरको पालामा फर्पिंगमा उत्पादन गरिएको ५ सय किलोवाट क्षमताको आयोजना बिजुली यात्राको प्रस्थानविन्दु हो । सम्भवत यो दक्षिण एसियाको दोस्रो विद्युत उत्पादन केन्द्र हुनसक्छ । भारतमा सन् १९०२ (बि.सं. १९५९) मा ब्रिटीश कम्पनीले कर्नाटकमा बहने काबेरी नदीबाट शिवसमुन्द्र नामक स्थानमा ४ दशमलव ५ मेगावाट क्षमताको आयोजना बनाएको तथ्य भेटिन्छ । बि.सं. १९६८ सालदेखि आजसम्म एकसय वर्षभन्दा बढी समयमा सरकारले करिब १ हजार मेगावाट बिजुली उत्पादन गरेको छ । खुला र उदार अर्थव्यवस्था अपनाएपछि निजि क्षेत्रले उत्पादन गरेको करिब ८ सय मेगावाट समेत जोड्दा बिजुली प्रणालीमा १८ सय मेगावाट आवद्ध भएको तथ्यांक छ । अहिले करिब ३ हजार मेगावाट बिजुलीको माग भईरहेकोमा १ हजार मेगावाट विद्युत कम भइरहेको छ । नपुग भएको १ हजार मेगावाट बिजुली भारतबाट आयात गरिएको विवरण नेपाल विद्युत प्राधिकरणको वेवसाइटमा देख्न सकिन्छ । 

पछिल्लो तथ्यांक अनुसार नेपालमा वार्षिक १ सय मेगावाटभन्दा बढी बिजुलीको माग हुने गरेको छ तर, प्रणालीमा आवद्ध हुने विद्युत शक्तिको दर ५० मेगावाट पनि नभए झैँ देखिन्छ । कतिपय निर्माण सम्पन्न आयोजनाले प्रसारण लाइन नपाउँदा उत्पादित बिजुली खेर गएको छ । निर्माणाधीन रसुवागढी, सान्जेन, मध्यभोटेकोशी, सबैभन्दा ठुलो एवम महत्वाकांक्षी तामाकोशी आयोजना समेत प्रसारण लाइनको पिडामा पर्ने सम्भावना देखिएको छ । यी उल्लेखित सबै आयोजना निर्माणाधीन अवस्थामा रहेका र आगामी वर्षभित्रै व्यवसायिक उत्पादन गर्ने तयारीमा छन् ।

विपरित उपभोग तालिका

बिजुलीको माग दैनिक बढ्दो छ । तर, प्रणालीमा बिजुली छैन । आयातित बिजुली महँगो छ । जहाँ (भारत) बाट बिजुली आयात गरिएको छ, उर्जा संकट त्यहाँ पनि छ । तल्लो तटीय क्षेत्रमा पर्ने देश भारतलाई माथिल्लो तटीय क्षेत्रको देशले बिजुली बेच्नेपर्नेमा यहाँ ठिक उल्टो भईरहेको छ । तल्लो र माथिल्लो तटमा हुनुको कारण मात्र  नेपालले भारतलाई बिजुली बेच्नुपर्ने हैन । नेपाल र भारतको उर्जा उपभोग तालिका ठ्याक्कै उल्टो हुनु पनि हो । यसलाई ईश्वर (प्रकृति) ले दिएको अनुपम देन मान्नुपर्छ । तर, शासकीय सोच र चिन्तन अनि नीति गतिलो नहुँदा पाएको साधन मिल्किएको छ । त्यसैले 'भिल्लको देशमा मोति मिल्कन्छ' भनिएको होला । नेपालको शासकीय सोच नीतिहीनता हेर्दा यो भनाई नेपालकै लागि बनेको जस्तो लाग्छ । भुटानले भारतलाई सबै नदीनाला सुम्पेर आफू पनि सम्पन्न बन्यो र भारतको आवश्यकता पनि पूरा गरिदिएको छ । तर, नेपालमा नीतिगत स्पष्टता नहुँदा वर्षौदेखि नेपालको पानी बगिरहेको छ । पानी बगिरहने यी दृश्य अझ कति समयसम्म चल्ने हो अनुमान गर्न गाह्रो छ । नेपाललाई अधिक बिजुली चाहिने समय (हिउँद) मा कम उत्पादन हुन्छ र यही बेला भारतलाई कम बिजुली भए पुग्छ । त्यतिबेला भारतबाट नेपालमा बिजुली ल्याएर आवश्यकता पूरा गर्न सकिन्छ । भारतलाई बढी बिजुली चाहिने समय (वर्षा) मा नेपालमा अधिक उत्पादन हुन्छ तर, खपत कम हुने यतिबेला बढी भएको बिजुली भारतलाई दिनसकिन्छ । एकप्रकारले हेर्दा यस्तो स्थिति पैसा नचाहिएको बेला बैंकमा राखेर चाहिएको बेला झिके जस्तै नेपाल र भारतको उर्जा उपभोग तालिका छ । तर, यसबाट फाईदा लिन दुवै देश चुकेका छन् ।

खेर गएको बिजुली    

नेपाल र भारतको उर्जा उपभोग तालिका ठिक विपरित भए पनि नेपालले नै पर्याप्त बिजुली दिन सकेको छैन । नेपालमा बिजुली आयोजना बेलैमा सम्पन्न हुन सक्दैनन् । यसका विविध कारण मध्ये एउटा कारण सरकार आफैँ हो । बिजुली उत्पादन गर्न जति सजिलो छ, त्यसलाई प्रसारण गर्न जटिलता छ । जटिलताको सर्जक स्वयं सरकार हो । वन क्षेत्रको उपयोग नगरी आयोजना सम्पन्न गर्न सकिन्न । रमाइलो के छ भने राष्ट्रिय गौरवको तामाकोशी आयोजनालाई प्रसारण लाइन बनाउन काट्नुपर्ने ४ हजार रुख काट्ने अनुमति पाउन २२ महिना लागेको थियो । अहिले निर्माण सम्पन्न भएर पनि प्रसारण लाइनको अभाव झेलिरहेका केही आयोजनाको विवरण तालिकामा देखाईएको छ । तालिकामा परेको खानीखोला र सिनर्जीले आँशिकरुपमा लाइन पाएका छन् । लाजमर्दो कतिसम्म छ भने खानीखोला उपत्यकाकै ललितपुर जिल्लाको दक्षिणमा पर्छ । दोलखाको सिनर्जीले २०७० सालअघि नै उत्पादन गरेको भए पनि आजसम्म लाइन नपाउँदा वर्षायाममा आँशिक चलाउनुपर्छ । दोलाखामै निर्माणको अन्तिम चरणमा पुगेका तल्लो खारेखोला (११ मेगावाट), सिंगटी (२५ मेगावाट) र खानीखोला (२५ र क्यासकेड १५ सहित ४० मेगावाट) ले पनि तत्काल लाइन पाउने सम्भावना देखिएको छैन । यस्तै दुर्दान्त कथा सोलुखोलामा निर्माणाधीन आयोजनाको पनि देखिने सम्भावना छ । तामाकोशीको बिजुली समेत गोंगर-खिम्ती हुँदै ढल्केबर पुगे पनि त्यहाँबाट पूर्व र पश्चिम जाने बाटो (प्रसारण लाइन) छैन । पूर्व-पश्चिममा उच्च क्षमतायुक्त प्रसारण लाइन नहुँदा तामाकोशीको बिजुली पनि डिब्बाबन्द हुने सम्भावना देखिन्छ । 

प्रसारण लाइन नपाएका केही आयोजना (औसत प्रतियुनिट ६ रुपैयाँको आधारमा मूल्य निकालिएको)

आयोजना
जडित क्षमता
युनिट
मूल्य (अनुमानित)
कैफियत
अरुण काबेली हाइड्रोपावर
२५
१४,१७,४५,४७०
८५,०४,७२,८२०
काबेली करिडोर लाइन पूरा नभएको
राईराँग हाइड्रोपावर
९.९
५,६६,२४,९५५
३३,९७,४९,७३०
पाँचथर पावर
१४
८,२०,९५,७४२
४९,२५,७४,४५२
माउन्टेन हाइड्रो नेपाल
२१.६
११,६२,६१,०००
६९,७५,६६,०००
सिनर्जी पावर
१०
५,२४,४७,९३०
३१,४६,८७,५८०
३३ केभी आँशिक उपयोग
खानीखोला हाइड्रोपावर
३,२२,७०,०००
१९,३६,२०,०००
११ केभी आँशिक उपयोग
हिमालय उर्जा विकास कम्पनी
१९
११,५९,०३,७६७
६९,५४,२२,६०२
प्रसारण लाइनको पत्तो छैन
जम्मा
१०५.५
५९,७३,४८,८६४
३,५४,८०,९३,१८४

स्रोत : कम्पनीले प्रकाशन गरेको विवरणपत्र
 कचौरो बोकेर भिख

नदी नवीकरणीय उर्जाका मुख्य स्रोत भएर पनि पर्याप्त उपयोग हुन् नसक्दा नेपाल 'सुनको कचौरो बोकेर भिख' मागिरहेको छ । कहिल्यै नसकिने नवीकरणीय जलउर्जा उत्पादन गरी उर्जामा निर्भरता र निर्यात समेत गरेर व्यापार घाटा कम गर्न मात्र हैन देशले विदेशी मुद्रा समेत आर्जन गर्नसक्छ । प्रकृतिले नेपाललाई जलाधारयुक्त उच्च हिमालय क्षेत्र र तल्लो तटमा भारत जस्तो ठुलो भू-भाग एवम जनसंख्या भएको देश दिए पनि नेपालले जल उपयोग गरी आफुले पनि उपयोग गर्न सकेन र भारतलाई पनि दिन सकेन । परिस्थिति हेर्दा नेपालको जलस्रोत 'माग्नेलाई हात्ती दान' जस्तो बनेको छ । नेपालको अपार जलभण्डारको समुचित उपयोगमा दुवै देश (नेपाल र भारत) कहाँ चुके कोही कसैले बताउन सकेको देखिन्न । यसैको खोजी आजको टड्कारो आवश्यकता बनेको छ ।

आर्थिक अभियान, २०७६ असार २४ गते

बिग मर्ज : अधिक पूँजीको भार

केन्द्रीय बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिमा बैंक र वित्तले आगामी २ वर्षभित्र चार गुणा पूँजी बढाउनुपर्ने व्यवस्था गरेपछि बैंकर, सञ्चालक र शेयरधनी थाल खाऊँ कि भातभन्ने मनस्थितिमा पुगे । अपरिवर्तनीय र अविमोच्य अग्राधिकार शेयरलाई पूँजी नमानी प्राथमिक पूँजीनै हुनुपर्ने भन्ने अर्को निर्देशन र पूँजी वृद्धि सम्बन्धी योजना पेश गर्न निर्देशन आयो । बैंक र वित्तले पनि मर्जर, बोनस र हकप्रदसहितको पूँजी योजना बुझाए । हकप्रद अन्तिम विकल्पका रूपमा राखिए पनि कार्यान्वयनमा जाँदा भने पहिलोबन्यो । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक र अन्य ससाना बैंक गाभिएको घटनालाई छाड्ने हो भने कुनै पनि बैंकले मर्जर भनेर राखेको पहिलो विकल्पको उपयोग गरेनन् । गभर्नर बन्नासाथ चार गुणा पूँजी बढाएको औचित्य पुष्टि नहुँदै जाने बेलामा जबर्जस्ती बैंकहरूलाई गाभिने कार्ययोजना पेश गर भनेर हुकुम जारी गरेका छन् । 

संख्या कति ठीक

जाने बेलाका गभर्नरको सनक र दम्भमा जबर्जस्ती हुन लागेको मर्जरको प्रसंगमा बैंकको संख्या बढी भएको भन्ने अमूर्ततर्क अघि सारिएको छ । हेर्दा यो सही तर्क जस्तो लागे पनि किन र कसरी धेरै भयो भन्ने चित्तबुझ्दो उत्तर भेटिँदैन । कति भए ठिक्क हुने हो ? त्यस विषयमा कुनै निश्चित अंक केन्द्रीय बैंकले बताएको छैन । संख्याभन्दा पनि त्यसले कति जनसंख्यालाई के सेवा उपलब्ध गरायो भन्नेचाहिँ बढी महत्त्वपूर्ण पाटो हुन सक्छ । स्टान्डर्ड चार्टर्ड बैंकलाई पनि अन्य बैंक सरह गणना गर्दा एउटा संख्या थपिएला, तर, यसले दिने सेवाको प्रकृति अरूसँग मेल खाँदैन । बैंकको संख्या धेरै भएको कुरालाई मान्ने हो भने यसलाई घटाउने शुरुआत सरकार स्वयम् शेयरधनी भएको र हालीमुहाली चल्ने कृषि, नेपाल र राष्ट्रिय वाणिज्यबाट किन गरिएन ? यसो गरेको भए दुईओटा बैंक घट्ने थिए । बैंकको संख्या यति नै ठीक हो भन्ने कुनै अंकगणित हुँदैन । सेवाप्रदायक संस्थाको क्षमता र पहुँचको आधारमा कति चाहिन्छ भन्ने निर्धारण हुन्छ । 

पूँजी कि पूँजीकोष

बैंकको पूँजी पुगेन, ठूलाठूला आयोजनामा ऋण लगानी गर्न सकिएन भन्दै बैंकको पूँजी बढाउनुपर्ने अर्को तर्क पनि सुनिएको छ । बैंक वा वित्तीय संस्था भनेर चिनिएका बैंकिङ संस्थाहरू युनिभर्सल बैंकिङगरिरहेका छन् । यस्ता बैंकले लगानी गर्दा सबै क्षेत्रमा तोकिए बमोजिम लगानी गर्नुपर्ने हुन्छ । यस्तो कुरा जान्दाजान्दै पनि ऋण दिन सकेनन् भन्नु बैंकिङ नबुझेको पनि भनिहाल्न मिल्दैनतर, कुरा सुन्दा नभन्न पनि नसकिने भएको छ । ठूला आयोजना परियोजनाका लागि ऋण दिन वा प्रोजेक्ट फाइनान्स गर्न त्यस्तै प्रकारका विशेष प्रकृतिका बैंक हुने गर्छन् । यस्तै आवश्यकता पूरा गर्न खडा गरिएको साविकको नेपाल औद्योगिक विकास निगमलाई जबर्जस्ती राष्ट्रिय वाणिज्य बैंकलाई जिम्मा लगाइयो । यस्ता प्रकृतिका संस्था मासेर युनिभर्सल बैंकिङगरिरहेका संस्थालाई सत्तोसराप गर्नु कति बुद्धिमानी हो ? ७ वर्षअघि खुलेको बैंकको भन्दा बढी पूँजी भएको बैंक जस्तै प्रकृतिको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले आजसम्म जलविद्युत् क्षेत्रमा के-कति लगानी र विकास गर्‍यो ? प्रश्न यता पनि गर्न सकिन्छ । ठूलो बैंक चाहियो, पूँजी पुगेन भनेर अरण्यरोदन गरिरहेका बखत खुलेको पूर्वाधार विकास बैंक को चुक्तापूँजी किन २० अर्ब रुपैयाँ (चुक्ता हुन बाँकी) मात्र कायम गरियो ? पूँजी पुगेन मात्र भनिएको छ तर भएका संस्थाको पूँजीकोष कति छ भनेर कहिल्यै हेरिएको छ ? यदि यस्तो कुरा हेरिएको भए पूँजी होइन, पूँजीकोष बढाउनपट्टि लागिने थियो होला तर, दुर्भाग्य ठूला भनिएका (पूँजीको आधारमा) बैंकसँग वैधानिक जगेडाझिकिदिने हो भने स्थिति भयावह छ । गभर्नरले २०७२ सालमा मौद्रिक नीति तयार पार्दा ८ अर्ब रुपैयाँ पूँजी होइन, ५ वर्षभित्र पूँजीकोष ८ अर्ब रुपैयाँ बनाऊ भनेको भए उत्तम हुन्थ्यो । आठ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्‍याइएपछि आएको बिगभनेको के हो ? पूँजी धेरै भएर बिगभनिएको भए किन आवश्यकता नै नभएको बिग पूँजीबनाइयो ? किन बिग पूँजीकोषभनिएन ? बैंक होस् वा कुनै पनि कम्पनी त्यसको पूँजीगत आधार दरिलो हुनुपर्छ, पूँजीगत आधार दरिलो हुन पूँजीकोष हुनुपर्छ । तर, पूँजीकोष बढाउनपट्टि केन्द्रीय बैंक कहिले पनि लागेको देखिएन । चालू आवको चैत मसान्तसम्मको प्रकाशित वित्तीय विवरण हेर्दा थोरै बैंकसँग मात्र स्वतन्त्र जगेडा कोषतुलनात्मक रूपमा अलि बढी देख्न सकिन्छ । अधिकांश बैंक र वित्तसँग स्वतन्त्र जगेडा कोषको स्थिति दयनीय छ । वर्षभरिमा कमाएको रकम भाँडो टक्टक्याएरलाभांश वितरण गर्न स्वीकृति दिने केन्द्रीय बैंक आफैँ हो । नगद प्रवाहमा कमी आउने भएपछि बोनस शेयरजारी गरेरै भए पनि लाभांश वितरण गर्न स्वीकृति दिइएको छ । राख्नैपर्नेवैधानिक जगेडा कोषमा राखिएको रकम बाहेक स्वतन्त्र जगेडा कोष छँदै छैन भने पनि हुन्छ । यस्तो अवस्थामा स्वतन्त्र जगेडा कोष बढाएर बैंक र वित्तको पूँजीकोषबढाउन केन्द्रीय बैंक लागेको देखिएको छैन ।

शेयर गभर्नर

चुक्ता पूँजीको सट्टा पूँजीकोष नबढाउनुको अन्तर्निहित कारण शेयरबजारमा खेल्न नपाइनु मूलभूतकारण हो । चार गुणा पूँजी बढाएर शेयरबजारमा खेल्नसम्म खेलेपछि अहिले बैंक धेरै भो, पूँजी धेरै भयोभन्ने अर्को अस्त्र ल्याएर फेरि खेल्न खोजिएको होइन भन्ने आधार छैन । बैंकिङ र भुक्तानी प्रणालीको विकासकर्ता केन्द्रीय बैंकका गभर्नरले बेलाबेलामा शेयरबजारमा अनावश्यक चासोराखेको देखिँदा शेयर गभर्नरभन्न नसकिने कुनै आधार छैन । गभर्नरले पटक-पटक भाषण गर्दा शेयरको भाउ बढ्नुपर्छ’, ‘लघुवित्तको भाउ धेरै भयो’, ‘वाणिज्य बैंकको कम भयोभनेर गरेको अरण्यरोदन यसको साक्षी हो । गतवर्ष शेयर कारोबारीको पारिवारिक भेलामा गएर शेयरको भाउ नबढी सुख छैन, बढ्नैपर्छभनेर दिएको भाषण पनि अर्को साक्षी हो । आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमा अर्थमन्त्रीले मर्जरमा जान प्रोत्साहित गर्नेभनेर उल्लेख गरिदिएपछि गभर्नर भक्कुको राँगोजस्तै मैमत्त बनेका देखिन्छन् । अर्थमन्त्रीले बजेटमा बोलेपछि गभर्नरले आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति वाचन गर्दा बैंकको पूँजी पनि बढाएको र बैंक पनि गाभेकोजस लिने होडमा बैंकिङ प्रणाली ध्वस्त हुन सक्नेमा भने ध्यान गएको देखिँदैन । 

जति ठूलो त्यति जोखिम 


ठूलो हुनेबित्तिकै रामो हुने अर्को तर्क आए पनि ठूलो हुनु भनेको झन् जोखिम बढ्नु हो । नियमन गर्न सकिएन भनेर संख्या घटाउने अर्को पनि कुरा पनि सुनिएको छ । नागरिक बढी भए भने गोली ठोकेरमार्न मिल्छ र ? संख्या धेरै भयो भनेर संख्या घटाउने कि नियमनको दायरा बढाउने प्रश्न टड्कारो छ । ठूलो पूँजीको थुप्रै बैंक डुबेको घटना संसारभर छ । अमेरिकामा फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले सन् २००८ देखि सन् २०१२ सम्म ४ सय ६५ वटा डुबेका बैंक बन्द गरेको थियो । अहिले पनि अमेरिकामा बैंक डुब्ने क्रम चलिरहेको छ । यस्तो अवस्थामा हतार गरेर आजै अहिल्यै बैंक गाभ्ने कुरा बन्द गर्नुको विकल्प छैन । पूँजी बढाएर रिल्याक्सेसन पिरियडमा रहेको बेला गाभिन जाऊ, तुरुन्त गाभिऊभन्नुभन्दा चालू आव २०७५/७६ को आम्दानीबाट एकादुई बैंकलाई बाहेक लाभांश वितरणमा रोक लगाएर स्वतन्त्र जगेडा कोष बढाउने र आगामी आव २०७६/७७ देखि स्वतन्त्र जगेडा कोषमा अनिवार्य रूपमा निश्चित प्रतिशत रकम व्यवस्था गर्न लगाउनु आवश्यक देखिन्छ । 

२०७६ असार १७ गते, अभियान दैनिक 

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...